घरजग्गामा कर्जा माग नहुँदा बैंकमा पैसा थुप्रियो

काठमाडौं । मुुलुकका आर्थिक सूचकहरू सुधार हुँदै गए पनि निजी क्षेत्रबाट कर्जा माग बढ्न नसक्दा बैंकहरूमा लगानीयोग्य रकम (पैसा) थुप्रिएको थुप्रिएकै छ ।

बैंकहरूले लगानी गर्न नसक्दा घरजग्गा व्यवसायीले माग गरेभन्दा बढी कर्जा बैंकहरूले अफर गर्न थालेका छन् ।

एक घरजग्गा व्यवसायीले भने, ‘५ वर्षअघिसम्म डेढ करोड कर्जा पाउन बैंकहरूमा धेरै नै भनसुन गर्नुपथ्र्यो, अहिले २ करोड माग गर्दा ८ करोडको अफर गरेर ३० असारमा कर्जा स्वीकृत गरिदियो ।’

उनी मात्रै होइन अर्का घरजग्गा व्यवसायीलाई पनि २२ करोड कर्जा सहज रूपमा उपलब्ध गराउँदा कता लगानी गर्ने भने चिन्ताले सताउन थालेको छ ।

अन्य क्षेत्रमा भन्दा घरजग्गामा गरेको लगानी सुरक्षित हुने भन्दै बैंकहरूले आफ्ना मार्केटिङ अफिसरहरूलाई कर्जा प्रवाहमा लक्ष्य निर्धारण गर्दा पनि बैंकहरूले घरजग्गाको क्षेत्रमा कर्जा बढाउन सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१–८२ को तथ्यांकले यस्तो देखिएको हो । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानिरहेको छ ।

बैंकहरू पनि सस्तो ब्याजदरमै राष्ट्र बैंकमा पैसा राख्न बाध्य भइरहेका छन् । तथ्यांकअनुसार गत आवमा घरजग्गामा बैंकहरूबाट २ खर्ब ७५ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ कर्जा गएको छ । जुन गत असार मसान्तसम्मको तुलनामा २ दशमलव ९ प्रतिशतले बढी हो । अघिल्लो आव २०८०–८१ को असार मसान्तसम्म बैंकहरूले घरजग्गामा २ खर्ब ६८ अर्ब १२ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यसैगरी, आव २०७९–८० मा २ खर्ब ४९ अर्ब ४४ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

यसैगरी, गत आव २०८१–८२ मा व्यक्तिगत आवासीय घर कर्जाको माग ७ दशमलव ९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूले गत आवमा कुल ४ खर्ब १७ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा प्रवाह भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार यो अघिल्लो आव २०८०–८१ को तुलनामा ३० अर्ब ५४ करोड ९६ लाख रुपैयाँले बढी हो ।

सो आर्थिक वर्षमा ३ खर्ब ८७ अर्ब १ करोड ६१ लाख रुपैयाँ व्यक्तिगत आवासीय घरकर्जा प्रवाह भएको थियो । आव २०७९–८० मा भने ३ खर्ब ४८ अर्ब १२ करोड १३ लाख रुपैयाँ व्यक्तिगत आवासीय घरकर्जा प्रवाह भएको थियो । नेपाल राष्ट्र बैंकले आव २०८०–८१ को मौद्रिक नीतिमा व्यक्तिगत आवासीय घर अर्थात् पहिलो घर निर्माणका लागि दिइने आवास कर्जाको सीमा २ करोड रुपैयाँ पु¥याएको थियो ।

त्यसअघि यस्तो कर्जा १ करोड ५० लाख रुपैयाँ मात्र थियो । चालू आवको मौद्रिक नीतिअनुसार पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहका लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आव २०८१–८२ मा अन्य आवासीय घरजग्गा कर्जामा व्यापक कमी आएको छ । १ वर्षमा ६८ अर्ब ६८ करोड २६ लाख रुपैयाँ आवासीय घरजग्गा कर्जा प्रवाह भएको छ । अघिल्लो आव २०८०–८१ मा ७२ अर्ब ५७ करोड २५ लाख रुपैयाँ प्रवाह भएको थियो । तथ्यांकअनुसार गत आवमा व्यक्तिगत आवासीय घरजग्गाको क्षेत्रमा ३ अर्ब ८८ करोड ९९ लाख रुपैयाँले अर्थात् ५ दशमलव ४ प्रतिशतले कर्जाको मागमा कमी आएको छ ।

अन्य घरजग्गाअन्तर्गत जग्गा तथा प्लटिङ कर्जामा भने ५ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । गत आव २०८१–८२ मा १ खर्ब ६१ अर्ब ८० करोड ८५ लाख रुपैयाँ यस क्षेत्रमा कर्जा गएको छ । अघिल्लो आव २०८०–८१ मा १ खर्ब ५२ अर्ब ८५ करोड २५ लाख रुपैयाँ जग्गा तथा प्लटिङ शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गरेका थिए ।

व्यापारिक भवन तथा अपार्टमेन्ट निर्माणमा भने उत्साह देखिएको छैन । यस क्षेत्रमा गत आवमा ३३ अर्ब ४४ करोड ३४ लाख रुपैयाँको कर्जा प्रवाह भएको छ ।

अघिल्लो आव २०८०–८१ मा ३३ अर्ब २७ करोड १२ लाख रुपैयाँ यस क्षेत्रमा कर्जा प्रवाह भएको थियो ।

घरजग्गा कर्जाअन्तर्गत व्यावसायिक भवनमा २७ दशमलव ५ प्रतिशतले बढेको देखाएको छ । गत आवमा २ अर्ब ५९ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो आव घरजग्गा कर्जाअन्तर्गत व्यावसायिक कम्प्लेक्समा गएको कर्जा ऋणात्मक थियो ।

घरजग्गाको कारोबार सुस्त भए पनि र बैंकहरूमा गैरबैंकिङ सम्पत्ति (एनबीए) निरन्तर थुप्रिएपछि राम्रा ग्राहकलाई भने बैंकहरूले ताकेता गर्दै कर्जा दिइ नै रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंकहरूमा अहिले झन्डै ५० अर्बको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ ।

गत आव बैंकहरूको एनबीए ४२ दशमलव ४२ प्रतिशतले वृद्धि भइ ५० अर्ब ५५ करोड रुपैयाँबराबर पुगेको छ । एनबीए अघिल्लो वर्ष ९० प्रतिशतले वृद्धि भएको थियो ।

अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाहरूमा ३५ अर्ब ५० करोड रुपैयाँको गैरबैंकिङ सम्पत्ति थियो । आव २०७९–८० मा १८ अर्ब ६८ करोड रुपैयाँको गैरबैंकिङ सम्पत्ति थियो । बैंक तथा वित्तीय संस्थाहरूमा गैरबैंकिङ सम्पत्ति (एनबीए) बढ्नुको पछाडि मुख्य कारण घरजग्गा बजारको सुस्त व्यापार, उच्च ब्याजदर र कर्जाको कठोर नीतिलाई मानिन्छ । रियल स्टेट कारोबार सुस्त भएपछि धेरै ग्राहकले तिर्न नसकेको ऋण बैंकमा गैरबैंकिङ सम्पत्तिमा परिणत भएको हो ।

गैरबैंकिङ सम्पत्ति बढ्दा बैंकहरूको रेगुलेटरी रिजर्भ बढेर रिटर्न अर्निङ प्रभावित हुन्छ । बैंकहरूमा गैरबैंकिङ सम्पत्ति थुप्रिएपछि नेपाल राष्ट्र बैंकले नेपाल सरकारबाट स्वीकृत जग्गा विकास तथा भवन निर्माण कम्पनीहरूलाई एकपटकका लागि कर्जा पुनर्तालिकीकरण वा पुनःसंरचना गर्ने सुविधा दिएको छ ।

राष्ट्र बैंकले यसका लागि कम्तीमा १० प्रतिशत ब्याज बुझाइ संशोधित व्यावसायिक योजना र नगद प्रवाह विवरणसहित अनुरोध गर्नुपर्ने जनाएको छ । कर्जा पुनर्तालिकीकरणको प्रक्रिया आगामी असोज मसान्तभित्र सक्नुपर्नेछ भने पुनर्तालिकीकृत कर्जाको वर्गीकरण गत चैत मसान्तको अवस्थाभन्दा कमजोर हुन नहुने स्पष्ट गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय