सप्तरी, राजविराज । लकडाउनका कारण समस्यामा परेका विपन्नहरुका लागि प्रदेश २ सरकारले दोस्रो चरणको राहत वितरण कार्य सोमबार देखि सुरु गरेको छ ।
प्रदेश २ सरकारको उद्योग, बन, पर्यटन तथा बातावरण मन्त्रालय मार्फत सोमबार देखि जिल्लाको सवै १८ वटै स्थानिय तहको १ सय ६४ वटा वडामा राहत वितरण सुरु गरेको हो । प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जिल्लाको छिन्नमस्ता गाउँपालिका ७ बाट दोस्रो चरणको राहत वितरण कार्य शुभारम्भ गरेका हुन ।
सो वडामा पहिचान गरिएका ५९ गरिब असहाय परिवारलाई प्रति परिवार २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ किलो सोयाबिन र १ लि. खानेतेल लगायतका राहत सामग्री मन्त्री साहले वडाध्यक्ष प्रमिला यादवलाई हस्तान्तरण गरे ।
सो अवसरमा उनले लकडाउनका कारण समस्यामा परेका गरिब असहायलाई प्रदेश सरकारले साधन श्रोतले भ्याए सम्म सहयोग गर्ने प्रतिबद्घता जनाए ।
प्रदेश २ सरकारले उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालय मार्फत जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा जिल्लाका सवै १ सय ६४ वटै वडामा राहत सामग्रीका लागि १ करोड ८६ लाखको बजेट छुट्टयाएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष साहले बताए ।
प्रदेश २ सरकारले मातहतका सवै ८ वटै जिल्लामा सोमबारै देखि दोस्रो चरणको राहत वितरण कार्य सुरु गरेको जनाएको छ ।