सिन्धुली । सुरक्षा व्यवस्थामा कडाई गरेसँगै सिन्धुलीमाढी सिन्धुली खरानी टकटकाउँदै सामान्यीकरणतर्फ उन्मुख भएको छ । चारवटै सुरक्षा निकायका नेतृत्वहरुको समन्वयमा जिल्लाका बजार, यातायात, विद्यालय र कार्यालयहरु खुलाउनका लागि दिनभर छलफल, समन्वय र प्रयास भएका छन ।
सुरक्षाको प्रत्याभूति गराउने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल सहित जिल्लाका सुरक्षा प्रमुखहरुको प्रतिवद्धतासँगै व्यवसायीहरुले बजार खोलेका छन ।

पसल खोल्नु अघि उद्योग वाणिज्य संघको टोलीले प्रशासनमा जिल्लाको शान्ति सुरक्षा र व्यवसाय सञ्चालनका विषयमा छलफल समेत गरेको छ । उनीहरुले व्यवसायीहरुको सुरक्षा र सम्भावित चोरी डकैती नियन्त्रण हुनुपर्ने माग समेत गरेका छन । उनीहरुले यातायात सञ्चालन गर्नुपर्ने समेत बताएका छन । छलफलसँगै आन्दोलनका कारण त्रासमा बन्द रहेको सिन्धुलीमाढी बजारका सबै पसल तथा होटलहरु सञ्चालनमा आएका छन । यातायातका साधनहरु चल्न सुरु गरेका छन ।
जेनजी आन्दोलनमा जलेका कार्यालयहरुको सरसफाई, सडकको सरसफाई समेत गर्न सुरु गरिएको छ । जिल्लाका युवा तथा नागरिक समाजका प्रतिनिधिहरुले सडक लगाएत बजार क्षेत्रको सरसफाई गरेका छन ।

प्रहरीको रोहवरमा मुजुल्का गर्ने र सरसफाईमा सामान्यीकरण गर्ने काम प्रहरीले गरिरहेको छ । सबै कार्यालयका कर्मचारीहरु यति बेला कार्यालय सञ्चालन गर्नका लागि आगोले ध्वस्त भएको कार्यालयको सरसफाई र मर्मतमा जुटेका छन ।
कारागारका कैदीबन्दीलाई पक्राउ गरि राख्नका लागि क्षतिग्रस्त कारागारमा बुधबार राती नै मर्मत गरि कैदीबन्दी राखिएको छ ।
नेपाली सेनाले सुरक्षालाई व्यवस्थित बनाएको छ । बजार, चोक तथा वस्ती बस्तीमा सेना खटाईएको छ । जिल्लाका तीन ठूला राजमार्ग र गाउँहरु लक्षित गरि सुरक्षा खटाईएको सेनाले जनाएको छ ।
जिल्लाका जलेका सरकारी कार्यालयहरु, नीजि भवनहरु, सार्वजनिक भवनहरु सरसफाई भईरहेका छन । कार्यालयहरुले भएका दस्तावेजहरु सुरक्षित गर्दै धुलो, धुवाँ र खरानी सफा गरिरहेका छन । शुक्रबारदेखि विद्यालयहरु खोल्ने गरि प्रशासनले सहजीकरण गरिरहेको छ । अत्यावश्यक सेवाहरु सञ्चालन, व्यवस्थित गर्न र कार्यालयहरुका काम नियमित गरेर सामान्य अवस्थामा लान आवश्यक रहेकाले काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।







