सङ्खुवासभामा साउन महिना वित्न सकिन लाग्दा सहज रूपमा धान रोपाइँ हुन नसकेको छैन । असार महिना विशेष गरी धान रोप्ने समय हो । माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तलभेगमा साउनको अन्तिम सातासम्म खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । भरपर्दो सिचाइँ सुविधा अभाव, पहाडी क्षेत्रमा भइरहेको खण्ड वृष्टिले अधिकांश किसानले राखेको बिउ अझै ब्याडमै रहेका छन् ।
सिँचाइ अभाव र समयमा पानी पर्याप्त नपर्दा हालसम्म ७० प्रतिशत मात्र धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाका प्रमुख छत्र विश्वकर्माले जानकारी दिनुभयो । जिल्लामा कुल ८ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । यस वर्ष समयमा पानी र सिँचाइ अभावले ७० प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ । समयमा धानको विउ राख्न नपाएको र धान रोप्ने समयमा समेत पानी पर्याप्त नपर्दा समयमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार ३१ हजार ६ सय हेक्टर खेती योग्य जमिन मध्ये ८ हजार चार सय ९२ हेक्टरमा धान खेती गरिन्छ । जिल्लाको माथिल्लो भेगमा रोपाइँ सकिए पनि तल्लो भेगमा रोपाइँ भर्खरै मात्र सुरु भएको छ । खेती लगाउने समय ढल्किन लाग्दा समेत प्राप्त मात्रमा रोपाइँको लागि पानी नपर्दा रोपाइँ प्रभावित बनेको हो । जिल्लाको तल्लो भेगहरुमा कतिपय ठाउँहरुमा भर्खरै मात्रै रोपाइ शुरु र केही ठाउँहरुमा आधा जति रोपाइ भइसकेको छ । तल्लो भेगका बेसीहरुमा भने रोपाइ भर्खरै मात्र सुरु भएको छ ।
जिल्लाको खाँदबारी नगरपालिका भित्रका सेकाहा, पाङ्मा, मरुवा, हेलुवाबेसी, चन्दनपुर, चेवाबेसी, कल्चेबेसी, पाङ्ठाबेसी, पिप्लेबेसी, माल्टाबेसी लगायतका ठाऊँहरुमा धानखेती गरिदै आएको छ । त्यसैगरि मादि र धूपू लगायतका स्थानहरु धान उत्पादन हुने क्षेत्रहरु हुन । त्यसका साथै मकालु गाउँपालिकाको हेदाङगना, पाँचखपन नगरपालिकाको वाना, होक्से र चैनपुर नगरपालिका भित्रका भण्डारीडाँडा लगायत आसपासका क्षेत्रहरुमा धेरै धान खेती गर्ने गरिन्छ ।






