लमजुङ । लमजुङमा तीन महिनाको अवधिमा सक्कल नागरिकता लिने भन्दा प्रतिलिपि नागरिकता लिनेहरू ५९ प्रतिशतले बढेका छन् । अन्तर्गत माघ महिनादेखि चैत मसान्तसम्मको अवधिमा नयाँ नागरिकता लिने भन्दा प्रतिलिपि नागरिकता लिनेको सङ्ख्या बढी देखिएको हो ।
जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक गरेको स्वतः प्रकाशन तथ्यांकमा त्यस्तो उल्लेख छ । सो तथ्यांक अनुसार गत माघ महिनादेखि चैतसम्म नौ सय ३५ जनाले मात्र नागरिकता लिएका छन् भने एक हजार पाँच सय ७६ जनाले नागरिकताको प्रतिलिपि लिएको स्वतः प्रकाशन तथ्यांकमा अंकित छ । प्रतिशतका हिसावले त्यो संख्या ५९.३२ हुन आउँछ ।
नागरिकता प्रतिलिपि लिनेहरू मध्ये वंशजको आधारमा एक हजार पाँच सय ७५ जनाले लिएका छन भने एक जनाले जन्मको आधारमा प्रतिलिपि लिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । नयाँ नागरिकता लिनेहरू मध्ये सबैले वशंजको आधारमा नागरिकता लिएको स्वतः प्रकाशन तथ्यांकमा उल्लेख छ । जिल्ला प्रशासन कार्यलयले सो अवधिमा तीन जनाको नागरिकता बदर गरेको पनि जनाएको छ ।
यसैगरी, सोही अवधीमा बाबुको पहिचान नभएको एक जनालाई आमाको नामबाट पनि नागरिकता दिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ भने माघदेखि चैत्र मसान्तसम्म तीन जना गैरआवसीय नागरिकले नागरिकता लिएका छन् ।
सोही अवधीमा जिल्ला प्रशासन कार्यलयले एक सय पाँच जनाको नावालक परिचयपत्र बनाएको स्वतः प्रकाशन तथ्यांकमा उल्लेख छ । नागरिकता सेवा अन्तर्गत पाँच सय ७९ जनाले अनलाइन सेवा मार्फत डाटा सुधार गरेको सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले बताए । उनका अनुसार नागरिकता लिएपछि अनलाइन प्रविष्ट गर्दा भुल भएका व्यक्तिहरूले निवेदन दिएर डाटा सुधार गरेका हुन् । जिल्ला प्रशासन कार्यलयको अनुसार चालु आर्थिक बर्षको माघ महिनादेखि चैत मसान्त सम्म एक हजार चार सय ७२ जनाले राहदानी दर्ताँ गरेका छन भने तयार भएका एक हजार ९३ राहदानी वितरण गरेको जनाएको छ ।






