स्याङ्जा जिल्ला प्रशासन देशभरकै उत्कृष्ट

स्याङ्जा । गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभरिकै पहिलो भएको छ । चालू आर्थिक वर्ष २०८१–०८२ को तेस्रो त्रैमासिक अवधि (माघदेखि चैतसम्म) को सम्पादित कार्यहरूका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पहिलो स्थान प्राप्त गरेको हो ।

मन्त्रालयले प्रत्येक आवको त्रैमासिक कार्य मूल्यांकनका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । शान्तिसुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध (सेवा प्रवाह र सुशासन), लागूऔषध र नियन्त्रण, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणलगायतका विषयलाई आधार मानेर जिल्ला प्रशासनका विभिन्न सूचकमा मूल्यांकन गर्ने गर्छ ।

यसभन्दा अगाडिका मूल्यांकनमा स्याङ्जा एकपटक २७औं र अर्कोपटक दोस्रो स्थानमा परेको थियो । गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादनको तालिकाअनुसार कुल १८ दशमलव ५ पूर्णांकमध्ये स्याङ्जाले १८ दशमलव १२५ अंक प्राप्त गरेको छ । आव २०८१–०८२ का लागि गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच भएको कार्यसम्पादन सम्झौताअनुसार स्याङ्जाले तेस्रो त्रैमासिकमा पहिलो स्थान हासिल गर्न सफल भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रजिअ तथा सूचना अधिकारी दीपक पौडेलले बताए । चौथो त्रैमासिकमा पनि स्याङ्जाले यो साख बचाउने विश्वास सहायक प्रजिअ पौडेलको छ ।

चालू आवको पहिलो र दोस्रोमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल थिइन् भने तेस्रो त्रैमासिकमा केही समय नेपाल रहेकी थिइन् भने त्यसपछि वर्तमान प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल रहेका छन् । निवर्तमान प्रजिअ नेपाल स्याङ्जा रहँदा प्रशासनिक कार्यमा गरेको कार्यसम्पादनको नागरिक स्तरबाट पनि प्रशंसा गरिएको थियो ।

नदीजन्य उत्खनन र विपद् व्यवस्थापनमा नेपालले खेलेको भूमिका निकै राम्रो थियो भने बालबालिकाका क्षेत्रमा पर्ने असरका ’boutमा नेपालले पालिकास्तरमा पुगेर प्रशिक्षणसमेत गरेकी थिइन् । जसले गर्दा बच्चाको जन्मदर्ता, नागरिकता पाउन कठिन भएका समस्याहरू हल गर्न सफल भएकी थिइन् ।

उनको सरुवापछि प्रमुख जिल्ला अधिकारीका रूपमा हाल ईश्वरीप्रसाद अर्याल रहेका छन् । अर्याल पनि छोटो समयमा प्रशासनबाट हुने कार्यसम्पादनमा नागरिकमैत्री भावका कारण प्रशंसित भइरहेका छन् । कुनै पनि नागरिक प्रशासनबाट काम सकेर फर्कंदा हाँसेर फर्कनुपर्छ भन्ने मान्यता राखेर काम गर्न प्रजिअ अर्यालले कर्मचारीलाई निर्देशनसमेत दिएका छन् । जसले गर्दा प्रशासनमा आउने सेवाग्राहीमा कुनै समस्या नहुने गरेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी