मुम्बई । स्वदेशी बक्स अफिसमा दुई बलिउड चलचित्र ‘सन अफ सरदार २’ र ‘धडक २’ एक साथ रिलिज भए । विगत तीन सातादेखि प्रदर्शन भइरहेको बलिउड चलचित्र ‘सैयारा’का कारण यति बेला रिलिज भएका यी दुई बलिउड चलचित्रको व्यापार सोचे अनुसारको छैन ।
दुई दिनको बक्स अफिस रिपोर्ट हेर्दा यी दुई चलचित्रबिच राम्रो प्रतिस्पर्धा देखिन्छ । ‘सन अफ सरदार २’ मा अजय देवगन, रवि किसन, मृणाल ठाकुर, सञ्जय मिश्राको मुख्य भूमिका रहेको छ । ट्रेड एनालिस्ट स्याक्निल्कको रिपोर्ट अनुसार, अजय देवगनको ‘सन अफ सरदार २’ ले दोस्रो दिन शनिबार ७.५० करोडको व्यापार गरेको छ । यो कमाईसँगै यसको दुई दिनको व्यापार भारतमा १४.७५ करोड पुगेको छ । यो चलचित्रले पहिलो दिन ७.२५करोडको व्यापार गरेको थियो ।
‘सन अफ सरदार २’ सँगसँगै रिलिज भएको चलचित्र ‘धडक २’ को व्यापार त झनै नाजुक छ । ‘धडक’ सुपर हिट भएपछि यसको सिक्वेलको रुपमा ‘धडक २’ निर्माण गरिएको हो । सिद्धान्त चतुर्वेदी र तृप्ति डिमरीको यो मुख्य भूमिका रहेको यो चलचित्रले दोस्रो दिनमा ३.७५ करोडको व्यापार गरेको छ । यो चलचित्रले दुई दिनमा ७.२५ करोडको मात्र व्यापार गरेको छ । ‘सन अफ सरदार २’को तुलनामा ‘धडक २’को व्यापार आधा नै कम छ । तथापि यी दुबै चलचित्रको व्यापारलाई राम्रो मानिएको छैन ।






