मुगु । नेपालकै प्रमुख पर्यटकीय केन्द्रमध्येको एक रारा घुम्न १० महिनाको अवधिमा १३ हजार बढी पर्यटक पुगेका छन् ।
गत साउनदेखि वैशाख मसान्तसम्म रारा क्षेत्र घुम्न आन्तरिक तथा बाह्य पर्यटक गरी १३ हजारभन्दा बढी पर्यटक रारा पुगेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार गत वैशाख मसान्तसम्म रारा घुम्न आएका पर्यटकको संख्या हेर्दा विगतका वर्षभन्दा यस वर्ष बढेको देखिएको छ ।

संरक्षण अधिकृत न्यौपानेका अनुसार यस अवधिमा आन्तरिक पर्यटक १२ हजार ७ सय ६१ जना, सार्क राष्ट्रबाट ४५ जना र अन्य देशबाट २ सय ८ जना रारा घुम्न पुगेका थिए ।
आथिक वर्ष २०८०–८१ मा १७ हजार २ सय ९७ जना पर्यटक रारा पुगेका थिए । तर, यस वर्ष वैशाख महिनाभित्रै १३ हजार बढी पर्यटक रारा पुगेकाले असार मसान्तसम्म अझै बढ्ने र गत वर्षभन्दा बढी पर्यटक रारा पुग्ने आफूहरूले आस गरेको पनि वरिष्ठ संरक्षण अधिकृत न्यौपानेले बताए ।
रारा राष्ट्रिय निकुञ्जको कार्यालयले ५ जेठसम्म विभिन्न शीर्षकमा ४४ लाख ९१ हजार ८ सय १२ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । यसमध्ये पर्यटन शुल्कबाट ३१ लाख २७ हजार रुपैयाँ राजस्व उठेको र यो राजस्व शीर्षकमा डुंगा सवारी शुल्कसमेत समावेश गरिएको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

रारा घुम्न आउने पर्यटकमध्ये आन्तरिक पर्यटकलाई नेपाल सरकारले प्रतिव्यक्ति १ हजार, सार्क राष्ट्रका नागरिकलाई १ हजार ५ सय र अन्य देशका नागरिकलाई ३ हजार रुपैयाँ पर्यटन शुल्क तोकेको छ ।
राज्यले रारा पुग्ने सडक कर्णाली राजमार्ग र नाग्म गमगढी सडक स्तरोन्नति र त्यो पनि सडक मापदण्डअनुसारको सुरक्षित सडक बनाउने हो भने अहिलेको भन्दा कयौं गुणाले रारा आउने पर्यटकको संख्या बढ्ने रारा मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्णुबहादुर रावलले बताए ।

‘सडकको अवस्था नाजुक छ, ठूला गाडी गुड्न सडक साँघुरो छ,’ अध्यक्ष रावलले भने । सेप्टिवाल र नाला नहुँदा एवं सिंगल लेन सडक भएकाले पानी, हिउँ पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको उनले बताए । भिरको सडक भएकाले ज्यान दाउमा राखेर यात्रा गर्नुपर्ने अवस्था हुँदा पनि दैनिक सयौं पर्यटक रारा पुगिरहेकामा उनले खुसी व्यक्त गरे । ‘मापदण्डअनुसारको सडक र रारा विमानस्थलमा नियमित हवाई उडान हुने हो भने कर्णाली प्रदेशकै आर्थिक अवस्थामा सुधार आउने देखिन्छ,’ अध्यक्ष रावलले भने ।

