मुम्बई । बच्चन परिवारका व्यक्तिगत सम्बन्धहरू दिनहुँ समाचारको शीर्षकमा आइरहने गरेका छन् । लामो समयदेखि अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो श्रीमान् र घर छाडेर छोडेर आमासँग माइतमा बस्दै आएकी छिन् । पछिल्लो समय अभिषेक र ऐश्वर्याबिच भेटघाट हुन थालेको छ । तर अझै ऐश्वर्याले सासू जया बच्चनसँग सम्झौता गर्न सकेकी छैनन् ।
यसैबिच ऐश्वर्या र जयाको एउटा पुरानो भिडियो यति बेला भाइरल भइरहेको छ । त्यो भिडियो अहिलेको दर्शकका लागि निकै भावनात्मक बनेको छ । फिल्म फेयर अवार्डको एक समारोहमा त्यो भिडियो खिचिएको थियो । भिडियोको अत्यन्तै भावनात्मक क्लिप अहिले भाइरल भएको हो ।
त्यो भिडियोमा जया बच्चनले आफ्नी बुहारी ऐश्वर्या राय बच्चनलाई हार्दिक स्वागत गरेकी छिन् । आफ्नी सासू जया बच्चनको हृदयस्पर्शी शब्दहरूसँगै सम्मान एवम् स्वागतले ऐश्वर्याको आँखा रसाएको यो भिडियोमा देख्न पाइएको छ । जसमा अमिताभ बच्चन मुस्कुराउँदै यो विशेष क्षण हेरिरहेको भिडियोमा देखिन्छ । यो भिडियो भाइरल भएपछि धेरैले ऐश्वर्या आफ्नो घर फर्किएको अनुमान गरे । तर जया बच्चनले बुहारी अझै घर नफर्किएको र त्यो पुरानो भिडियो भएको स्पष्ट पारेकी छिन् ।
यस भिडियोमा देखाइएको दृश्य अनुसार जया बच्चनले स्टेजमा पुरस्कार ग्रहण गरिरहेकी थिइन् । सोही क्रममा उनले भनिन्, ‘म एक प्यारी, अद्भुत साक्षात् लक्ष्मीको सासू बनेकी छु । उनको मूल्य मान्यता, मर्यादा, मुस्कान साँचै सुन्दर छ, म उनलाई मेरो परिवारमा स्वागत गर्न पाउँदा खुसी छु र बुहारी म तिमीलाई अति माया गर्छु ।’
कार्यक्रममा सासू जयाबाट यी शब्दहरू सुनेपछि ऐश्वर्याले आफ्ना आँसु थाम्न सकेकी थिइनन् । उनको आँखा रसाएको दृश्य पनि त्यति बेला क्यामेरामा कैद गरिएको थियो । यति बेला भाइरल भएको यो भिडियोको त्यो क्षण दर्शकहरूका साथै बच्चन परिवारका लागि पनि धेरै विशेष र भावनात्मक बनेको देखिन्छ । किनकि यो भिडियो हेर्दा जया बच्चनले अहिले पनि आफू भावुक हुने गरेको बताएकी छिन् ।
यो भिडियो भाइरल भएपछि यति बेला दर्शकले ऐश्वर्या रायकी आमाजू श्वेता नन्दनको विभिन्न टिका टिप्पणी गरेका छन् । श्वेताकै कारण बच्चन परिवारमाथि नराम्रो असर परेको र ऐश्वर्याले घर छाड्नु परेको जस्ता विभिन्न टिप्पणीहरू भिडियोमा आएको छ ।
एक दर्शकले भिडियो हेरेपछि भिडियोको मुनी यस्तो कमेन्ट लेखेका छन्, ‘श्वेताले ऐश्वर्याको लागि सबै कुरा बरबाद गरिन्’, अर्का प्रयोगकर्ताको यस्तो टिप्पणी छ, ‘यो घरलाई श्वेता बच्चनले भत्काएकी हुन्’, यस्तै तेस्रो प्रयोगकर्ताले लेखेका छन्, ‘यो श्वेता नन्दनको ईष्र्या हो, जसले बच्चन परिवारको सुन्दरतालाई तितो बनायो’।
भिडियोमा जया बच्चनको पनि प्रशंसा गरिएको छ । ऐश्वर्याको त दर्शकले हदैसम्म तारिफ गरेका छन् । जया बच्चनले ऐश्वर्या राय प्रति गरेको सम्मानका कारण जयालाई दर्शकले सासू नभएर एउटा आमाको रूपमा प्रशंसा गरेका छन् ।
एक पटक ‘कफी विथ करण’ कार्यक्रममा जया बच्चनलाई करण जौहरले सोधेका थिए, ‘के ऐश्वर्या बच्चन परिवारको लागि उपयुक्त छिन?’
यसमा जयाले मनदेखि ऐश्वर्या प्रति आभार प्रकट गर्दै यस्तो जवाफ दिएकी थिइन्, ‘मलाई त्यस्तै लाग्छ, किनकि उनी आफैँमा एक ठुलो स्टार हुन्, तर जब हामी सबै सँगै हुन्छौँ, उनी सधैँ शान्त रहन्छिन्। उनी कहिल्यै आफूलाई सबैभन्दा अगाडि राख्दिनन्, बरु सबैको कुरा ध्यानपूर्वक सुन्छिन् र परिवारको साह्रै राम्रो हेरचाहका साथै सबैको राम्रो इज्जत गर्छिन् ।’
जयले अगाडि भनेकी थिइन,‘मलाई ऐश्वर्याको हरेक कुरा मन पर्छ । किनकि उनी परिवारसँग मात्र होइन, हाम्रा साथीभाइ र नजिकका व्यक्तिहरूसँग पनि राम्रोसँग घुलमिल हुन्छिन् र उनीसँग आत्मसम्मान गर्छिन् ।’
ऐश्वर्या राय र अभिषेक बच्चनले सन् २००७ मा विवाह गरेका थिए । यी जोडीको एउटी छोरी पनि छिन् । उनीहरूको जोडीलाई बलिउडको सबैभन्दा सुन्दर जोडीको उपमा हेर्ने गरिन्थ्यो । आफ्ना आमाजू श्वेतासँग मतभेद र झगडा भएपछि घर छाडेर माइत गएकी ऐश्वर्या अझै घर फर्केकी छैनन् ।






