काठमाडौं । यो वर्षको गाईजात्रा पर्व नजिकिँदै छ । यही पर्वलाई लक्षित गरेर अहिलेबाटै विभिन्न गाईजात्रे कार्यक्रमको तयारीमा कलाकारहरू जुटिसकेका छन् । केही कलाकारले आफ्नो गाईजात्रे हास्य सामग्री श्रव्य दृश्यको रूपमा बजारमा ल्याइसकेका छन् । केही कलाकार भने आगामी गाईजात्रामा स्टेजमा प्रस्तुत गर्ने आफ्नो हास्य प्रधान कार्यक्रमको अभ्यासमा व्यस्त छन् ।
यसै क्रममा यो वर्षको गाईजात्रा केही हास्य कलाकारको समूहले काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य हलमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाउँदै छ । कलाकारहरूको अर्को समूहले यसपालिको गाईजात्रा राष्ट्रिय नाचघरमा सप्ताहव्यापी गाईजात्रे महोत्सव कार्यक्रम गरेर मनाउने बताएका छन् ।
प्रज्ञा भवनको हलमा हुने कार्यक्रमको नाम ‘८२ सालको गाईजात्रा’ राखिएको छ । यो कार्यक्रम हाललाई २३ साउनदेखि २७ साउनसम्म पाँच दिन राखिएको आयोजक पक्षले जनाएको छ । दर्शकको माग अनुसार कार्यक्रमको सोहरू थप्दै जाने योजना रहेको कलाकार मनोज गजुरेलले बताएका छन् । मनोजका अनुसार यो कार्यक्रममा आफ्नो प्रस्तुति दिने कलाकारहरूले अहिलेबाटै आफ्नो प्रहसन तथा अभिनयको तयारीमा जुटिसकेका छन् ।
मनोजका अनुसार ८२ सालको गाईजात्रामा यस पटक प्यारोडी तथा व्यंग्यप्रधान कविता पनि दर्शकहरूले सुन्न पाउने छन् । विगतको वर्ष जस्तै यस वर्ष पनि शैलेन्द्र सिम्खडाले समसामयिक विषयलाई समेटेर हास्य प्रधान कविताहरू कार्यक्रममा प्रस्तुत गर्ने भएका छन् । अर्का कवि नवराज पराजुलीले पनि यो गाईजात्रामा मार्मिक कविताहरू सुनाउने छन् ।

हास्य कलाकार मनोज गजुरेल स्वयम्ले आफ्नो टिमसँग करिब २० मिनटको प्रस्तुत दिँदै छन् । सोही प्रस्तुतिको तयारी अहिले देखि नै सुरु भएको पनि उनको कथन छ । विगत झैँ यसपटकको गाईजात्रा कार्यक्रम कसैले सो नै बुक गर्न चाहन्छ भने त्यो व्यवस्था पनि रहेको आयोजक पक्षले जनाएको छ । यसरी पुरै सो विक्री भएमा गाईजात्राको सो थप्ने पनि आयोजकको भनाई छ ।
८२ सालको गाईजात्रा समारोहमा मनोज गजुरेल र शैलेन्द्र सिम्खडा सहित डेढ दर्जन कलाकारहरूले आफ्नो प्रस्तुति दिने भएका छन् । यस्तै कमेडी कार्यक्रममा चर्चा कमाएका कलाकारहरू म्याक्सम गैडेल, प्रभात लामा, सुमन कार्की, सिता न्यौपानेलगायतको पनि प्रस्तुत यसपटक रहने छ ।
यस्तै काठमाडौँको जमल स्थित नाचघरमा हुने ‘‘गाईजात्रा महोत्सव २०८२’’ आगामी २४ देखि ३१ साउनसम्म आयोजना गरिने सांस्कृतिक संस्थानकी प्रशासन प्रमुख पवित्रा पंगेनीले राजधानीलाई जानकारी गराएकी छिन् । हाललाई यो कार्यक्रम आठ दिनको लागि तय गरिएको र सो बुक भएमा एकै दिनमा दुई वटा सो पनि गर्ने लक्ष्य आफूहरूको रहेको पनि उनले बताइन् ।
नाचघरको मुख्य हलमा हुने गाईजात्रा महोत्सव २०८२ मा नाचघरका कलाकारहरूले नृत्य एवम् गीत संगीत प्रस्तुत गर्ने छन् । महोत्सवमा अहिलेका युवा पुस्ताका हास्य कलाकारहरू दिनेश काफ्ले, कैलाश कार्की, भरतमणि पौडेल, सुमन कोइराला, हिमेस पन्त, खड्कबहादुर पुन (खबपु)सँगै अग्रज कलाकारहरू शिवशँकर रिजाल (जोगिन्दर), सुरेन्द्र केसी (मुलाको साग)लगायतको प्रस्तुति रहने छ । यी कलाकारहरूले आफ्नो प्रस्तुतिको तयारी सुरु गरिसकेको पनि प्रशासन प्रमुख पंगेनीले जानकारी गराइन् ।






