काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संंबिधान नै खारेज गर्न खोजिएको र बचाउन आफूले सहजीकरण गरेको खुलासा गरेका छन् । पार्टी मुख्यालय पेरिसडाडामा आयोजित संविधान दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले बढो मेहनतका साथ संविधान जोगाएको जनाएका हुन् ।
`संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ, संविधान बचाएकोमा राष्ट्रपतिज्यूलाई धन्यवाद,´ प्रचण्डले भने । उनका अनुसार रातभर मेहनत गरेका कारण र चौतर्फी संबाद गरेका कारणले संविधान जोगिएको दाबी गरे ।

‘इतिहासले, घटनाक्रमले र संयोगले यो प्रक्रियामा कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो मलाई । मैले संसद् विघटन मात्रै होइन । संविधान खारेज गर्ने र राष्ट्रपति हटाउन के कस्ता कसरत भए भन्ने कुरा नजिकबाट हेर्ने, बुझ्ने अवसर पाए’, उनले भने, ‘अन्तिममा हुन सक्ने जति सहजीकरण रातभर बसेर सम्माननीय राष्ट्रपति, प्रधान सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकारको यो रूपमा गएर पनि संविधान बचाउनु पर्छ भने ।’
वर्तमान संविधान सामान्य संविधान नभएको बताउँदै उनले राष्ट्रपति संस्थालाई हर हालतमा बचाउनुपर्छ भनेर आफू लागेको बताए । यो संविधान र राष्ट्रपति संस्थासँग माओवादीको योगदान रहेको बताउँदै उनले यो सहजीकरण गर्ने अधिकार पनि भएको बताए ।






