काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकले जम्मा गरेको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम चरम दुरुपयोग भएको पाइएको छ ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३ मा वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्ने, अलपत्र परेका कामदारलाई स्वदेश फिर्ता गराउने, क्षतिपूर्ति दिने, कामदारको परिवारलाई आर्थिक सहायता प्रदान गर्र्ने, वैदेशिक रोजगारका क्रममा मृत्यु भएका कामदारको शव नेपाल ल्याउने लगायतका वैदेशिक रोजगारमा गएका कामदारको हकहितका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरिने उल्लेख छ ।
तर, महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनअनुसार सो कोषको रकमबाट संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा रहेको नेपाली दूतावासलाई वैदेशिक रोजगार मेला व्यवस्थापन र वैदेशिक रोजगार व्यवसायी तथा संघसंगठनका प्रतिनिधिहरूको भ्रमण खर्चसमेतका लागि ३३ लाख १६ हजार, रोजगार मेलामा सहभागी पदाधिकारी, कर्मचारीको भ्रमण खर्चमा १८ लाख २७ हजार खर्च भएको छ ।
यस्तै, दूतावासका कर्मचारीलाई दुई थान विद्युतीय कार खरिद गर्न ७९ लाख ४० हजार, तीन दूतावासका सवारीसाधन मर्मतमा २३ लाख ९८ हजार खर्च भएका े महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।
यसैगरी, नियोगमा कर्मचारी नियुक्त गरी २ करोड ५७ लाख २८ हजार खर्च गरिएको छ । कोषको उद्देश्यअनुरूप वैदेशिक रोजगारमा जाने कामदारको हितमा मात्र कोषको उपयोग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
१ हजार ६७ नेपालीको मृत्यु, ६ सय १२ जना अंगभंग
रेमिट्यान्स आर्जन गर्न परदेशी भूमिमा गएका करिब १ हजार ६७ नेपालीले १ वर्षको अवधिमा ज्यान गुमाएका छन् । महालेखापरीक्षकको प्रतिवेदनले वैदेशिक रोजगारका क्रममा यो वर्ष १ हजार ६७ जनाको मृत्यु भएको र ६ सय १२ जना अंगभंग भएको तथ्य सार्वजनिक गरेको छ ।
पर्याप्त तालिम, सीप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठूलो संख्यामा नेपाली कामदारहरू अकालमा मृत्युवरण गर्न पुगेका छन् । तथ्यांकअनुसार दैनिक तीनवटा बाकसहरू विदेशबाट त्रिभुवन विमानस्थलमा आइपुग्र्नेगरेका छन् । वैदेशिक रोजगारीमा जानेहरूको मृत्यु विभिन्न कारणले हुने गरेको छ ।
अधिकांशको मृत्युको कारण कार्यस्थलको दुर्घटना हो भने केहीको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । केहीको हत्या भएको छ भने केहीले आत्महत्या गरेको पाइएको छ ।
धेरै नेपालीको हृदयाघातका कारणले निधन हुने गरेको छ । केहीको प्राकृतिक मृत्यु भएको छ । श्रम स्वीकृति लिई गएका श्रमिकका लागि वैदेशिक रोजगार बोर्डले विभिन्न कल्याणकारी कार्यहरू गर्नुपर्ने व्यवस्था छ ।
यस वर्ष कार्यसञ्चालन खाताबाट विभिन्न कार्यक्रम सञ्चालन गरी १ अर्ब १४ करोड ३७ लाख ८ हजार रुपैयाँ खर्च गरेको मलेपको प्रतिवेदनमा उल्लेख गरिएको छ ।