खोटाङ जिल्ला अस्पतालमा ५० शैयाको सेवा शुभारम्भ

खोटाङ । जिल्ला अस्पताल खोटाङमा स्थापनाको ३३ वर्षपछि ५० शैयाको सेवा शुभारम्भ गरिएको छ । विसं २०४९ वैशाख १ गते स्थापना भएको यस अस्पतालमा अहिलेसम्म मात्र १५ शैयाको सेवा सञ्चालनमा थियो । कोशी प्रदेश सरकारका स्वास्थ्य एवम् भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले आइतबार औपचारिक रूपमा ५० शैयाको सेवा शुभारम्भ गरेका हुन् ।

कोशी प्रदेश सरकारले गत जेठ १२ गते जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार अस्पताल भवन निर्माणको काम बाँकी रहेपनि अन्य सेवा विस्तारका लागि ५० शैयाको अस्पताल उद्घाटन गरिएको मन्त्री राईले बताए । मन्त्री राईले भने “पन्ध्र शैयामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्न मन्त्रालयले प्रयाप्त बजेट उपलब्ध गराएको छ । ५० शैयाको सेवा शुभारम्भ नभएसम्म बजेट खर्च गर्ने बाटो खुल्दैन ।”

मन्त्री राईले आगामी भदौसम्ममा अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सबै सेवा उपलब्ध गराइने बताए । मन्त्री राईले भने “अब बिगतमा जस्तो सामान्य बिरामीको उपचारकै लागि जिल्लावासीले हेलिकोप्टर चार्टर गर्न सिरानीमा पैसा राखेर बस्नु पर्दैन ।” स्वास्थ्यमन्त्री राईले खोटाङमा स्वास्थ्य क्षेत्रका लागि १६ करोड बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।

यस बजेटबाट औषधि प्रशोधन केन्द्र, उपकरण तथा औषधि खरिद लगायतका काम गरिनेछ । “निर्माणाधीन अस्पताल भवन सम्पन्न नभएपनि सेवा सुविधा विस्तार गर्नका लागि ५० शैयाको सेवा शुभारम्भ गरेका छौँ । भवन निर्माणको काम पनि अब चाँडै सम्पन्न हुन्छ । त्यसपछि सबै स्वास्थ्य सेवा उपलब्ध गराउँछौँ ।” मन्त्री राईले भनेका छन् । ५० शैयाको सेवा शुभारम्भ गरिएसँगै सबै प्रकारका बिरामीहरूको उपचार सेवा जिल्लामै उपलब्ध गराउने गरी स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिएको मन्त्री राईले बताएका छन् । मन्त्रालयबाट विशेषज्ञ चिकित्सकसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिएको छ ।

मन्त्री राईले भने “पहिलो चरणमा यहीँका स्वास्थ्यकर्मी परिचालन गरेर भिडियो एक्स–रे सेवाबाट ५० शय्याको अस्पतालको सेवा शुभारम्भ गरिएको छ । आगामी दिनमा थप सेवा÷सुविधासमेत विस्तार गर्दै पूर्ण क्षमतामा सञ्चालन लगिनेछ ।” अस्पताल स्थापना भएको तीन दशकपछि ५० शैया स्तरोन्नति गरिएको अस्पताल उद्घाटन गरिए पनि अहिलेसम्म भवन निर्माणको काम सम्पन्न नहुँदा सेवा प्रभावित भएको छ । निर्माणाधीन अस्पताल भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र सम्पन्न भएको जनाइएको छ ।

अस्पताल भवन निर्माणको ठेक्का रु २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले लिएको छ । ठेकेदार कम्पनीले ३० महिनाभित्र सक्नेगरी विसं २०७८ असार २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेको थियो । ठेकेदारसँग सम्झौता गरिएअनुसार विसं २०८० पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि पुनः थप गरिएको म्याद आगामी मङ्सिरसम्म रहेको छ । भवन निर्माणको काम नसकिएपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले निर्माण सम्बद्ध ठेकेदार कम्पनीहरूलाई ताकेता गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित