काठमाडौं । जेनजी विद्रोहको एक महिना पुगेपछि बल्ल राजनीतिक दलहरूले आफ्ना नियमित र आन्तरिक गतिविधिहरू सक्रिय बनाउन थालेका छन् ।
एक महिनासम्म चरम अविश्वासमा देखिएका सरकार र दलहरूबीचको आपसी संवाद पनि सुरु भएको छ । सरकार बनाउन निर्णायक भूमिका खेलेका राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतलनिवासमा शुक्रबार राजनीतिक दलका प्रतिनिधि, सरकार र राष्ट्रपतिबीच त्रिपक्षीय संवाद सुरु भएको छ ।
ठूला दल बैठक र अन्तर्कियामा, दोस्रो तहका नेता चुनावी छलफलमा
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्की दुवैले दलहरूलाई निर्वाचनमा भाग लिन आग्रह गरेका छन् । दलहरूले भने निर्वाचन भयरहित र निष्पक्ष हुनेमा शंका व्यक्त गरेका छन् ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपासहितका सबै राजनीतिक दलका नेताहरूसँग अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहितका मन्त्रीहरू र ठूला दलका दोस्रो तहका तथा साना दलका शीर्ष नेताबीच पहिलोपटक संवाद भएको हो ।
दलहरूसँग सरकारले संवाद थालेसँगै राजनीतिक दलहरूका आन्तरिक गतिविधिहरू पनि सक्रिय हुन थालेका छन् । जेनजी आन्दोलनले दलका वर्तमान नेतृत्वको विकल्प खोजी गरिरहेका बेला सबैजसो दल पुरानै नेतृत्व बोकेर वार्ता, संवाद र छलफलमा जुटेका छन् ।
रास्वपाले बैठकमार्फत आफ्ना सबै संयन्त्र निर्वाचनमा केन्द्रित गरिसकेको छ भने नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति भंग गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा पदाधिकारी रहने संयोजन समिति बनाएर महाधिवेशनको तयारी थालेको छ ।
माओवादी केन्द्रले निर्वाचनको तयारीलाई पनि एकसाथ अघि बढाएको बताएको छ । माओवादीका संयोजक प्रचण्डले पनि शुक्रबार पहिलोपटक औपचारिक कार्यक्रममा सहभागी भएर आफ्ना धारणा सार्वजनिक गरेका छन् ।
नेकपा एमालेले पनि भावी रणनीति बनाउन र महाधिवेशनको मिति तय गर्न शुक्रबार सचिवालय बैठक आयोजना ग¥यो । नेतृत्व हस्तान्तरणको तीव्र दबाबबीच अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक डाक्नेदेखि सार्वजनिक कार्यक्रममार्फत आक्रोशित अभिव्यक्ति दिने गर्न थालेका छन् ।
तर, शुक्रबारको बैठकमा भने नेताहरूले अर्ली महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरणको विषयलाई चर्को रूपमा उठाएपछि शनिबार बस्ने बैठकले महाधिवेशन मिति तोकेर जाने तय गरेको छ ।
नेपाली कांग्रेसले पनि बिहीबार र शुक्रबार पदाधिकारी बैठक डाकेर नेतृत्व हस्तान्तरणदेखि महाधिवेशनसम्मका एजेन्डामा छलफल गरेको छ ।
सबै दल : राष्ट्रपति र प्रधानमन्त्रीसँग चुनावी छलफलमा जुटे
रास्वपा : आन्तरिक बैठक बसेर निर्वाचनको तयारीमा होमियो
माओवादी केन्द्र : केन्द्रीय समिति विघटन गरेर निर्वाचनमा जाने तयारीमा
कांग्रेस : पदाधिकारी बैठक हुँदै केन्द्रीय समिति बैठक राख्ने तयारीमा
एमाले : सचिवालय बैठक हुँदै महाधिवेशनको तयारीमा
कांग्रेसले २६ असोज (भोलि) केन्द्रीय समितिको बैठक बोलाएको छ । सो बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित भएर औपचरिक रूपमै नेतृत्व हस्तान्तरणको विषयमा बोल्ने प्रवक्ता प्रकाशशरण महतले बताएका छन् ।
उनले पार्टी र नेतामाथि भौतिक रूपमै हमला भएका बेला हस्ताक्षर अभियान गरेर थप कमजोर बनाउने गतिविधि बन्द गर्न नेता कार्यकर्तालाई आग्रह गरिएको बताउँदै पार्टी नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरणको बाटोमा अघि बढिसकेको बताए ।
कांग्रेस निर्वाचन र संसद् पुनःस्थापनाको एजेन्डामा सँगसँगै जाने तयारीमा जुटिरहँदा एमालेले भने संसद् पुनःस्थापनाको एजेन्डालाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको छ । एमाले सचिवालय बैठक शनिबार पनि चल्ने बताइएको छ । शुक्रबारको बैठकमा बोल्ने अधिकांश सचिवालय सदस्यले नेतृत्व हस्तान्तरणको विषयमा धारणा राखे पनि पार्टी अझै ठोस निष्कर्षमा पुग्न सकेको छैन ।
उता, विघटित प्रतिनिधिसभामा साना दलहरू आन्तरिक बैठक बसेर रणनीति बनाउन नसके पनि राष्ट्रपतिको आह्वानमा भएको सर्वदलीय बैठकमा सहभागी हुने, प्रचण्डले बोलाएको तात्कालीन विपक्षी दलहरूका बैठकमा सहभागी हुनेजस्ता राजनीतिक गतिविधिमा सक्रिय हुन थालेका छन् ।
मितव्ययी सरकारका मन्त्री धमाधम विदेश शयरमा
अनावश्यक खर्च कटौती गरी मितव्ययी बन्ने घोषणा गरेको चुनावी सरकारमा मन्त्रीहरू नै धमाधम विदेश शयरमा निस्कन थालेका छन् ।
सरकार गठन भएको एक महिना नपुग्दै चुनावी सरकारका चार जना मन्त्रीको विदेश भ्रमण टुंगो लागेको छ । जबकि, सरकारले गठनलगत्तै विदेश भ्रमणमा कडाइ गर्ने र अनावश्यक भ्रमण स्वीकृत नगर्ने भनेको थियो ।
तर, चार मन्त्रीको भ्रमणलाई भने आवश्यक ठहर गर्दै मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेको भ्रमण तालिकाअनुसार अर्थमन्त्री रामेश्वर खनाल अमेरिका र ऊर्जामन्त्री कुलमान घिसिङ भारत भ्रमणमा जाँदै छन् ।
मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको स्वीट्जरल्यान्ड र कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारको पेरु भ्रमण स्वीकृत गरेको छ ।
अर्थमन्त्री खनाल अमेरिकामा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन शनिबार जाँदै छन् । उनीसँगै अर्थसचिव घनश्याम उपाध्याय र गभर्नर विश्वनाथ पौडेललगायतको टोली पनि अमेरिका जाँदै छ ।
मन्त्री घिसिङ भने आगामी १ कात्तिकमा भारतमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको बैठकमा भाग लिन जाँदै छन् । उद्योगमन्त्री सिन्हा ३ कात्तिकमा स्वीट्जरल्यान्डको जेनेभामा सुरु हुने युनाइटेड नेसन्स कन्फ्रेन्स अन ट्रेड एन्ड डेभलपमेन्टको सभामा भाग लिन जाँदै छन् भने कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार पेरुको लिमामा १० र ११ मंसिरमा हुने इन्टरनेसनल ट्रिटी अन प्लान्ट जेनेटिक रिसोर्स फर फुड एन्ड एग्रिकल्चरको गभर्निङ बडीको उच्चस्तरीय कार्यक्रममा सहभागी हुँदै छन् ।
चारजना मन्त्रीको विदेश भ्रमण स्वीकृत भइसकेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार






