आदेश मात्रै दिँदा घरेलु कामदार काल बनेर आउन सक्छन
पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको विभत्स मृत्यु भएपछि घरेलु कामदार राखेर ऐशको जीन्दगी जिउन चाहने सम्भ्रान्त परिवारमा एक किसिमको चिन्ताले डेरा जमाएको छ । घरको काम सघाउन राखिएको व्यक्ति कुनै दिन आफ्नै काल बनेर आउने त हैन ? मनमा एक खालको भय उत्पन्न भएको छ ।
सानेपामा घटेको घटना विवरण अनुसार पूर्वसचिव अर्जुन कार्की भगवानको दर्शनका लागि मन्दिर गएको वेला घरेलु कामदार विजय चौधरीले उनकी श्रीमती मुनाको हत्या गरेका थिए । विजयले घर मालिक्नी मुनालाई भान्साकोठामा पछाडीवाट प्लाष्टिकको डोरीले बाँधेर प्लाष्टिककै पिर्काले हिर्काएर हत्या गरेका थिए । जब मुनाको हत्या गरे चौधरी आफैंले झुण्डिएर आत्महत्या गरे । प्रहरीले अनुसन्धान जारी राखेकाले ठ्याक्कै यसैगरि मृत्यु भएको हो भनेर अहिल्यै ठोकुवा गर्न मिल्दैन । विजय आफैंले मुनाको हत्या गरेका थिए वा दोस्रो व्यक्तिले मुना र विजयको हत्या गरेका हुन् । प्रहरीको अनुसन्धान नसकिएसम्म भन्न सकिन्न । यति पक्का हो मुनाको हत्यापछि अर्जुन कार्कीले ममतामयी श्रीमती गुमाए भने उनका तीन सन्तान टुहुरा भए ।
घरेलु कामदारकै कारण घरमालिकको हत्या भएको यहि नै पहिलो घटना होइन । यसअघि पनि यस्ता घटना पटक पटक घटेका छन् । घर मालिकको कारण कामदारको हत्या वा कामदारको कारण घरमालिकको हत्या बेला बेला घटिरहने घटना हुन् । घर मालिक र कामदारविच विवाद र हत्यासम्मका धेरै घटना प्रहरीमा दर्ता भएका छन् ।
घरेलु कामदारको संस्कार
घरको काम सघाउन घरेलु कामदार राख्ने संस्कार पुरानो हो नेपालीका लागि । प्राय हुने खान वर्गले आर्थिक अवस्था कमजोर भएकाहरुलाई आफ्नो घरमा कामदारको रुपमा राख्ने चलन छ । यो परम्परा परापूर्व कालदेखी नै सुरु भएको विभिन्न अध्ययनहरुवाट पुष्टि हुन्छ । कुनै समय सम्भ्रान्त परिवारले गाउँमा पनि घरेलु कामदार राख्थे । शहरमा बस्नेहरुलाई घरेलु कामदार भनिन्छ भने गाउँमा कामदार बस्नेहरुलाई हलि गोठाला भनिन्थ्यो । त्यसरि अर्काको घरमा बसेका कामदारहरुले घरमालिकको आदेश अनुसार काम गर्नुपर्ने नियम थियो । मालिकका हप्काई दप्काई सहनु उनीहरुको वाध्यता हो भने कतिपय कामदारले मालिक मालिक्निकी भौतिक आक्रमण पनि सहँदै आएका थिए ।
गाउँमा हलिगोठाला राख्ने चलन लगभग हराएको छ । महंगो पैसा तिरेर पनि गाउँमा घरेलु कामदार पाउन मुस्किल छ । तर, शहरमा नवधनाढ्यहरुलाई कामदार पाउन खास समस्या छैन । कसैले मासिक पैसा पाईने आशमा त कसैले, भविष्यमा जागिर पाइने लोभमा पनि आफ्ना छोरा छोरीलाई कामदारको रुपमा ‘मालिक’ को जिम्मा लगाउने चलन छ । पूर्वसचिव कार्कीकै भनाई अनुसार पनि विजय चौधरी उनको घरमा बसेको १० वर्ष भैसकेको थियो । अर्थात विजय १२ वर्षको उमेरमा घरेलु कामदारको रुपमा कार्कीको घरमा प्रवेश गरेका थिए ।
कामदारलाई आदेश मात्रै हैन माया पनि दिनुपर्छ
कार्की परिवारसंग विजय चौधरिको सम्बन्ध कस्तो थियो ? अनुमानको भरमा भन्न सकिँदैन । घटनासंग जोडिएका मुख्य पात्र मध्ये एकजनाको निधन भैसकेको छ । यति चाँहि पक्का भन्न सकिन्छ । अब कुनै पनि सम्भ्रान्त परिवारले कामदारलाई केबल यसो गर, उसो गर भनेर आदेश दिएर मात्रै हुँदैन । उसलाई मानविय व्यवहारसंगै माया पनि दिनु पर्छ । यसको अर्थ यो होइन कि पूर्वसचिव कार्कीले विजयलाई माया दिएका थिएनन् । कार्कीको घरमा घटेको जस्तै घटना आफ्नो घरमा नघटोस् भन्नका लागि अब घरेलु कामदारलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्छ ।
कामदारलाई पनि थकाई लाग्छ
घरेलु कामदार राख्नेहरुले प्रायको घरको सवै काम (तोकिएको)कामदारलाई गर्र्न लगाउछन् । उसलाई काम सघाउने खास हुन्नन् । उमेर अनुसार बाबु आमाले तँ भनेर सम्बोधन गर्ने भएकाले छोरा छोरी (कामदार भन्दा कम उमेरका)ले पनि तँ नै भनेर सम्बोधन गर्ने चलन हुन्छ । सामान्य बिरामी हुँदा अस्पताल लैजाने वा चेकजाँच गराउने भन्दा पनि ‘अल्छि’ भनेर टिप्पणी गर्ने प्रचलन हुन्छ ।
जो व्यक्ति कामदारको रुपमा कसैको घरमा बसेको हुन्छ । उसले आफ्ना मनका बह पोख्ने ठाउँ समेत पाएको हुँदैन । अरुको कुरा छोडौं आफ्नै बा आमाले समेत पुरा कुरा नसुनी भन्छन् ‘हामीले तेरै भविष्य राम्रो होस् भनेर तँलाई त्यहाँ राखेका हौं चुप लागेर काम गर ।’
अनि हुन्छन् क्रुर
जब कुनै पनि व्यक्तिले आफ्नो पीर व्यथा शेयर गर्ने पात्र र परिवेश पाउदैनन् उनीहरु मनमनै रिसाउछन् । राम्रो संग काम गर्ने, सानो कुरामा झर्किने वा मुखमुखै जवाफ लगाउनेसम्म गर्छन् ।
कामदार मालिकले आफ्नो घरमा काम गर्ने किन यति उग्र भयो भन्नेमा ध्यान दिन्नन् । उनीहरु भन्ने गर्छन् ‘गाउँमा हुँदा पेटभरि खान पाउदैन थियो अहिले मिठो खान पाएर मात लाग्यो ।’ जब कुनै कामदार चिढिदै जान्छ उसलाई मालिक मात्रै हैन दुनियादेखी वाक्क लाग्न थाल्छ र हत्या आत्महत्यसम्मको घटना हुन पुग्छ ।