पोखरा । लोक तथा दोहोरीगायक घनश्याम रिजाललाई मातृशोक परेको छ । बाबु गुमाएको एक महिनामै रिजाल परिवारमा चोटमाथि बज्रचोट पर्न गएको हो ।
उनकी आमा तोपकान्ति रिजालको ७० वर्षको उमेरमा हृदयघातका कारण बिहीबार निधन भएको हो । आफ्नै निवास स्याङ्जाको वालिङ नगरपालिका वडा ४, केराबारीमा बिहीबार बिहान नुहाउने क्रममा एक्कासी हृदयघात भएपछि उनलाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल, पोखरा ल्याइएकोमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएको छ ।
स्व. तोपकान्ति रिजालको बिहीबार नै सेती नदीस्थित रामघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । गायक रिजालका बुवा खेमनारायण रिजालको ७८ वर्ष उमेरमा चैत २९ मा मात्र निधन भएको थियो ।
स्व. रिजाल दम्पतीका ३ छोरा र १ छोरी छन् । तेजप्रसाद, उमाकान्त र घनश्याम गरी ३ छोरा तथा तुलसी शर्मा छोरी छन् । गायक घनश्याम रिजाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान केन्द्रीय सदस्य हुन् । उनी प्रतिष्ठान स्याङ्जाका सल्लाहकार एवं स्याङ्जा स्रष्टा सदनका महासचिव छन् ।






