नयाँ शव्द आउने वित्तिकै सञ्चारमा समस्या हुन्छ, यसकारण महानगरपालिकाले नियमित तालिम चलाउनुपर्छ — लाभग्राही
काठमाडौँ । बहिरा अपाङ्गता भएका बालबालिकासँग घरमा कुराकानी गर्न अभिभावकहरुलाई सांकेतिक भाषा तालिम दिएको छ । बच्चाहरु सांकेतिक भाषा माध्यम भएको विद्यालयमा अध्ययन गर्ने हुनाले अभिभावकहरुले पनि आफ्नो बालबालिकासँग स्पष्ट रुपमा कुरा गर्न सजिलो होस भनेर अभिभावककोे भावनाबमोजिम काठमाडौँ महानगरपालिकाले काठमाडौँ बहिरा संघसँगको सहकार्यमा तालिम सञ्चालन गरेको हो ।

‘यसरी प्रदान गरिएको तालिमबाट बहिरा अपाङ्गता भएका बालबालिकाले घरमा बालमैत्री स्नेह प्राप्त गर्न सक्नेछन् । उनीहरुले अपेक्षा गरेको ममता पाउनेछन् । शव्दमा व्यक्त गर्न नसकेका कुरा पनि अभिभावकले बुझेर सोही अनुरुपका समाधानमा सहजीकरण गरिदिनुहुनेछ । हेरचाह गरिदिनुहुनेछ ।’ तालिम समापन अवसरमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भने, ‘हेर्दा सानो संख्या देखिन सक्छ । तर, यसले मानवीयता र पहुँचयुक्त सहर निर्माण गर्ने दिशामा ठुलो योगदान दिनेछ ।’
समापन कार्यक्रममा संघका अध्यक्ष सत्यदेवी वाग्लेले, नेपाली सांकेतिक शव्द सीमित भएको बताउँदै सार्वजनिक सेवामा जाँदा नयाँ नयाँ शव्द आउने र ती शव्दको संकेत नभएकोले ठाउँठाउँमा समस्या पर्ने अनुभव सुनाए । यसको समाधानका लागि महानगरपालिकाले नियमित प्रशिक्षण सञ्चालन गरिदिनुपर्ने उहाँको माग थियो ।
नेपाली सांकेतिक भाषा दोभाषे प्रकाश महर्जनका अनुसार राष्ट्रिय बहिरा महासंघ नेपालले प्रकाशन गरेको नेपाली सांकेतिक भाषाको शव्दकोषमा करिब ५ हजार ५ शव्दको संकेत छ । यसमा थप गर्दै अहिले करिब ७ हजार शव्दको कोष प्रकाशन तयारी भएको छ । आफ्ना नानीबाबुको भावना बुझ्न नसक्दा मनमा गहिरो पीडा बोध हुने गरेको विगत स्मरण गर्दै अभिभावकहरुले उनीहरुको भावना बुझ्न सक्ने हुनुलाई जीवनमा ठुलो सम्पत्ति आर्जन गरेको अनुभूति भएको बताए ।

तालिममा आधारभूत सञ्चारतर्फ अभिवादन गर्ने, घाम, पानी, साथी जस्ता शव्दको संकेत सिकाइएको थियो । यस्तै समयतर्फका दिन, बार, बिहान, दिउँसो, बेलुका, राती, साल, गते, हप्ता, महिना, नातागोतामा बुबा, आमा, दिदीबहिनी, भाइ, हजुरबा, हजुरआमा, जेठी, कान्छी, बुढो, वुढी, ठुलीआमा, ठुलाबा, फुपू, फुपाजुजस्ता शव्दका संकेतका साथै रङ्गहरु, सरीरका अङ्गहरु, स्वास्थ्य सम्बन्धी संकेतहरु सिकाइएको थियो । चराचुरुङ्गी, फलफुल, स्वाद, जनावर, कीरा, दिशा, अङ्क, पैसा गणना, तरकारीका संकेत तालिममा समावेश थिए । यस्तै हो, होइन, छ छैन, असल खराव जस्ता विपरीतार्थक शव्द, हामी, तिमी, जस्ता सर्वनाम शव्द र सँगै, अरु जस्ता विविध शव्दका संकेतहरु पनि सिकाइएको थियो । खाद्यपदार्थ र पेय पदार्थ, अम्मल र लागू पदार्थ, धर्म, संस्कार, संस्कृति र प्रकृति, मान्छे र पेशा, भावना, घरेलु सामान, खेल, दैनिक क्रियाकलाप, लुगा कपडा, व्यक्तिका गुण र दोष, विभिन्न उपकरणका संकेत तालिममा सिकाइएको थियो ।
महानगरपालिकाले यसअघि गएको वैशाख महिनामा बहिरा अपाङ्ता भएका १० जनालाई बारिस्ता, वेकरी बनाउने र हस्पिटालिटी सम्बन्धी ९० दिनको तालिम प्रदान गरेको थियो ।






