काठमाडौं । पाकिस्तानले भारतका दुई दिवंगत अभिनेताहरूको पुरानो घर (हवेली)लाई संरक्षण गरेर पर्यटकीय स्थल र संग्रहालयको रूपमा रूपान्तरण गरेको छ । संरक्षणको यो राम्रो काम गरेको भनेर पाकिस्तानलाई भारतले समेत प्रशंसा गरेको बेला बंगलादेशले प्रख्यात भारतीय चलचित्र निर्माता एवम् निर्देशक सत्यजित रेको भवनको संरक्षण नगरेर यति बेला टिप्पणी खेप्नु परेको छ ।
बंगलादेशको मयमनसिंहमा रहेको निर्माता सत्यजित रेको पुख्र्यौली घर संरक्षण गर्नुको सट्टा उल्टै भत्काइए पछि त्यसको भारतीय चलचित्रकर्मीले निन्दा गरेका छन् । उनीहरूले यो घटनाको कडा टिप्पणी गरेका छन् । अनुपमाको नामले परिचित भारतीय टेली चलचित्रकर्मी अभिनेत्री रूपाली गांगुलीले सामाजिक सञ्जालमा आफ्नो आक्रोश पोख्दै आफ्नो आस्थाका धरोहर सत्यजीत रेको घर भत्काएकोमा आपत्ति जनाएकी छिन् ।
अभिनेत्री गांगुलीले ट्वीट गर्दै यो कार्य लज्जास्पद र अक्षम्य भएको बताएकी छिन् । उनले लेखेकी छिन्,‘बंगलादेशले भारतरत्न सत्यजित रेको पुख्र्यौली घर भत्कायो। यो केवल तोडफोड मात्र थिएन, यो एउटा सन्देश थियो । उनीहरू कलासँग डराउँछन् र सम्पदा मेटाउन चाहन्छन् ।’
भारतको कलकत्ता स्थित बंगला चलचित्र उद्योगका चलचित्रकर्मीहरूले समेत अहिले यो कार्यको सामूहिक विरोध गरेका छन् । भत्काएको ठाउँमा सत्यजीतको घर जस्ताको तस्तै बनाउनु पर्छ भनेर उनीहरूले माग गरेका छन् ।
भारतीय चलचित्र जगतका महान् निर्माता निर्देशक सत्यजित रेको पुर्खाको घर बंगलादेशको मयमनसिंहमा थियो, जहाँ उनका हजुरबुबा उपेन्द्र किशोर रे चौधरी बस्थे । उपेन्द्र किशोर राय चौधरी बंगाल साहित्यमा लोकप्रिय नाम हो । आफ्ना हजुरवुवासँग सत्यजीतले पनि त्यो घरमा धेरै समय बिताएका थिए । हजुर बुबाको संगतले उनले सो घरमा बसेर धेरै वटा साहित्य तथा चलचित्रको स्कृप्ट लेखेका थिए । पछि सत्यजीत रे बंगलादेश छाडेर भारतको कोलकात्तामा चलचित्र निर्माण निर्देशनमा व्यस्त भएपछि उनी यतै रमाउन थाले । सत्यजीतको निधन पछि सो घरको रेखदेख गर्न उनका आफन्तलाई गाह्रो भएको थियो ।
त्यो हवेली शैलीको घरलाई बंगलादेश सरकारले संरक्षण नगरेकै कारण यो घर जीर्ण अवस्थामा पुगेको थियो । त्यो घर हेर्न जानेहरूले स्थानीय सरकारसँग संरक्षणको लागि अनुरोध पनि गरेका थिए । तर स्थानीय सरकारले बेबस्ता गरेपछि घर जीर्ण भएर भत्किन थालेको थियो । त्यसपछि स्थानीय सरकारले त्यो घर भत्काएको छ ।
सो घर भत्काएपछि भारतको विदेश मन्त्रालयले पनि आपत्ति जनाएको छ । घर भत्काएकोमा भारतबाट विरोधसँगै विभिन्न सुझावहरू आएपछि, बंगलादेशका अधिकारीहरूले सुरक्षा जोखिमलाई मध्यनजर राख्दै जीर्ण घरलाई भत्काउनु परेको बताएका छन् ।
अहिले सो घर पहिलाकै स्वरूपमा निर्माण हुनु पर्ने र त्यसलाई चलचित्र, साहित्य एवम् सांस्कृतिक गतिविधिहरूको केन्द्र बनाउनु पर्ने सुझाव धेरैले स्थानीय सरकारलाई दिएका छन् । किनकि यो घर चलचित्र निर्देशक सत्यजीतसँगै बंगलादेशका साहित्यकार उपेन्द्र किशोर राय चौधरीको पनि भएको टिप्पणी धेरैले गरेका छन् । यस्तो विरोध आएपछि बंगलादेशका पदाधिकारीहरूले त्यो भवनलाई नयाँ रूपमा निर्माण गर्न बजेट माग गर्ने आश्वासन दिएका छन् ।






