भोजपुर भुल्केमा ‘एक घर एक टनेल’ कार्यक्रम प्रभावकारी बन्दै

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ भुल्केमा ‘एक घर एक टनेल’कार्यक्रम प्रभावकारी बनेको छ । किसानलाई व्यावसायिक तरकारी खेतीमा जोड्न गाउँपालिकाले‘एक घर एक प्लाष्टिक टनेल’ कार्यक्रम सञ्चालन गरेको हो ।

गत आर्थिक वर्षमा गाउँपालिकाको ‘नेपाल जलवायु अनुकुलन कार्यक्रम’मार्फत दश लाख र वडाले तीन लाख ५० हजार बजेट विनियोजन गरेर किसानलाई टनेल वितरण गरेको रामप्रसादराई ३ भुल्केका वडाध्यक्ष रामु थापामगरले बताए ।

किसानको ५० प्रतिशत लागत साझेदारीमा प्लाष्टिक टनेलसहित अन्य कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष थापामगरले जानकारी दिए । किसानको मागको आधारमा पहिलो चरणमा वडाका एक सय २१ जना किसानलाई टनेल वितरण गरिएको उनको भनाइ छ ।

‘भुल्के क्षेत्रलाई तरकारीमा नमूना बनाउने लक्ष्यका साथ अघि बढेका छौँ’वडाध्यक्ष थापामगरले भने,‘यो वर्ष हामीले किसानको लागत साझेदारीमा कृषि सामग्री वितरण गरेका छौँ । तरकारीको लागि उपयुक्त भूगोल रहेकाले यसको खेतीमा जोड दिएका हौँ ।’ किसानलाई कम्तीमा पनि तीन वर्षसम्म अनिवार्य खेती गर्ने सर्तसहित टनेल वितरण गरिएको वडाध्यक्ष थापामगरले बताए ।

प्लाष्टिक टनेलसहित थोपा सिंचाई, मल्चिङ प्लाष्टिक,पाइप, किरा मार्ने पासो र आवश्यक बीउविजन पाएको स्थानीय कृषक सीताराम मगरले बताए । गाउँपालिका तथा वडाले गरेको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न प्रोत्साहन मिलेको उनको भनाइ छ । प्लाष्टिक टनेलसहित आवश्यक बीउविजन र कृषि सामग्री पाएकाले खेती गर्न सहज भएको उनले बताए ।

‘परम्परागत रुपमा तरकारी खेती गर्दै आएको थिए’ उनले भने,‘कसरी व्यावसायिक बन्ने भन्ने सोचमा थिए । अहिले गाउँपालिकाबाट खेती गर्ने प्राविधिको जानकारीसँगै आवश्यक कृषि सामग्री पाउँदा ज्यादै खुसी लागेको छ ।’

विगतका दिनबाटै व्यावसायिक रुपमा तरकारी खेती गरिरहेको अवस्थामा गाउँपालिकाले गरेको सहयोगले थप टेवा पुगेको स्थानीय किसान देवीप्रसाद भट्टराईले बताए । अन्य बालीको तुलनामा प्रविधियुक्त तरकारी खेतीबाट छ गुणा बढीसम्म आम्दानी लिएको उनको भनाइ छ ।

किसानलाई प्रविधिमैत्री जैविक खेती प्रणालीमा जोड्न भुल्केमा ‘एक घर एक प्लाष्टिक टनेल’को कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए ।

‘हाम्रो देश कृषि प्रदान देश हो’अध्यक्ष राईले भने,‘अधिकांश किसानको मुख्य आम्दानीको स्रोत नै कृषि छ । खेती प्रणालीलाई व्यावस्थितसँगै आयमूलक बनाउन विभिन्न कार्यक्रम गरिरहेका छौँ । किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणको लागि कृषि एम्बुलेन्स खरिद गरेका छौँ ।’

गाउँपालिकालाई तरकारीको ‘हव’ बनाउने लक्ष्यका साथ ‘कृषि गुरुयोजना’ बनाएर कृषिमा लगानी गरिरहेको अध्यक्ष राईले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ