कृषि र पशुपालनमा रुरुका किसानको आकर्षण

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका किसानहरु कृषि र पशुपालनमा आकर्षित भएका छन् । गाउँपालिकाले संचालन गरेको रुरु कृषि परियोजनाले किसानहरुलाई उत्पादन र बजारीकरणमा सहयोग गरेपछि गरेपछि रुरुक्षेत्रका किसानहरु कृषि र पशुपालनतर्फ आकर्षित भएका हुन् ।

रिडीका ७८ बर्षिय रामचन्द्र भट्राईले गत बर्ष रुरु कृषि परियोजनामार्फत एक सय मेवाका बिरुवा निःशुल्क पाए । परियोजनाका प्राविधिकले मेवा लगाउने तरिका सिकाए । मकै खेती हुने बारीमा मेवाका बिरुवा लगाएका उनले यही असारको पहिलो हप्ता ६० हजारका मेवा बिक्री गरे । ‘मकै लगाउदा बाँदरले हैरान पाथ्र्यो, जे त होला भनेर मेवा लगाएको ।’ उनले भने, ‘सय वटा बिरुवा लगाउँदा ३५ वटामात्रै बाँचेका थिए ।’

मेवा बिक्री गर्नुका साथै साथिभाई, आफन्त तथा इष्टमित्रलाई समेत उनले पठाएका छन् । उनले एक रोपनी क्षेत्रफलमा मेवा लगाएका हुन् । मेवा औषतमा प्रतिकेजी ४५ रुपैँयामा स्थानीय बजारमा बिक्री भएको थियो । उनले यही असारमा थप दुई सय बिरुवा लगाएका छन् । ‘मकै लगाएको भए दुई मुरीबाट जम्मा आठ हजार मात्रै हुन्थ्यो, मेवा लगाएपछि आम्दानी धेरै नै बृद्धि भयो ।’ उनले भने, ‘बजारको पनि कुनै समस्या छैन ।’ उनले यसै बर्ष ५० वटा आँपका बिरुवा पनि लगाएका छन् ।

अर्का किसान ३४ बर्षिय पुष्प भट्राईले पनि खुर्सानी बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । परियोजनाले गत बर्ष एन्एस् १७०० जातको खुर्सानीको बीउ दिएको थियो । सोही बिउबाट बिरुवा उत्पादन गरी अहिले उक्त बिरुवाबाट आम्दानी लिइरहेका छन् । एक रोपनीमा १४ सय बिरुवा लगाएका उनले अहिले खुर्सानी पैँचो पसल र स्थानीय बजारमा बिक्री गर्छन् । स्थानीय बजारमा प्रति एक सय र पैँचोमा प्रति केजी ६७ रुपँैयामा उनले बिक्री गर्दै आएका छन् । ‘लगाएको दुई महिनामा उत्पादन दिने रहेछ ।’ उनले भने, ‘अहिले घरमै बसेर मनग्य आम्दानी गरिरहेको छु ।’ उनले एक हप्ताको अन्तरालमा तीन क्विन्टलसम्म खुर्सानी बिक्री गर्छन् । खुर्सानीका साथसाथै उनले भेन्डी, बोडी लगायतका तरकारी खेती एवं बाख्रापालन समेत गरेका छन् ।

रामचन्द्र र पुष्प त व्यवसायिक खेतीमा आकर्षित भएका प्रतिनिधिमुलक पात्र मात्रै हुन् । उनीहरुजस्तै रुरुका थुप्रै किसान पछिल्लो समय व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् । रुरुक्षेत्र गाउँपालिकाले गत बर्षबाट रुरु कृषि परियोजना लागु ग¥यो । परियोजनाले बाख्रा, दुध, मासु, तरकारी, उखु, कुखुरा, गाईपालन, घाँस लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

यसले समग्र पालिकाको उत्पादन र किसानको आम्दानीमा बृद्धि भएको छ । ‘परियोजना लागु भएपछि घाँसको बीरुवा मिल्यो, जसले दुध उत्पादनमा टेवा पुगेको छ ।’ रुरुक्षेत्र –५ टाहाटिमका गाईपालक किसान मेघराज गिरीले भने, ‘अहिले दुध बेचेरै आम्दानी भइरहेको छ ।’ उनले चारवटा गाईबाट दैनिक ४५ लिटर दुध बिक्री गर्छन् ।

दुधको मूल्य प्रतिलिटर ७० रुपैँयासम्म पर्छ । उनले बम्घाकै बम्घा बहुउदेश्यीय सहकारी संस्थामार्फत दुध बिक्री गर्छन् । सोही सहकारीमा अहिले एक सय ७९ जना शेयर सदस्य छन् । सबै शेयर सदस्यहरुले सहकारीमार्फत दुध एवं तरकारीको बजारीकरण गर्दै आएका छन् । सहकारीमा दुध बेचेर मात्रै स्थानीय बाबुराम श्रेष्ठले मासिक एक लाख ८२ हजारभन्दा बढी आम्दानी गर्ने सहकारीका अध्यक्ष कुलचन्द्र पुरीले बताए । ‘परियोजनाले भकारो सुधार, घाँसको बीउ लगायतका विभिन्न प्राविधिक बिषयमा सहयोग ग¥यो ।’ श्रेष्ठले भने, ‘अहिले हामी व्यवसायिक रुपमा दुध र तरकारीको उत्पादनमा लागेका छौँ ।’

३५ लाखको तरकारी बिक्री
पालिकाद्धारा संचालित परियोजनाले उत्पादनको साथै बजारीकरणको क्षेत्रमा समेत काम गरिरहेको छ । गत बर्ष मात्रै उत्पादन भएका टमाटर, सिमि, काँक्रा, लौका, खुर्सानी लगायतका तरकारी पाल्पा र पैँचो पसलमा फरक–फरक मूल्यमा बिक्री भए । ७५ टनभन्दा बढीको तरकारी बिक्रीबाट रुरुक्षेत्रका किसानले ३५ लाखभन्दा बढी आम्दानी गरेको परियोजना संयोजक प्रकाश चालिसेले जानकारी दिए । अहिले पालिकाभर १० हजार माउबाख्रा रहेको, एकता महिला उद्यमी बहुउदेश्यीय सहकारीमार्फत बजारीकरणको काम भइरहेको, उखुको प्रवद्र्धनको लागि बीउ बितरण र गुड, खुदो बनाउने उद्योग स्थापना गरेको जस्ता कामहरुमार्फत किसानको आय–आर्जन बढाउने काम गरिरहेको चालिसेको भनाई छ ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कृषि र पशुपालनबाटै राजगारी सिर्जना गर्ने पालिकाको लक्ष्य अनुसार काम गरिरहेको बताए । किसानलाई आवश्यक पर्ने, मल, बीउ, प्राविधिक, सिँचाई लगायतका पक्षमा पालिकाले सहयोग गरिरहेको बताए । ‘कृषि र पशुपालनमा सकारात्मक लक्षणहरु देखिएका छन्, सबै क्षेत्रमा आत्मनिर्भर बन्ने लक्ष्य छ ।’ अध्यक्ष ज्ञवालीले भने, ‘समृद्ध रुरुक्षेत्रको सपना हाम्रै पालामा पुरा गर्छौ ।’

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी