काठमाडौं । धनगढी कराते डोजोका जगतसिंह धानुक र खोटाङ डोजोका रोस्मा राईले प्रथम राष्ट्रिय अनलाइन कराते काता प्रतियोगितामा स्वर्णपदक जितेका छन् । जगत पुरुषतर्फ तथा रोस्मा महिलातर्फ च्याम्पियन बन्न सफल भएको हो ।
शंखडोल डोजो गोकर्णेश्वरको आयोजनामा भएको प्रतियोगितामा जगतसिंह धानुकले २४.२ अंक जोडे । बालाजु डो एकेडेमीका धीरेश श्रेष्ठले २३ अंक जोड्दै दोस्रो स्थान हात पार्दा नरहरि डोजोका स्वर्णिम मानन्धरले २२.५ अंक जोड्दै कांस्य जित्न सफल भए । महिलातर्फ रोस्मा राईले २४.५ अंक जोड्दै स्वर्ण जितिन् । धनगढी कराते एकेडेमीकी वर्षा राउतले २३ अंक जोड्दै दोस्रो तथा एपीएफकी सरिता श्रेष्ठले २२.५ अंक जोडेर कांस्य पदक जित्न सफल भइन् ।
महिला र पुरुष दुवैतर्फ शीर्ष तीनमा रहेका खेलाडीहरूले क्रमशः १२ हजार ५ सय, ५ हजार ५ सय र ४ हजार रुपैयाँ हात पारे । लैनचौर डोजोका रेहन जावेद राइजिङ स्टार तथा प्रदीप राई म्याचोर खेलाडी घोषित भए । १३औं सागको दोहोरो स्वर्णधारी मन्डेकाजी श्रेष्ठ, आठौं साफका स्वर्ण विजेता तथा १३औं सागका करातेका प्रशिक्षक गंगाराम महर्जन, राष्ट्रिय खेलाडी विजय लामा र शंखडोल डोजोका प्रमुख प्रशिक्षक भीमराम कारन्जितले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गर्दै विजेता छानेका थिए ।
प्रतियोगिताको आठौं सागका स्वर्ण विजेता तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको विशेष सहयोग रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ २२ र महिलातर्फ ११ जनाले सहभागिता जनाएका थिए ।






