तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ का हरिबहादुर विक अहिले ५१ वर्ष पुगे । एक समय थियो, जब उनको दिन ल्वाङ, सुपारी, सुकुमेल बेचेरै चल्थ्यो । दैनिक ५–७ हजार रुपैयाँको व्यापार हुन्थ्यो, १ हजार ५ सय रुपैयाँजति मुनाफा हुन्थ्यो । खाइलाग्दो जीउडाल । खुसी परिवार । कमाइधमाइ पनि ठीकै । हाँस्दैखेल्दै दिनहरू बित्दै थिए । सपनाहरू सामान्य थिए ।
ऐलानी जमिनमा पक्की घर हाल्ने, छोराछोरीलाई राम्रोसँग पढाउने र जागिर लगाउने उनको योजना थियो । तर, समयले उनको जीवनलाई यति कठोर मोडमा पु¥यायो कि जहाँ सपना होइन, अहिले बाँच्नु नै उपलब्धि बन्न पुगेको छ ।
झन्डै ३ वर्षअघि घरमै नुहाउँदै थिए, उनी । अचानक रक्तचापको तीव्र आक्रमणले शरीरको दायाँ भाग पक्षाघात बनायो । त्यसपछि दायाँ हात, दायाँ खुट्टाले काम गर्न छाड्यो । मुख बाङ्गियो ।
शारीरिक अस्वस्थताका कारण हरिबहादुरका कठिनका दिन सुरु भए । हरिबहादुर आफू त ढले तर घरपरिवारको धुरी खाँबो भाँचियो । अपसोच † समयको बेगले उनलाई शारीरिक रूपमा अस्वस्थताको अन्तिम विन्दुमा पु¥यायो । सुरुमा दाङको तुलसीपुर, त्यसपछि नेपालगन्जसम्म लगेर उपचार गरियो । ऋण र दुःखजिलो गरेर संकलन भएको ७ लाख रुपैयाँ सकियो तर शरीर भने पहिलाको जस्तो अवस्थामा फर्किएन । काम गर्नसक्ने अवस्था रहेन ।
उनको शरीर एकाएक अशक्त भयो । धेरै महिनासम्म घरमै थलिएका विकलाई कसैले तुलसीपुरको बाहिनी चोकनजिकै रहेको सेराजिएममा निःशुल्क थेरापी गर्न पाइने सल्लाह दिए । उनका लागि त्यो आशाको किरणझैं थियो । २ वर्षसम्म धैर्यपूर्वक घण्टौं लाइनमा बसेर थेरापी लिए । शारीरिक रूपमा केही राहत मिल्दै गयो तर त्यसको सट्टामा उपचार केन्द्रबाट सामान किन्न दबाब पनि दिन थालियो ।
‘किन्छु, अहिले पैसा छैन’ भन्दा भन्दै १ वर्ष बित्यो । तर, संस्थाले दैनिकजसो सामान किन्ने दबाब दिँदै जान थाल्यो । झन्डै डेढ लाखदेखि साढे ३ लाख रुपैयाँसम्मका सामान किन्ने सिफारिस आयो । हरिबहादुरका लागि त्यो सपना मात्रै थियो । पैसा त औषधि किन्नै मुस्किल छ, महँगो सामान कसरी किन्नु ? सपना चकनाचुर भइरहँदा उपचार केन्द्रको सेवा छाडेर घरमै बस्नुप¥यो । छोराले पढाइ छोडेर बाबुले गरिरहेको सुकुमेलको साइड व्यापार सम्हाल्न थाले । पहिलेको जस्तो व्यापार चलेन । जेनचेत महिनाको ८–१० हजार रुपैयाँ छोराको कमाइ हुन्छ । त्यसैमा घर व्यवहार र औषधि खर्च गर्नुपर्ने बाध्यता छ ।
थेरापी छोडेर घरमै बस्न थालेपछि हरिबहादुरको शरीर झन् शिथिल हुन थाल्यो । शरीर कटकटी खान थाल्यो । खपिनसक्नुको पीडा हुन थालेपछि थप उपचार खोज्दै हरिबहादुर बिजौरीसम्म पुगे, तर दैनिक गाडी भाडा पनि भारी पर्न थाल्यो । पछि, तुलसीपुर नजिकैको दोघरेस्थित राप्ती आयुर्वेद चिकित्सालयमा फिजियो थेरापी, पञ्चकर्म, स्वेदनजस्ता उपचार सेवा भएको जानकारी पाएपछि उनको उपचार फेरि सुरु भयो । ‘पहिलेको तुलनामा निकै आराम पाएको छु, अझै बेलाबेला दुखाइ हुन्छ तर यहाँ आएपछि धेरै सहज भएको छ, मुख पनि पहिलाको भन्दा अलि सोझो भएको छ,’ हरिबहादुरले भने, ‘सुरुमा लठी टेक्दै सहयोगीका भरमा थेरापी गर्न आउँथें, अहिले त आफैं आएर थेरापी गरेर फर्किन्छु ।’
उनले मंसिर महिनादेखि थेरापी गर्दै आएका छन् । हाल उनलाई सुगर, प्रेसर र कोलेस्टेरोलको समस्या छ । नुहाउने, लुगा फेर्ने, भान्सामा काम गर्नसक्ने अवस्था छैन । उनलाई श्रीमतीले सघाउँदै आएकी छन् । उनले हाल तुलसीपुर उपमहानगरपालिकाबाट मासिक २ हजार रुपैयाँ अपांग भत्ता पनि पाएका छन्, जुन औषधि खर्चमा थोरै राहत त बनिरहेको छ, तर पर्याप्त भने होइन ।
राप्ती आयुर्वेद दीर्घरोगीहरूको आश्रयस्थल
राप्ती आयुर्वेद चिकित्सालय अहिले थुप्रै यस्ता आर्थिक अवस्था कमजोर भएका र दीर्घरोगी बिरामीहरूको आश्रयस्थल बनेको छ । थेरापी, पञ्चकर्म, स्वेदन, स्टिम बाफ लिनका लागि मात्रै यहाँ दैनिक ९–१० जना बिरामी उपचारका लागि आउने गरेका छन् । फिजियोथेरापिस्ट सहायक सुनिता रायमाझी न्यौपानेका अनुसार सेवा सुरु भएको छोटो समयमै तुलसीपुर र नजिकैका पालिकाबाट पनि थुप्रै बिरामी आउन थालेका छन् ।
‘जटिल रोग लिएर आउने धेरै बिरामी आर्थिक रूपमा कमजोर हुन्छन्, गरिब तथा विपन्नलाई पञ्चकर्म र थेरापी सेवा निःशुल्क रूपमा दिँदा ठूलो राहत मिलिरहेको छ, करिब ४ सय जनाले थेरापी सेवा लिइसक्नुभएको छ,’ फिजियोथेराफिस्ट सहायक न्यौपानेले भनिन्, ‘दीर्घरोगीहरूले भने नियमित रूपमा लिइरहनुभएको छ, नियमित थेरापीको सेवा लिने बिरामी अहिले पाँच जना हुनुहुन्छ ।’ पञ्चकर्म सेवा मात्रै ३ हजार ८४ जनाले लिएका छन् ।
२० प्रतिशत बिरामीलाई थेरापीको आवश्यकता छ
तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक शाखाले अपांगता परिचयपत्र लिएकामध्ये २० प्रतिशतलाई थेरापीको आवश्यक पर्ने जनाएको छ । पालिकाबाट १ हजार ६ सय १२ जनाले अपांगता परिचयपत्र लिइसकेका छन् । जसमध्ये अधिकांश मस्तिष्क पक्षाघातबाट अपांगता भएका व्यक्तिहरू भएको शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिइन्
अहिले पनि गरिबी र आर्थिक अभावका कारण सयौं बिरामी ओछ्यानमै थला परेका छन् । जसलाई दैनिक थेरापीको आवश्यकता पर्छ ।
आयुर्वेद उपचारमा नागरिकको विश्वास बढ्दै
राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरले पछिल्लो समय नागरिकको विश्वास बढ्दै गएको बताएको छ । उपचार सेवा लिन आउने नागरिकको संख्या बढ्दैजाँदा चिकित्सालयलाई अस्पतालका रूपमा विकास गरेर सेवा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । भएको जनशक्तिलाई अधिकतम रूपमा उपयोग गरेर नागरिकलाई सेवा प्रवाह गरिरहेको बताउँदै राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डा. मदनकुमार बुढाथोकीले आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र व्यवस्थित प्रयोगशालाको पनि खाँचो रहेको बताए ।
आयुर्वेदमा एक जना चिकित्सक, वरिष्ठ कविराज, वैद्य निरीक्षक र कार्यालय सहयोगीसहित चार जनाको दरबन्दी रहेकामा हाल करारमा पञ्चकर्म चिकित्सक, ल्याब टेक्निसियन, फिजियोथेरापिस्ट सहायक र अभ्यंगकर्ता दुई जना रहेको डा. बुढाथोकीले बताए ।
केही वर्षयता उपचार लिन आउनेको संख्यामा वृद्धि भएको बताउँदै चिकित्सालयको स्तरवृद्धिका लागि सरोकारवाला निकाय सबैको भूमिका महत्व हुनुपर्ने डा. बुढाथोकीको भनाइ छ ।






