काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउन कारण प्रत्यक्ष मारमा परेकाहरुको सहयोगमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवर सक्रिय छन् । लकडाउन लागू भएपछि नै दैनिक ज्यालादारी गरी गुजारा चलाउदै आएका मज्दुर, आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्गका परिवारलगायतलाई निजी खर्चमा राहत स्वरुप खाद्यान्न वितरण गर्ने कार्यमा सदस्य कुँवर अघि सरेका छन् ।
बिहीबार सदस्य कुँवरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १ सय १० परिवारलाई राहत वितरण गरे । उनले आवश्यक परे आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । ‘विश्वव्यापी यो असहज स्थितिको चाँदै अन्त्य होस् भन्ने कामना गर्न चाहन्छु । कसैले पनि यस्तो स्थितिको सामना गर्नु नपरोस् । तर, परि आएको खण्डमा सक्दो सहयोग गर्न पछि हट्दिन’– सदस्य कुँवरले भने ।
उनले यसअघि कीर्तिपुरका दृष्टिविहीन, काठमाडौंका विभिन्न मठ मन्दिरका साधु सन्त, विरामी कुरुवा, मजदुर, अपाङ, सरसफाइमा खटिएका कर्मचारी, भारतीय मजदुर, विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । अध्ययनका लागि काठमाडौंमा रहेका सुदूरपश्चिम प्रदेशका कैयौं विद्यार्थीलाई उनले राहत उपलब्ध गराए ।






