काठमाडौं । नयाँ नेपाली चलचित्र ‘माग्ने राजा’ आउँदो तीजको अवसर पारेर ६ भदौ शुक्रवार (आज)बाट मुलुकका १०० भन्दा बढी चलचित्र घरमा रिलिज भएको छ । यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । ८ वर्ष पछि निर्देशन फर्केका लामिछाने यस पटक हास्य जनाराको चलचित्र लिएर दर्शकमाझ आएका छन् ।
यही चलचित्रबाट केदार घिमिरे (माग्ने बुढा) पहिलो पटक शीर्ष नायकको रूपमा पर्दामा आएका छन् । चलचित्रबाट आफूले दर्शकलाई ग्यारेन्टीका साथ सवा दुई घण्टा हँसाउने केदारले राजधानीलाई बताए ।
यो चलचित्रमा केदारसँगै वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर बाङ्देल, शारदा गिरी, राधिका कँडेल, मिस पविलगायतका कलाकारहरूको अभिनय रहेको छ । अभिनेता आर्यन सिग्देलको पनि यसमा विशेष भूमिका रहेको छ ।
एउटा सडकको मान्छे कसरी रातारात करोडपति हुन्छ भनेर यो चलचित्रले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिलाई ब्यंग्य गरेको निर्देशक लामिछानेले बताए । बिना मेहनत पैसा कमाउन नहुने सन्देश दिने पनि उनको कथन छ । चलचित्रको अग्रिम टिकट बुकिङ निकै राम्रो थियो । अग्रिम बुकिङकै कारण शुक्रवार यसले बक्स अफिसमा राम्रो प्रभाव जमाउने पनि लामिछानले जिकिर गरे ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् । ‘माग्ने राजा’को प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । आरआर फिल्मस्ले वितरण गरेको यो चलचित्रमा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्माको संगीत छ ।






