गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका विद्यालयहरुमा खरिद गरिएका स्मार्ट बोर्डको बिषयलाई लिएर पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । बोर्ड खरिदमा अनियमितता भएको भन्दै एमाले रुरुक्षेत्र गाउँकमिटीले मंगलबार तालबन्दी गरेको हो । अझ गज्जवको कुरा त के छ भने विद्यालयले खरिद गरेको बोर्डको बिषयमा पालिकामा तालाबन्दी गरिएको छ ।
पालिकाका सबै सामुदायिक विद्यालयका कक्षा ९ र १० मा स्मार्टबोर्ड खरिद गर्नेगरी लुम्बिनी प्रदेशको २५ र पालिकाको १० गरी ३५ लाख बजेट बिनियोजन भएको थियो । दुईबर्ष अगाडी पालिकाले नवप्रवद्र्धन कार्यक्रमअन्तरगत स्मार्ट बोर्डको साझेदारी कार्यक्रम ल्याएको थियो । यसै कार्यक्रमअन्तरगत रुरुक्षेत्रका सात सामुदायिक विद्यालयका कक्षा ६, ७ र ८ मा स्मार्ट बोर्ड जडान गरिएको छ । चालु आर्थिक बर्षमा कक्षा ९ र १० मा बोर्ड जडान गर्नेगरी पालिकाले योजना बनाएको थियो । यस योजनाको लागि लुम्बिनी प्रदेश सरकारसँगको २५ र पालिकाको १० गरी कुल ३५ लाखको साझेदारी रहेको थियो ।
स्मार्ट बोर्ड खरिदको लागि चैत २३ गते रुरुक्षेत्रको गाउँ शिक्षा समिति र २५ गते गाउँकार्यपालिकाबाट निर्णय भएको थियो । उक्त निर्णय कायान्वयनमा प्रक्रिया नपुगेको भन्दै एमालेबाट निर्वाचित उपाध्यक्ष सहितका २८ जना जनप्रतिनिधिहरुले अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएका छन् भने पार्टीले तालाबन्दी गरेको छ ।
बिषय के हो ?
खरिद गरिएका बोर्डमा अनियमितता भएको एमालेको आरोप छ । अनियमितता भएको भनी अख्तियारमा उजुरी परेपछि अख्तियारले असारको ९ गते स्पष्टिकरण सोधेको छ । व्यवसायीले सुरुमा लगेका स्मार्ट बोर्डको बिल भरपाईका बिषयमा विद्यालयहरुले तोक लगाउन मानेनन् । त्यसपछि गाउँपालिकाले जेठ २६ गते सबै विद्यालयका प्रधानाध्यापकहरुलाई छलफल ग¥यो । छलफलपश्चात सबै विद्यालय आफैले आवेदन माग गरे । सातवटै विद्यालयले आवेदन माग गरी बोर्ड खरिद गरेकोमा सबैभन्दा कम मूल्य पर्नेले आवेदन दिए । विद्यालयले नियमअनुसार सबैभन्दा कम मूल्यको आवेदन परेको फर्मलाई बोर्ड खरिद गर्ने अनुमति दिए ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले आफुहरु कुनै व्यवसायिसँग लेनदेनमा नजोडिएको बताए । ‘विद्यालयमा बोर्ड आउनुप¥र्यो, विद्यार्थीले डिजिटल प्रविधिबाट पढ्न पाउनुप¥र्यो ।’ उनले भने, ‘एमालेले चुनाव हारेको रिस पोखेको छ ।’ स्मार्ट बोर्ड विद्यालयले नै आवेदन माग गरी खुलाएको, अख्तियारमा उजुरी परेको र भुक्तानी समेत रोकिएको योजनाको बिषयलाई लिएर आफ्नो र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्नु गैरकानुनी भएको आरोप लगाए । आफु घटनाको निष्पक्ष छानविनको लागि तयार रहेको र गल्ति भेटिए जस्तोसुकै कारवाही भोग्न तयार रहेको अध्यक्ष ज्ञवालीको भनाई छ ।
विद्यालयमा अनावश्यक राजनीति भयो
जनबोध माध्यमिक विद्यालयमा प्रधानाध्यापक बामदेव ज्ञवालीले विद्यालय र विद्यार्थीमाथि रुरुमा अनावश्यक राजनीति भएको गुनासो पोखे । ‘अधिकाशं ठाउँमा वडाध्यक्ष र कार्यपालिका सदस्य नै विद्यालय व्यवस्थापन समितिमा छन्, उनैले ज्ञापन पत्र बुझाएका छन् ।’ उनले भने, ‘राजनीति गर्नेलाई मसला भयो ।’ व्यवसायिले सुरुमा ल्याएका बोर्डहरु अधिकाशं विद्यालयमा प्रयोगमा आइसकेको उनको भनाई छ ।
रिडी माध्यमिक विद्यालयमा प्रधानाध्यापक रोहित प्रसाद भण्डारीले विद्यालयमा स्मार्ट बोर्डको आवश्यकता रहेको बताए । ‘पैसा नपाए व्यवसायिले बोर्ड फिर्ता लैजाने होलान, विद्यालयमा पनि भुक्तानी दिनमिल्ने रकम छैन ।’ भण्डारीले भने, ‘बजेट पनि फ्रिज भएको सुनिएको छ, यसले अन्योलता थपेको छ ।’
नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटीका अध्यक्ष फर्सुराम ज्ञवालीले कार्यपालिकाको निर्णयअनुसार कोटेशन माग गर्नुपर्नेमा विद्यालयमा सिधै बोर्ड आउनु गलत भएको बताए । ‘व्यवसायी आफैले सबैका बिल भरपाई तयार गरेका छन्, जुन गलत छ ।’ उनले भने, ‘यसमा व्यवसायिसँग पालिकाको मिलेमतो रहेको छ ।’ उनले यस समस्याको समाधानको लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गर्नुपर्ने बताए । व्यवसायी कृष्ण खनालले रुरुक्षेत्रमा अनावश्यक राजनीति भएको बताए । उनले आफुले गुणस्तरयुक्त सामग्री खरिद गरेकोमा ताला लगाउने दलका कारण आफ्नो समेत भुक्तानी रोकिएको बताए । उनले सबै कारोबार विद्यालयसँग भएकोले पालिकासँग कुनै लेनदेनको बिषय नभएको बताए ।
एमालेबाहेकका राजनीतिक दलहरु एकजुट
रुरुक्षेत्रमा एमालेबाहेकका राजनीतिक दलहरु एकजुट भएका छन् । माओवादी केन्द्र, नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी एमालेले लगाएको तालाबन्दी गैरकानुनी र गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् ।
विद्यालयले खरिद प्रक्रिया अगाडी बढाएको र अख्तियारले समेत छानविन गरेको हुँदा तालाबन्दी गरेर नागरिकका काम कारबाहीमा समेत बाधा पुगेको अन्य दलहरुको निष्कर्ष छ । यसै सन्दर्भमा रुरुक्षेत्र गाउँपालिकाका प्रवक्ता हरी ज्ञवालीले पनि विज्ञप्ती जारी गरी भ्रमक सूचना सम्प्रेषण गरेकोमा आपत्ती जनाएका छन् ।






