अब डिजिटल मेसिनबाट संगीत रोयल्टी संकलन

काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालले अब प्रदेश स्तरीय हरेक यातायात विभागमा यातायातको राजश्व संकलनको लागि डिजिटल मेसिन राख्ने भएको छ । यस अघि यातायात कार्यालय नजिकै काउन्टर राखेर रोयल्टी उठाउँदा पारदर्शी रूपमा रकम प्राप्त नभएपछि आफूहरूले मेसिन राख्न लागेको संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले राजधानीलाई जानकारी गराए । उनका अनुसार विदेशमा रोयल्टी संकलन गर्न प्रयोग भएको यो मेसिनलाई नेपालमा पनि ल्याइएको हो ।

संगीत रोयल्टी संकलन समाजले आफ्नो मेसिन राखेर रोयल्टी संकलन गर्न पाउने निर्णय सरकारले शुक्रवार मात्रै गरेको हो । केही महिना अघि नै यो प्रणाली लागू गर्न खोजिएको भए पनि समाजले सरकारबाट अनुमति पाएको थिएन ।

यस अघि समाजले हरेक प्रदेशको यातायात कार्यालयमा आफ्ना कर्मचारी राखेर रसिद काटेर रोयल्टी उठाउने गरेको थियो । तर त्यसरी उठाउँदा आर्थिक हिनामिना भएपछि आफूहरूले डिजिटल मेसिन राख्न बाध्य हुनु परेको अध्यक्ष अधिकारीले बताए । यो मेसिनबाट रोयल्टी उठाउने काम अब तत्कालै सुरु गरिने उनले पनि जानकारी गराउँदै भने,‘असार साउन महिनामा यातायातको बढी नविकरण हुने भएकाले हामीले हतार गरेको हौँ ।’

रोयल्टी संकलन सम्बन्धी ऐनमा कुनै पनि सवारी साधन धनीले आफ्नो बुलु बुक नवीकरण गर्नु अघि रोयल्टी बुझाएर रसिद काट्नु पर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार यस अघि समाजले यातायातको रोल्टी उठाउने जिम्मा कुनै ठाउँमा एजेन्सीलाई दियो । कतै भने आफ्नै कर्मचारीलाई दियो । तर यातायातको रोयल्टी यसरी उठाउँदा हिनामिना भएकाले अहिले डिजिटल मेसिन राख्न लागिएको अध्यक्ष अधिकारीले राजधानीलाई बताए ।

अध्यक्ष सुरेश अधिकारीका अनुसार अहिले १० वटा डिजिटल मेसिन ल्याइएको छ । यो मेसिनले क्युआर प्रणालीबाट यातायातको रोयल्टी संकलन गर्छ । सोही मेसिनबाट भ्याटको रकम कर कार्यालयमा पठाउने प्रावधान रहेको पनि अध्यक्ष अधिकारीले बताए ।

उनले यो प्रणाली’bout भने,‘धेरै नै यातायात भएको प्रदेशको यातायात कार्यालयमा दुई वटा र पातलो यातायात रहेको प्रदेशको यातायात कार्यालयमा एउटा मेसिन राखिने भएको छ । अब समाजकै कर्मचारीले मेसिन मार्फत रोयल्टी उठाउने हुँदा सो रकम प्रत्यक्ष बैंकमा जम्मा हुने भएकाले संकलित रोयल्टी हिनामिना हुने छैन । ’

अध्यक्ष अधिकारीको भनाईमा संगीत रोयल्टी संकलन समाजले अहिलेसम्म उठाएको रोयल्टी गीतकार, संगीतकार, प्रस्तोता र प्रकाशकलाई २५ प्रतिशतका दरले चार भाग लगाएर बाँडफाँट गर्दै आएको छ । संगीत रोयल्टी सम्बन्धी नयाँ ऐन अहिले मन्त्रालयमा छ । यो परिवर्तित ऐन चाँडै लागु हुनेमा आफूहरू ढुक्क रहेको अध्यक्ष सुरेश अधिकारीले बताएका छन् । यो नयाँ ऐन आएपछि संगीत रोयल्टी संकलन समाजले गीतकार, संगीतकार र प्रकाशकको मात्र रोयल्टी उठाउने छ ।

सो विषयमा राजधानीसँग कुरा गर्दै अध्यक्ष अधिकारीले भने,‘हामी रोयल्टी सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको सदस्य भइसकेका छौँ । त्यसैले अन्तर्राष्ट्रिय संस्थाको नियम अनुसार प्रस्तोताको रोयल्टी हामीले उठाउन नमिल्ने भएकाले अब नयाँ ऐन आएपछि प्रस्तोताको रोयल्टीको जिम्मा हामीले लिने छैनौँ ।’

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

किसान र घर गुमाएकाहरु राहत र पुनःस्थापनाको प्रतीक्षामा, कृषिमा राहत भने शुन्य