ब्रान्डेड बन्दै असार १५, हराउँदै असारे भाका

इलाम । १५ असार धान दिवस । माना रोपेर मुरी फलाउने महिना । असार सुरु भएदेखि आली काट्ने, हिल्याउने, आली लगाउने र रोपाइँको तयारी गर्ने समय । हप्तौं दिनको दैनिक कामपछि बल्ल हुन्छ, रोपाइँको तयारी । त्यसको दुःख देख्ने र भोग्ने कमै हुन्छन्, आजभोलि । यतिबेला त १५ असारमा धान दिवस मनाइयो भन्दै नयाँ लुगा लगाएर एक दिन हिलोमा पसेर सामाजिक सञ्जाल तताउनेले वास्तविक किसानको पीडा देख्दैनन् र धान दिवस भन्दै ब्रान्ड मात्रै बनाइरहेका छन् । झिमिझिम पानी, रोपाइँका बाउसे र रोपाहार एक–अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख–कष्ट र थकाइ बिर्सन खोज्छन् ।

तर, इलाममा यस्ता गीत कतै सुन्न पाइँदैन । खेतका गरा, खोलानाला र खहरेबाट झरेको पानीको आवाजसँगै असारे भाका गुन्जिँदा सुनिरहूँजस्तो हुन्छ तर नयाँ पुस्ताका लागि असारे भाका इतिहास बनेको छ ।

खेतीपातीमा आधुनिक पद्धतिको विकास र विदेशी संस्कृतिको प्रभावसँगै नयाँ पुस्ताका लागि असारे भाका पनि बिरानो बन्दै गएको बूढापाका बताउँछन् । मानु खाएर मुरी उब्जाउने समय असार । त्यसमा पनि १५ असार किसानको चाड नै मानिन्छ । १५ असारमा दही चिउरा खाने र दिनभर रोपाइँ गर्ने चलन थियो । अहिले नेपालका सबै भूभागमा किसानलाई धान रोपाइँको चटारो छ ।

तर, यतिबेला रोपाइँको रौनकता कतै देखिँदैन भने १५ असारमा दही चिउरा खानका लागि न कसैले चासो दिएको पाइन्छ । युवा पुस्ताले न असारे भाका गाउँछन्, न त दही चिउराको महत्व नै बुझेका छन् ।

पहिले रोपाइँ हुँदा कसकोमा रोपाइँ छ भन्ने आवाजबाटै थाहा हुन्थ्यो । रोपाइँको दिन असारे भाकामा गीत गाउँदै रोपाइँ गर्ने चलन थियो । तर, अहिले असारे भाका कतै सुनिँदैन । असारमा दिनभर काम गर्नुपर्ने र थकाइको महसुस नहोस् भनेर असारे भाकामा गीत गाउने चलन थियो । अहिले त रोपाइँ भएको हो कि होइन थाहा पाउनै छोडिसक्यो, सुनसान हुन्छ, कसैले भाका नै ल्याउँदैनन् । बूढापाका भन्छन्, ‘रोपाइँका दिन दही चिउरा भन्दा चाउचाउको खाजा खोज्ने गर्छन्, अहिलेका पुस्तामा दही चिउराको महत्व नै थाहा छैन ।’

असार लागेसँगै किसान रोपाइँमा जुटिसकेका छन् । तर, रोपाइँमा उहिलेको जस्तो रौनकता कतै भेटिँदैन । रोपाहार र बाउसेले एक–आपसमा हिलो छ्यापाछ्याप गरेको पनि कतै देखिँदैन । असारे भाका पनि कतै सुनिँदैन । उहिले रोपाइँमा खेतालाले चोयाबाट बनाएको घुम, जुटको बोरा ओढेर असारे गीत गाउँदै रोपाइँ गर्थे तर अहिले ती दिन एकादेशको कथा बन्दै गएको जानकार बताउँछन् ।

पहिले रोपाइँमा असारे गीतको भाकाबिना रोपाइँ भएको पाइँदैनथ्यो तर अहिले रोपाइँमा असारे गीत गुन्जिन छाडिसकेको छ । आजकाल रोपाइँमा कुनै उत्साह छैन, रोपाइँ खल्लो हुन थालेको जानकार बताउँछन् ।

यता, यहाँका बूढापाकाको भनाइमा कृषकलाई ‘पाखे’ वा ‘गाउँले’भनेर हेलासमेत गर्ने गरेको युवा पुस्तामा पाइन्छ । यही सोचाइका कारण गाउन चाहनेले समेत असारे भाका नगाएको उनीहरूको बुझाइ छ ।

अरूबेला चुपचाप, १५ असारमा मात्र एकदिने तामझाम
अहिले वर्षभर खेतबारीमा काम गर्ने भन्दा १५ असारमा एक दिन रोपाइँ गर्नेको चर्चा बढी छ । १५ असारको एक दिन भने हिलो, गीत र दही–चिउराले एकदिने तामझाम बढ्दैजाँदा वास्तविक कृषकको पीडा भने पुरानै छ । हिलोमा नाच्ने, फोटो खिच्ने, पोस्ट गर्ने अनि किसानका साथी बनेर भाषण ठोक्ने यो दिन साँचो किसानहरूका लागि एक झल्को मात्र हो ।

‘साँच्चै किसानका पक्षमा केही गर्ने हो भने मल, बीउ, सिँचाइ र बजारको स्थायी समाधान होस्,’ कृषकहरू भन्छन्, ‘एक दिन फोटो खिचेर केही हुन्न ।’

ब्रान्डेड बन्दै १५ असार
अहिले १५ असार कार्यक्रम, ब्यानर, मञ्च र भाषणजस्ता कामले ब्रान्डेड पर्व बनिरहेको छ । तर, बाँकी दिनमा त्यही कृषक मलको लाइनमा अल्झिएका, मौसमको भरोसामा आँखा गाडेका देखिन्छन् । कृषि विज्ञहरू भन्छन्, ‘धान दिवस मनाउनु राम्रो हो, तर त्यो किसानको संघर्ष बुझ्ने हुनुपर्छ, कृषिमा यान्त्रीकरण, बजारीकरण, मूल्य संरक्षण र बिमाजस्ता विषय अझै गाउँले किसानसम्म पुगेको छैन ।’

तर, १५ असारमा चिटिक्क लुगा लगाएर खेतमा उत्रने नेता, कर्मचारीहरूका तस्बिरहरूले खेतीको वास्तविकताभन्दा प्रचारको प्रतिस्पर्धा झल्काउँछ । एकदिने रोपाइँ रमाइलो होस्, तर बाँकी ३ सय ६४ दिन पनि किसानप्रति नजर पुगोस् ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

epaper

ताजा समाचार

बीपी राजमार्गमा जाइकाले सुरु गर्‍यो पुनर्निर्माण