काठमाडौं । चीनको उहान सहरमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारले कुनै गम्भीर पहलकदमी नचालेको उनीहरूका अभिभावकले गुनासो पोखेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनीहरूले सरकारले चीनमा बन्धकको अवस्थामा रहेका आफ्ना नागरिकको उद्धारका लागि गम्भीरता नदेखाएको भन्दै कडा आपत्ति जनाएका हुन् ।
चीनमा रहेका कोही पनि नेपाली ‘नोवल कोरोना भाइरस’बाट संक्रमित नभएको भन्दै उनीहरूले जतिसक्दो चाँडै आफ्ना आफन्तलाई नेपाल ल्याउन सरकारले पहल गर्नुपर्ने पनि बताए । ती विद्यार्थीको उद्धारका लागि आफूहरूले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको अभिभावकको गुनासो छ । कतिसम्म भने चीनमा बन्धकको अवस्थामा रहेका नेपालीले भिडियो कलमार्फत नेपाली सञ्चारकर्मीसँग चाँडै नेपाल झिकाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए । चीनमा रहेको नेपाली दुतावासले पनि कुनै ठोस जवाफ दिन नसकेको ती विद्यार्थीले गुनासो गरे ।
यता, अभिभावकले भने आफ्ना सन्तान नै यस्तो विपद् र संकटबाट गुज्रँदा आफूहरू निकै ठूलो पीर र मर्कामा परेको बताएका छन् । आफन्तलाई स्वदेश फर्काउने विषयमा नेपालको सरकारी अधिकारीबाट कुनै ठोस जवाफ नआएको भन्दै कहिलेसम्म स्वदेश फर्काउने हो ? भन्दै लिखित जवाफ दिनुपर्ने माग गरे । चीनमा रहेकी विद्यार्थीकी अभिभावक सोमिला कक्षपतिले कोरोना भाइरस’bout नै आममानिसमा सही जानकारी नभएको स्पष्ट पारिन् ।
उनले भनिन्, ‘यसको उपचार कहीँ पनि छैन, चीनमा रुघोखोकीको बेग्लै ट्रिटमेन्ट र निमोनियाको बेग्लै उपचार गरिन्छ, हाम्रो पनि त्यही गर्ने हो, यो भाइरस हावाबाट सर्दैन भनेर भनिसकिएको छ र चीनमा रहेका नेपाली कोही पनि यो भाइरसबाट संक्रमित छैनन् ।’ नेपाल सरकारले नेपालीको उद्धारका लागि जतिसक्दो चाँडो कदम चाल्नुपर्ने उनको भनाइ छ । अर्का अभिभावक रमेशबहादुर सिंहले पनि सरकारले उद्धारका लागि ठोस पहल नगरेको गुनासो पोखे ।
चीनमै चिकित्सक शिक्षा अध्ययन गरेर स्वदेश फर्किएका नेपाली डाक्टले आफू उद्धारका लागि चीन जान तयार रहेको स्पष्ट पारेका छन् । चीनको उहानमै इन्टर्नल मेडिसिन अध्ययनरत डा. सुमन श्रेष्ठले आफू २ जनवरीमा मात्रै काठमाडौं आएको सुनाउँदै भने, ‘म काठमाडौं आएको दुई सातापछि चीनमा कोरोनाको महामारी नै फैलियो ।’ नेपाल सरकारले कुनै संकोच नमानीकन नेपालीलाई स्वदेश फर्काउनुपर्ने उनको धारणा छ ।
अर्का चिकित्सक डा. प्रकाश कँडेलले पनि आफ्ना साथी कोही पनि संक्रमित नभएको स्पष्ट पारेका छन् । उनले संक्रमित नभएपछि सरकारले उद्धार गर्नुपर्ने भन्दै नेपाल सरकारका प्रतिनिधिले आफूहरूसँगको भेटवार्तामा चिन्ता र दुःख व्यक्त गरेको बताए ।