गायिका एलिना चौहानले केही समयअघि पूर्वपति विष्णु सापकोटाबाट भोग्नुपरेका घरेलु हिंसाका तस्बिर सार्वजनिक गरिन् । ‘सामाजिक सञ्जालमा निरन्तर आफूलाई दोषी करार गर्दै अभियान चलाइएको र वास्तविकताका लागि आफूले मौनता तोड्नुपरेको’ बताउँदै चौहानले घरेलु हिंसाविरुद्ध आमरूपमा ‘विद्रोह’ आह्वान गरेकी छन् । उनले ‘मौनताले थप हिंसा पीडित गराउने निष्कर्ष’सँगै सामाजिक सञ्जालमा आफूविरुद्ध ‘हेट स्पिच’ दिनेका नामसमेत सार्वजनिक गरिदिएर हिंसा पीडक मात्र नभएर पीडकका मतियार र प्रोत्साहनकर्ता पनि आमरूपमा चिनाइदिने अभियान चलाइन् । सामाजिक सञ्जालमा ‘हेट स्पिच’विरुद्ध अभिनेत्री तथा सामाजिक क्षेत्रका अगुवाले समेत अभियान चलाइरहेका छन् । यसले ‘मौनता तोड्न’ आमरूपमा एउटा सन्देश प्रवाह गरेको छ ।
घरेलु हिंसा अत्यन्त थोरै मात्र बाहिर आउने गर्छ । इज्जत जाने डरले वा घरपरिवार बिग्रने डरले धेरै घरेलु हिंसाहरू घरका झ्यालढोकाभित्रै थुनिएका छन् । हिंसा सधैं चिच्याएर वा शरीरमा देखिने चोटपटकमार्फत मात्र प्रकट हुँदैन । यो प्रायः शान्त र अदृश्य रूपमा घरको बन्द ढोकाभित्र लुकेको हुन्छ । जहाँ कसैलाई बोल्न दिइँदैन, आत्मीयता र स्वतन्त्रता खोसिन्छ, मनपर्ने कुरा गर्न रोकिन्छ, साथीभाइ र आफन्तबाट टाढा पारिन्छ र डरभित्र जीवन बिताउन बाध्य बनाइन्छ । हिंसाको यस्तो मौन रूप अझै धेरै नेपाली घरका भित्ताभित्र बजिरहेको छ । जहाँ पीडित चुपचाप सहन्छन् र समाज चुपचाप हेर्छ ।
नेपालमा घरेलु हिंसा ‘सामान्य र स्वाभाविक रीत हो’ भन्ने हिसाबले अपनाइने गरिएको गहिरो सामाजिक समस्या हो । यो केवल केही व्यक्तिको निजी समस्या नभएर लाखौं मानिसको जीवनमा प्रभाव पार्ने सामूहिक संकट हो । यो हिंसा गाउँ वा सहर, धनी वा गरिब, शिक्षित वा अशिक्षित कुनै सीमामा बाँधिएको छैन । यसको असर केवल शरीरमा होइन, आत्मामा, भावनामा, आत्मसम्मानमा र भविष्यमा पनि गहिरो घाउ बनाइदिन्छ ।
कसरी हुन्छ घरेलु हिंसा ?
गायिका एलिनाकै शब्दहरू सम्झने हो भने पनि प्रेम हुँदादेखि विवाहको लामो समयसम्म श्रीमान्बाट हुने गरेका व्यवहार यथार्थमा हिंसा हो । जिस्किएजसरी नजानिँदो शैलीमा भएका यस्ता हिंसा पीडितले निर्मम समीक्षा गरेपछि मात्रै महसुस गर्न सक्दारहेछन् । आत्मनिर्भर जीवन बिताउन सक्नेले मात्रै यसलाई महसुस गर्न, अभिव्यक्त गर्न र विद्रोह गर्नसक्ने रहेछन् भन्ने तथ्य प्रमाणित भएको छ । घरेलु हिंसा अनेकौं रूपमा देखिन्छ ।
कहिलेकाही“ प्रत्यक्ष शारीरिक आक्रमणका रूपमा कुटपिट, धकेल्ने वा गम्भीर दुव्र्यवहारका रूपमा भेटिन्छन् । तर प्रायः यो धेरै सूक्ष्म, तर गम्भीर रूपमा प्रस्तुत हुन्छन्, जसले मानसिक, यौनिक, भावनात्मक, आर्थिक र सामाजिक हिंसाका रूपमा लामो समयसम्म असर गरिरहन्छन् । जस्तै– बाहिर काम गर्न नपाउनु, महिनावारी हुँदा अपमान गर्नु, सम्पत्तिमा अधिकार नपाउनु, बच्चा देखाएर धम्क्याउनु वा सामाजिक सम्बन्ध तोड्न बाध्य पारिनु । यी सबै घरेलु हिंसाका रूप हुन् ।
अपराध संरक्षक र प्रेरक
नेपालमा धेरै महिला ‘बाल्यकालदेखि नै हिंसा सहनुपर्छ’ भन्ने सिकाइबाट हुर्कन्छन् । उनीहरूलाई सिकाइन्छ, ‘घरको कुरा बाहिर ल्याउनु–लैजानु हुँदैन, पति भनेका भगवान् हुन्, जे गर्छन्, भाग्यको खेल सम्झेर सहनुपर्छ ।’ यस्तै सोचले उनीहरूलाई पीडामा पनि मौन बस्न बाध्य बनाउँछ । यस्ता सोचले हिंसालाई जायज बनाउँछ र पीडितलाई नै उल्टै अपराधीझैं व्यवहार गरिन्छ । जब पीडित आवाज उठाउँछन्, उनीहरूलाई नै दोष लगाउने प्रवृत्तिले समाजमा मौनताको संस्कृति गाढा बनाउँछ । यस्तो व्यवहार खासमा पीडकको संरक्षक र प्रेरक बन्न जान्छ ।
उदाहरणका लागि दाङकी एक महिलाले १० वर्षसम्म पतिको हिंसा सहिन् । परिवारले ‘छोरीले सहनैपर्छ’ भने । समाजले ‘घरको इज्जत’को नाममा उनलाई चुप लाग्न बाध्य बनायो । उनी बल्ल तब बोल्न सकिन्, जब आफ्नी छोरीमाथि पनि त्यही व्यवहार दोहोरिएको देखिन् । यस्तै, सिन्धुपाल्चोककी एक किशोरीलाई जबर्जस्ती विवाह गराइयो । विवाहपछि उनले शिक्षा गुमाइन् र पतिको मानसिक तथा शारीरिक हिंसा सहन बाध्य भइन् । दाङ र सिन्धुपाल्चोक मात्रै होइन, काठमाडौं, पोखरा वा यस्तै सहरी क्षेत्रमा पनि शिक्षित महिलासमेत सामाजिक प्रतिष्ठा गुम्ने डरले हिंसा’bout बोल्न सक्दैनन् ।
नेपालमा घरेलु हिंसा ‘सामान्य र स्वाभाविक रीत हो’ भन्ने हिसाबले अपनाइने गरिएको गहिरो सामाजिक समस्या हो । केवल केही व्यक्तिको निजी समस्या नभएर सामूहिक संकट हो । यो हिंसा गाउँ वा सहर, धनी वा गरिब, शिक्षित वा अशिक्षित कुनै सीमामा बाँधिएको छैन
साहसको पहिलो पाइला
मौनता तोड्नु केवल बोल्नु होइन । यो न्यायको पहिलो कदम हो । जब एक जना महिला बोल्न थाल्छिन्, अरूलाई पनि हिम्मत मिल्छ । मौनता तोड्नु भनेको डरको झ्याल खोल्नु हो । जहाँ पीडितलाई आफ्नो जीवन फिर्ता लिन मद्दत मिल्छ र समाजले आफ्नो आँखा खोल्न थाल्छ । ’cause, मौनता नै हिंसालाई लुकाउने सबैभन्दा ठूलो हतियार हो ।
समाधान के हो ?
नेपालमा घरेलु हिंसा अन्त्य गर्न केवल कानुन बनाउँदा पुग्दैन । यसको समाधान बहुआयामिक र सामाजिक सहकार्यमा आधारित हुनुपर्छ ।
कानुनी सहायता र कार्यान्वयन
सरकारले बनाएका घरेलु हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्छ । पीडितलाई निःशुल्क कानुनी सहायता, मनोपरामर्श, सुरक्षित आश्रय र आपत्कालीन सेवा सजिलै उपलब्ध हुनुपर्छ ।
शिक्षा र चेतना
स्कुलदेखि समुदायसम्म लैंगिक समानता, आत्मसम्मान र अहिंसाको शिक्षा दिइनुपर्छ । हिंसालाई सामान्य मान्ने मानसिकता अन्त्य गर्न जनचेतना अभियान चलाइनुपर्छ ।
संरचना र पहुँच
प्रत्येक जिल्लामा सुरक्षित घर, महिला सहायता केन्द्र, बालबालिकाको संरक्षण र आर्थिक आत्मनिर्भरता कार्यक्रम विस्तार गरिनुपर्छ ।
सामाजिक समर्थन
पीडितलाई दोष दिने होइन, सुन्ने र समर्थन गर्ने वातावरण बनाइनुपर्छ । परिवार, छिमेकी, शिक्षक, प्रहरी सबैले संवेदनशील र सहानुभूतिसाथ व्यवहार गर्नुपर्छ । अहिले सामाजिक सञ्जाल र भौतिक रूपमै जुट्न सम्भव महिला तथा युवा संगठित भएर मौनता तोडौं भन्ने अभियान चलाइरहेका छन् । रूपन्देही, झापा, दाङ, काठमाडौंदेखि सुदूरपश्चिमसम्म नेपालका थुप्रै ठाउँमा महिला समूह, युवा अभियान र सामाजिक संस्थाले अब यो आवाज बुलन्द गर्दै छन् । यस्ता प्रयास अझ मजबुत बनाउन सरकार, समाज र नागरिकको साझा उत्तरदायिŒव आवश्यक छ ।
हिंसाविरुद्ध बोल्नु मानवताको पक्षधरता
हिंसाविरुद्ध बोल्नु र त्यस बोलीको पक्षमा उभिनु मानवताको पक्षधरता लिनु हो । यो एउटा कोही अमूक व्यक्तिको पक्षमा उभिएको नभई सिंगै मानवजातिको हितका पक्षमा उभिनु हो । मानवभित्र मानवता खोजी र न्यायको पक्षमा उभिनु हो । यदि, तपाईं आफैं वा तपाईंले चिनेको कोही घरेलु हिंसाबाट पीडित हुनुहुन्छ भने कृपया सहायता खोज्नुहोस् । उनलाई मौनताको अवस्थाबाट बोल्न र न्यायको ढोका घच्घच्याउन सिकाउनुहोस्, सघाउनुहोस् । कानुनी व्यवस्था विषयमा सचेतना फैलाउनुहोस् ।
११४५ मा फोन गरेर महिला हेल्पलाइनबाट गोप्य र निःशुल्क सेवा लिन सकिन्छ भन्ने सन्देश मात्रै आममहिलासम्म पु¥याउन सकियो भने यस संघर्षमा केही पाइला एकैपटक चालेको अनुभूति गर्न सकिन्छ ।
राष्ट्रिय महिला आयोगले संवैधानिक निकायका रूपमा र कानुनी निकायका रूपमा ओरेक नेपाल, साथीजस्ता संस्थाले कानुनी र मनोपरामर्श सहायताजस्ता अभियान सञ्चालन गरिरहेका छन् । यस्ता अभियानलाई पनि साथ दिने र सहकार्य गर्ने अभियान सञ्चालन गर्न जरुरी छ ।
यो लडाइँ केवल पीडितको होइन । यो हामी सबैको हो । हामी सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्छ, साथ दिनुपर्छ र एउटा यस्तो नेपाल निर्माण गर्नुपर्छ, जहाँ कोही पनि मौन पीडामा बाँच्छ भनेर डराउनु नपरोस् । मौनता तोड्नु न्यायको प्रारम्भ हो । घरेलु हिंसाविरुद्ध बोल्नु केवल जीवन जोगाउनु होइन, मानवता जोगाउनु हो र एउटा साझा संकल्प गरौं, ‘बोलौं, सुनौं र बदलौं ।’






