भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले लकडाउनको समयमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दैनिक खाजा भत्ता वितरण गर्दै आएको छ ।
कार्यस्थलमा दिनरात खटिएका उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ भत्ता वितरण थालिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । उपाध्यक्ष राईले भनिन्, ‘कार्यस्थलमा दिनरात खट्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने उद्देश्यले गाउँकार्यपालिकाको निर्णय अनुसार उहाँहरुलाई दैनिक खाजा भत्ता दिँदै आएका छौ ।’
गाउँपालिकाको निर्णय अनुसार सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका इन्चार्जले दैनिक तीन-तीन सय र अन्य सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले दुई÷दुई सयका दरले भक्ता पाउँदै आएका छन् । त्यस्तै इन्चार्जहरुले महिनामा एक हजार र स्वास्थ्य स्वयम सेविकाले पाँच सयका सञ्चार खर्च समेत पाउँदै आएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले इलाका प्रहरी कार्यालय तिवारीभञ्याङ, प्रहरी चौकी बास्तीमा, प्रहरी चौकी च्याङ्ग्रेका तीन इन्चार्जसहित ४१ जना सुरक्षाकर्मीलाई भक्ता दिदै आएको छ । त्यस्तै स्वास्थ्य चौकीहरु श्यामशिला, तिवारीभञ्याङ, बास्तीम, च्याङ्ग्रे, सानोदुङमा र ठुलोदुङमाका ६ जना इन्चार्ज सहित ३५ जना स्वास्थ्यकर्मीले पनि भत्ता पाउँदै आएका छन् ।
त्यस्तैगरी गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्ने ठुलोदुङमाको फत्तेपुर, सानोदुङमाको अधेँरीघाट र सिक्रेमा पर्ने मुख्य सीमा नाकामा रहेका तीन जना हेरालुहरुलाई दैनिक एक हजार भक्तासंगै रु. एक हजार सञ्चार खर्च र ५४ जना स्वास्थ्य स्वयम सेविकालाई मासिक पाँच सयका दरले सञ्चार खर्च दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गाउँपालिकाका सवै घर-घरमा स्वास्थ्यकर्मीले जाँच गर्ने व्यवस्था मिलाएको उपाध्यक्ष राईले जानकारी दिइन् । गाउँपालिकाले सवै स्वास्थ्य चौकीमा नेपाल सरकारले दिएको ३५ प्रकारका औषधी वाहेक अन्य थप नौ प्रकारका औषधी खरिद गरेर वितरण गरेको उनको भनाई छ ।
‘कोरोनाको यो अवस्थामा गाउँपालिका गम्भीर भएर लागेको छ, हामीले गर्भवती महिलालाई क्याल्सियम र किशोरीहरुलाई आइरन चक्की नियमित रुपमा वितरण गर्ने व्यवस्था मिलाएका छौ।’ उनले भनिन् ।
गाउँपालिकाले कार्यसम्पादनलाई ध्यानमा राख्दै भत्ता वितरण गरेकोले दैनिक काम गर्न सहज भएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले बताए । संयोजक दाहालले भने,‘अन्य ठाउँमा यस्तो सुविधा छैन, गाउँपालिकाले गरेको यो निर्णयले हामीलाई काम गर्नमा मनोबल थपिएको छ, भने कार्यस्थलमा खट्न समेत सहजता छ ।’ गाउँपालिकाका अनुसार गत वैशाख महिना सम्म करीब रु. सात लाख रुपैंया भक्ता बापत निकासा भईसकेको छ ।






