फेवाताल किनारमा हुर्किएका मंगल नेपालीलाई तालको पानी उभाएर खाएको हिजोझैं लाग्छ रे ! ‘मैले मात्र होइन, महेन्द्रपुलकाले पनि यहीँको पानी गोरुगाडामा हालेर बोकेर खाए,’ ६७ वर्षीय नेपाली स्मरण गर्छन्, ‘त्यतिखेर गाडी चल्थेन, गाडा चल्थ्यो, महेन्द्रपुल बस्नेहरूले पनि यहीँको पानी लिन आउँथे ।’
फेवाताल र महेन्द्रपुलको दूरी करिब ५ किमी जति पर्छ । उनका अनुसार यो कुरा त्यस्तै २०४५–५० सालतिरको हो । शहीद चोकसम्म मान्छे बोक्न ९नम्बरे ढ्वाङ (गाडी) आउँथ्यो । उता, जरेबरतिरबाट फेवासम्म मोटरबाटो जोडिएकै थिएन । क्रमशः विकास हुँदै गयो । खानेपानीका लागि पनि सार्वजनिक ठाउँमा सरकारले धारा व्यवस्था गरेपछि फेवासम्म आउनुपरेन ।
त्यसो त सुन्दर एवं कञ्चन फेवा समयक्रमसँगै मानवीय एवं प्राकृतिक अतिक्रमणको चपेटामा पर्दै गयो । आफ्नो अस्तित्व खुम्च्याउँदै गयो । जनसंख्या बढ्दै जान थालेर ताल किनारमा बस्ती विकास हुन थाले । ताल पनि पुरिँदै र फोहोर हुन थाल्यो । अहिले लेकसाइडवासीले तालमै ढल मिसाउँछन् । वर्षायाममा ठूलो परिमाणमा ताल पुरिन्छ । तालको माथिल्लो माग सिमसार क्षेत्र नासिँदै गएको छ ।
एक अध्ययन भन्छ, ‘बर्सेनि फेवातालमा १ लाख ४८ हजार मेट्रिक टन ढुंगा, गिट्टी, बालुवा र गेग्रान मिसिन्छ ।’
२०१८ सालमा नेपाल भारत सहयोग मिसनको रिपोर्टअनुसार फेवातालको क्षेत्रफल १० वर्ग किलोमिटर रहेको देखाएको छ । फेवाताल सम्बन्धमा हालसम्म १३ वटा औपचारिक अध्ययन भए । ती अध्ययनको सार्वजनिक प्रतिवेदन आधारमा ताल कहालीलाग्दो ढंगले खुम्चिँदो छ ।

२०१८ सालको नेपाल भारत सहयोग मिसनको सर्भेदेखि २०५८ सालको नापीको समयसम्म आइपुग्दा यसको क्षेत्रफल ६० प्रतिशत पुरिइसकेको पाइन्छ । विभिन्न निकायबाट फेवा’boutमा गरिएका अध्ययनहरूले आगामी सय वर्षभित्रै फेवा सम्पूर्ण रूपमा पुरिने निष्कर्षसमेत निकालेका छन् । १० वर्षको ‘सेडिमेन्टेसन रेट’ हेरी अध्ययन एवं विश्लेषण गरी तयार एक प्रतिवेदनमा प्रतिवर्ष १ लाख ८० हजार क्युविक मिटर सिल्टेसनका दरले १६ प्रतिशत ताल आगामी २४ दशमलव ३३ वर्षभित्र पुरिने उल्लेख छ । बर्सेनि घट्दो फेवातालले आफ्नो मौलिकतासमेत गुमाइरहेको छ ।
लेकसाइड निवासी अग्रज फोटो पत्रकार कृष्णमणि बराल फेवाताल मानवीय र प्राकृतिक चपेटामा परेको स्विकार्छन् । हालै मात्रै उनले तालको २० वर्षअघि र अहिलेको अवस्था’bout झल्काउने फोटो प्रदर्शनी गरेका थिए । पछिल्ला २० वर्षमा ठूलो परिमाणमा ताल पुरिएको उनको निष्कर्ष छ । मुहान क्षेत्रमा बर्सेनि पहिरो जाने गर्दा ताल क्रमशः पुरिँदै गएको बराल बताउँछन् । २०७२ साउनमा अँधेरीखोला सामुदायिक वन क्षेत्रकै ७ हेक्टर वन पुरै बगाएर तालको ड्यामसाइडसम्म पुगेको उनको ताजा स्मरण छ । उनले त्यसबेला ड्यामसाइडसम्मै बगेका रूखहरू झिक्दै गरेको र काट्दै गरेको दृश्यसमेत क्यामेरामा कैद गर्न भ्याएका थिए । ताल संरक्षणका लागि मुहान क्षेत्रमा जाने गरेको पहिरो रोक्नुपर्ने, आर्टिफिसियल पोखरी बनाउनुपर्ने, मुहान क्षेत्रमा अध्ययन गरी सोहीअनुसार बिरुवा रोप्नुपर्ने, तालछेउमा अव्यवस्थित बाटोघाटो खन्न नहुने, मुहान क्षेत्रसहित फिर्के, बुलौदीमा प्रदूषित गर्न नहुने, तालको सिमाना मिच्न नपाइने आदि उनले सुझाव दिए ।
पोखराको निधि हो फेवाताल
ऐतिहासिक, धार्मिक, प्राकृतिक, सांस्कृतिक, पर्यटकीय, जैविक विविधता, आर्थिक स्रोत आदिको एक अनुपम निधि हो, फेवाताल । यसले पोखराको पर्यटनमा मात्र होइन, समग्र गण्डकी प्रदेश तथा सिंगो मुलुकको अर्थतन्त्रमा पनि ठूलो योगदान दिएको छ । सयौं होटल व्यवसाय, रेष्टुरेन्ट, डुंगा व्यवसाय, हस्तकला पसल र पर्यटनसँग जोडिएका कयौं मानिसको जीविकोपार्जन यही तालसँग अन्तरसम्बन्धित छन् ।
भूगर्भशास्त्रीय विवरणअनुसार फेवातालको जन्म भूकम्प, पहिरो र हिमालय क्षेत्रको भूगर्भीय गतिविधिको परिणामस्वरूप भएको मानिन्छ । करिब ८ सयदेखि हजार वर्षअगाडि माछापुच्छ«े क्षेत्रतर्फ (उत्तर–पूर्व) बाट आएको विशाल पहिरोले सेती नदीको मार्ग अवरुद्ध ग¥यो । जसले पानी जमेर फेवातालको रूप लियो । तर, ताल उत्पत्ति’bout धार्मिक किंवदन्तीहरू पनि सुन्न पाइन्छ ।

आखिर जे भए पनि पर्यटकको पहिलो रोजाइ बन्न पुगेको फेवातालले पोखरा मात्र नभई समग्र नेपालको परिचय विश्वसामु पु¥याउन महत्वपूर्ण भूमिका खेलेको छ । तालको बीच भागमा रहेको तालवाराही मन्दिर होस् वा तालमा माछापुच्छे«को प्रतिबिम्ब देख्दा नै किन नहोस्, पहिलोपल्ट यहाँ घुम्न आउनेहरू यी दृश्यले रोमाञ्चित हुन्छन् । ताल पश्चिमी भागको रानीमहल, हरियाली डाँडापाखा अवलोकन गर्दै शान्त पानीमा डुंगा खियाउँदा सुखानुभूति मिल्छ । यो विश्वकै सुन्दर तालहरूमध्ये एक हो । डुंगा चढेर तालवाराही मन्दिर जाँदा यो पर्यटकीय मात्र नभई धार्मिक आस्थाको केन्द्र पनि बनेको छ ।
हिन्दू धर्मावलम्बीका लागि यो मन्दिर एक आस्थाको केन्द्र हो । विशेषगरी नेपाली नयाँ वर्षको पहिलो दिन तथा दसैंको कोजाग्रत पूर्णिमामा यहाँ ठूलो संख्यामा श्रद्धालुहरू पूजाआजा गर्न आउँछन् । तालैभरि सयौं डुंगाको ताँती लाग्छ ।
फेवाताल जैविक विविधताले पनि भरिपूर्ण छ । यहाँ विभिन्न जातका माछा, जलचर, चराचुरुंगी र वनस्पति पाइन्छन् । यस तालले पोखराको जलवायु सन्तुलनमा पनि भूमिका खेल्छ । गर्मीमा चिसोपन र जाडोमा न्यानोपन ल्याउने फेवाताल प्राकृतिक वातानुकूलनजस्तै हो ।
यो भूगर्भीय संरचना, जलवायु परिवर्तन, जलस्रोत व्यवस्थापन र वातावरण अध्ययनको पनि केन्द्र हो । बर्सेनि सयौं विद्यार्थी, अनुसन्धानकर्ता तथा वैज्ञानिकहरू यस ताल छेउछाउमा फोटो खिचिरहेका, डायरी र कलम बोकेर केही लेखिरहेका, स्थानीयसँग कुराकानी गरिरहेका भेटिन्छन् ।
तालको हाल कायम ६ दशमलव ३४३ वर्ग किमी (१२ हजार ४ सय ६८ रोपनी ३ पैसा ३ दाम) क्षेत्रफलको चारैतिर १ हजार ५५ सीमास्तम्भ गाड्ने कार्यको सुरुवात
ताल किनारमा बसोबास गर्ने जलारी समुदायको जीविकोपार्जनको केन्द्र पनि फेवाताल हो । फेवाताल प्राकृतिक सम्पदा हो । यो रामसार सूचीमा पनि सूचीकृत छ । सन् २०१६ मा फेवासहित पोखरा उपत्यकाका वेगनास, रूपा, मैदी, दिपाङ, खास्टे, कमलपोखरी, न्युरिनी र गुदें रामसार सूचीमा सूचीकृत भएका थिए ।
ताल जोगिएन भने पोखराको प्राकृतिक र आर्थिक पहिचानमै संकट आउनसक्ने भएकाले ताल जोगाउनु सबैको कर्तव्य हो । यो कार्य यसको पहिचान, संस्कृतिको सम्मान र आगामी पुस्ताको भविष्य सुरक्षित गर्नु पनि हो ।
ताल’bout १३ अध्ययन
सन् १९२५–२६ मा ब्रिटिस सर्वे अफ इन्डियादेखि हालसम्म तालको क्षेत्रफल लगायत’bout १३ अध्ययन भए । ती सबैको एउटै निष्कर्ष छ– ताल क्रमशः पुरिँदो छ । बेलैमा संरक्षण नगरे यसको अस्तित्व नासिनेछ । भोलिका पुस्ताले ‘यहाँ फेवाताल थियो रे’ भन्ने दिन आउन सक्छ ।
२०१८ सालको नेपाल–भारत सहयोग मिसनको प्रतिवेदनमा १० वर्गकिमी क्षेत्रफल देखिएको छ । त्यसको २० वर्षपछि २०३८ सालको नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) अध्ययन प्रतिवेदनअनुसार तालको क्षेत्रफल ५ दशमलव ८ वर्गकिमी मात्र देखिन्छ ।
त्यस्तै, २०५२ सालमा आएर आईयूसीएनको प्रतिवेदनमा ताल अझै खुम्चियो । सो प्रतिवेदनले ४ दशमलव ४९ वर्गकिमी क्षेत्रफल देखायो । २०५८ सालको जिल्ला विकास समिति कास्कीको रिपोर्टमा तालको क्षेत्रफल ४ दशमलव २५ वर्गकिमीमा झ¥यो ।
२० कात्तिक २०७७ मा सरकारले पुण्यप्रसाद पौडेल संयोजकत्वमा फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समिति गठन गरेको थियो । सो समितिले सरकारलाई सोही वर्षको २ फागुनमा चारकिल्ला तोकेर सीमांकन प्रतिवेदन बुझायो । १८ फागुन २०७७ मा राजपत्रमा प्रकाशित प्रतिवेदनमा पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चंखपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवन कायम गर्नेगरी चारकिल्ला तोकिएको छ । तालको क्षेत्रफल ५ दशमलव ७२६ वर्गकिमी (११ हजार २ सय ५५ रोपनी) कायम भएको प्रतिवेदनमा १ हजार ४ सय ७९ रोपनी अतिक्रमण भएको उल्लेख छ । फेवाको जग्गामध्ये ८ हजार ७ सय रोपनी पानीले ढाकिएको र व्यक्ति तथा सरकारका नाममा र दर्ता छुटेको गरी २ हजार ५ सय रोपनी कायम गर्नुपर्ने प्रतिवेदनमा सुझाइएको थियो । मालपोत कार्यालयको फिल्डबुकमा पहिले ताल रहेको क्षेत्रको ९ सय १६ रोपनी व्यक्तिको नाममा दर्ता भइसकेको पाइएको छ । मालपोतबाट छुट दर्ता सुविधा लिएर ४ सय ७७ रोपनी थप जग्गा पनि व्यक्तिको नाममा गएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसअघि, २०६९ सालको विश्वप्रकाश लामिछाने आयोगले गरेको अध्ययनअनुसार तालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी तोकिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष बुझाइएको प्रतिवेदनअनुसार सो क्षेत्रफलमध्ये ९ हजार ९ सय ५५ रोपनी पानीले ढाकेको पाइएको थियो । विभिन्न प्रमाणबाट पनि सत्य–तथ्य रूपमा अध्ययन गर्दा १ हजार ६ सय ९२ रोपनी जग्गा लालपुर्जा खारेज गर्नुपर्ने प्रतिवेदनमा थियो ।
आखिर जे भए पनि ती सबै अध्ययनले फेवातालको क्षेत्रफल बर्सेनि ८ दशमलव ७ हेक्टरका दरले संकुचन हुँदै गएको देखिन्छ ।
फेवाताल सम्बन्धमा हालसम्मका अध्ययन–
नापनक्सा साल निकाय–संस्था
सन् १९२५–२६ ब्रिटिस सर्भे अफ इन्डिया
सन् १९५७–५८ सर्भे अफ इन्डिया
विसं २०१८ नेपाल–भारत सहयोग मिसन
विसं २०३२ पहिलो कित्ता नापी (कि.नं. २९७)
विसं २०३८ नेपाल सरकार र यूएनडीपीको अध्ययन
विसं २०५२ आईयूसीएनको प्रतिवेदन
विसं २०५८ जिविस कास्की
विसं २०६४ पोखरा उपत्यका नगर विकास
विसं २०६९ विश्वप्रकाश लामिछाने प्रतिवेदन
विसं २०७२ भूमि सुधार मन्त्रालय
विसं २०७७ पोखरा महानगरपालिका
विसं २०७७ पुण्यप्रसाद पौडेल आयोग
विसं २०८१–८२ पोखरा महानगरपालिका
६५ मिटर मापदण्ड र सीमास्तम्भ
फेवातालको संरक्षण आवश्यकता तथा मापदण्ड विवादलाई लिएर बेखाबखत मुद्दा मामिला पनि हुने गरेको छ । कयौंपटक जिल्ला, उच्च तथा सर्वोच्चमा रिट निवेदन परेका छन् । पछिल्लो समय सर्वोच्चले लामिछाने आयोग आधारमा फेवातालको मापदण्ड कार्यान्वयन गर्नू भनी दुई–दुईपटकसम्म विपक्षीका नाममा आदेश दिइसक्दासमेत कार्यान्वयन शून्यप्रायः छ । भलै गत साता मात्र तालको साँधमा सीमास्तम्भ (पिल्लर) गाड्ने कार्य सुरुवात भयो ।
६५ मिटर मापदण्ड मिच्नेगरी व्यक्ति र संस्थाका नाममा दर्ता भएका जग्गा र संरचना ६ महिनाभित्र हटाउन दिइएको पछिल्लो अन्तरिम आदेशको पालना कार्यान्वयन हुन सकेको छैन । ४ असार २०८० मा विपक्षी पोखरा महानगरपालिकासमेतलाई सर्वोच्चले सो निर्देशनात्मक आदेश दिएको थियो । आदेशको पूर्णपाठ ९ असोजमा आएको थियो । अधिवक्ता खगेन्द्र सुवेदीसमेतको उत्प्रेषणयुक्त परमादेश रिटमा न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयालको संयुक्त इजलासले आदेश दिएको हो ।

सर्वोच्चले तालको ६५ मिटरमा रहेका घर, भवन, व्यापार व्यवसाय, होटेल रेस्टुराँ, रिसोर्ट आदि तथा अन्य सबैखाले व्यक्तिगत, सरकारी वा सार्वजनिक भौतिक संरचना ६ महिनाभित्र अनिवार्य रूपमा हटाउन आदेश दिएको हो । सर्वोच्चले तालको सीमाभित्र कुनै व्यापार व्यवसाय गर्ने अनुमति दिएको भए त्यसलाई रद्द गर्नसमेत आदेश दिँदै ताल किनारदेखि ६५ मिटरभित्रको क्षेत्रलाई हरियाली क्षेत्र बनाउन भनेको छ । आदेशानुसार ताल मिच्ने करिब ५ सय भौतिक संरचना भत्काउनुपर्छ । ताल किनारको घना बस्ती संरचना हटाउँदा मुआब्जामै सरकारले अर्बौं रकम खर्च गर्नुपर्छ । आदेशको पालना सुस्त भइरहँदा गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले पोहोर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय फैसला कार्यान्वयन सहजीकरण समिति गठन गरेको थियो । समितिले तत्कालका लागि तालको चारैतिर तालसीमा (तालघर)मा १ हजार ५५ पिल्लर गाड्ने भएको छ । शनिबारदेखि पिल्लर गाड्ने कार्यको पनि थालनी भयो । तीन तहका सरकारका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा फेवाताल सम्बन्धमा सर्वोच्चको पछिल्लो फैसला कार्यान्वयनका लागि तालको सीमांकन गरी सीमा क्षेत्रमा पिल्लर गाडिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रस्ट पारे । सो कार्यको शुभारम्भ गर्दै मख्यमन्त्री पाण्डेले ताल संरक्षण कार्यमा यो औपचारिक शुभारम्भ भएको प्रतिक्रिया दिए ।
उनले तालको सीमा क्षेत्रमा पिल्लरहरू गाडेपछि पाँच दशक अघिदेखिको अनुत्तरित सवाल फेवातालको वास्तविक सीमाका विषयमा वैज्ञानिक जवाफसहित कयौं अड्कलबाजी अन्त्य भएको दाबी गरे । उनले यस अभियानले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्व राख्ने उल्लेख गर्दै झन्डै १८ महिनाको निरन्तर प्रयासपछि फेवातालको हाई फ्लड विन्दु आधारमा तालको सिमाना यकिन गरिएको जनाए । उनका अनुसार तालको करिब १६ किमी परिधिमा १ हजार ५५ सीमास्तम्भ गाडिने छन् । पिल्लर गाडेपछि फैसला कार्यान्वयनका लागि बाँकी कामहरू क्रमशः गर्दै जाने योजना रहेको नगरप्रमुख आचार्यले प्रस्ट पारे । पहिलो दिन ७ पिल्लर गाडिएको थियो । त्यसबेला केही स्थानीयले लालपुर्जा देखाउँदै पिल्लर गाड्ने कार्यको विरोध जनाएका थिए ।
फेवातालको सीमांकन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले तालको सीमा यकिन गर्न डीजीपीएस प्रविधि र ड्रोन सर्भेमार्फत डिटेल सर्वेक्षण गरेको थियो । पछिल्लो रिपोर्टअनुसार २९ वटा मुख्य आधारविन्दु कायम गरी ४० सेन्टिमिटर उचाइका २९ पिल्लर गाडिएका छन् । यसका आधारमा ९ हजार नियन्त्रण विन्दुहरू कायम गरिएको छ ।
सिँचाइ डिभिजन कार्यालय, कास्कीको १० वर्षको तथ्यांक तथा विभिन्न समयमा बनेका फेवातालका नक्साको अध्ययनपश्चात् फेवातालको हाई फ्लड लेबल ७ सय ९४ दशमलव ९५ मिटर कायम गरिएको छ । सो विन्दुलाई आधार मान्दा तालको तालघर ६ दशमलव ३४३ वर्गकिमी (१२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम) कायम हुन आउँछ ।
फेवा डुंगा व्यवसायी संगठनका पूर्वउपाध्यक्षसमेत रहेका मंगल नेपालीले भने तालको ड्याम १ मिटरजति बढाइदिएको भए सबै कुराको समस्या समाधान हुने बताए । ड्यामसाइड क्षेत्रमा तालको ड्याम बाँधिएको छ । यो २०३१ सालमा भत्किएकामा पछि मर्मत गरिएको थियो । ड्याम भत्किँदा धेरैले पानीमुनिकै जग्गा आफ्नो नाममा दर्ता गरेका थिए ।
फेवाले फस्टाएको पर्यटन
फेवातालकै कारण यहाँको पर्यटन क्षेत्र फस्टाएको छ । ताल किनारमा अहिले घना बस्ती छ । लेकसाइडका सबैजसो घरमा कुनै न कुनै पर्यटनसम्बद्ध व्यवसाय सञ्चालित छन् । जता हे¥यो, त्यही होटलका नेमप्लेट झुन्डिएको देखिन्छ । पोखरालाई ४ चैत २०८० मा ‘पर्यटन राजधानी’ घोषणा गरिएको थियो । यसले अब पोखरा अन्तर्राष्ट्रियस्तरमै ट्रान्जिट रूपमा ब्रान्डिङ हुने पोखरेलीको विश्वास छ । किनकि, यहाँको पर्यटनमा ठूलो लगानी छ । पोखराको समग्र पर्यटन क्षेत्रमा करिब ६ खर्ब रुपैयाँ लगानी भएको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । उनका अनुसार पोखराको पर्यटनमा ६ खर्ब तथा यस आसपासमा गरी करिब ७ खर्ब लगानी पुगेको छ । पोखराभरि करिब १ हजार २ सय होटल छन् । तीमध्ये पर्यटकीयस्तरका ७ सयभन्दा बढी होटल छन् ।

होटल संघ पोखरा नेपालमा ४ सय २५ होटल आबद्ध रहेको होटल संघ पोखरा नेपाल अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पोखराको पर्यटनमा सबैभन्दा बढी हिस्सा होटलले ओगटेको छ । होटलमा मात्र ५ खर्ब लगानी छ । पोखराको प्राकृतिक संरचना, पूर्वाधार, आवश्यक सेवा सुविधा, होटल, ट्राभल, टे«किङ, क्यासिनो, नाइट लाइभ, विमानस्थललगायत सबै सुविधा छन् । पोखराले एकै रातमा ४० हजार पाहुना राख्न सक्छ । होटल क्षेत्रमा मात्र १५ हजार कर्मचारी कार्यरत छन् । पोखरामा बर्सेनि आन्तरिक एवं बाह्य गरी करिब १० लाख पर्यटक भित्रिने तथा काठमाडौं आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत यहाँ घुम्न आउने अनुमान छ ।
पर्यटन व्यवसायीकै विरोध
पोखराका पर्यटन व्यवसायीहरूको छाता संगठन पोखरा पर्यटन परिषद्ले भने ६५ मिटर मापदण्डले पर्यटन व्यवसाय, स्थानीय जनजीवन र सम्पत्ति अधिकारमा गहिरो असर परेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
सन् १९५० को माउन्टेन टुरिजमदेखि सन् १९६० को हिप्पी टुरिजमसम्मको ऐतिहासिक पृष्ठभूमिमा विकास हुँदै आएको लेकसाइड क्षेत्र ड्यामसाइड, गौरीघाट, वाराहीचोक, हल्लनचोक, खहरे, गैरा चौतारा हुँदै खपौदीसम्मका होटल, रेस्टुराँ, गेस्टहाउस, ट्राभल एजेन्सी तथा ट्रेकिङ कार्यालयमा अर्बौं रुपैयाँको लगानी रहेको परिषद्ले जनाएको छ । यसअघि जिल्ला विकास समितिले गाडेका सीमास्तम्भको व्यवस्थापन नगरी पुनः नयाँ स्तम्भ गाड्न खोजेको भन्दै परिषद्ले आपत्ति जनाएको हो । सर्वोच्चको २०७५ सालको आदेशअनुसार उचित मुआब्जा प्रदान नगरी सीमांकन कार्य अघि बढाउनु न्यायोचित नहुने तर्क छ । परिषद्तर्फबाट अध्यक्ष तारानाथ पहारीले जारी गरेको विज्ञप्तिअनुसार पर्यटन व्यवसायमा गरिएको लगानीमाथि प्रत्यक्ष खतरा उत्पन्न भएको, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण, लगानीकर्ताको पुँजी र हजारौं जनाले रोजगारी पाएको पर्यटन उद्योग धरासायी हुने चेतावनी दिइएको छ । साथै, स्थानीय जलारी, जनजाति, दलित तथा अन्य रैथाने समुदायको सम्पत्तिमा वर्षौं पुरानो भोगाधिकार रहेको र तिनको संरक्षण हुनुपर्ने माग परिषद्को छ ।






