धनगढी । धनगढी–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडकमा सातवटा पुल निर्माणको काम अलपत्र परेको छ । धनगढी–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक आयोजना कार्यालयले ४ वर्षअघि लगाएको सातवटा पुल निर्माणको काम रोकिएको हो ।
धनगढी–दीपायल सडकमा आठ पुल निर्माणको ठेक्का भएकामा एक पुलको काम मात्र पूरा भएको छ । दुईवटा पुलको काम १५ प्रतिशतसमेत भएको छैन । बाँकी पाँचवटा पुल निर्माणको काम ४५ प्रतिशतको हाराहारीमा पुगेको छ । तर, तिहारपछि मात्र पुलहरू निर्माणको काम सुरु हुनेछ । पुल निर्माणको काम पूरा नभएकाले धनगढी–दीपायल सडकमा सवारी सञ्चालन गर्न सकिएको छैन ।
आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी दिनेश रैखोलाले तिहारपछि मात्र काम सुचारु हुने बताए । उनले भने, ‘ठेकेदारहरू सम्पर्कमा छन्, तिहारसम्म काम बन्द नै हुन्छ, तिहारपछि मात्र सुरु हुन्छ होला ।’
धनगढी–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक योजना कार्यालय धनगढीले २०७८ माघमा ६ वटा र २०७९ जेठमा दुईवटा गरी आठवटा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । आयोजना कार्यालयले २८ करोड ७५ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । तर, पुल निर्माणको सम्झौता भएको ४ वर्षसम्म काम अलपत्र छ ।
हालसम्म एक पुल निर्माणको काम पूरा भएको छ । दुईवटा पुलको १५ प्रतिशत पनि भौतिक प्रगति भएको छैन । बाँकी पुलहरूको ४५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति पुगेको आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी रैखोलाले बताए । उनले भने, ‘सालकोटको पुल सकियो, अन्य पुलहरूको काम सकिएको छैन, ४५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति पुगेको छ, कालागाड र नकुडारी खोलाको १५ प्रतिशत मात्र काम भएको छ ।’
धनगढी–दीपायल सडकअन्तर्गत सलेनामा सालाकोट पुल गल्वा–जगदम्बा–सुर्मा सरोबर जेभीले काम सकेको छ । सो पुल निर्माणका लागि ३ करोड ५१ लाख रुपैयाँमा सम्झौता भएको थियो । कालागाड खोला र नकुराडी खोलाको पुलको काम १५ प्रतिशतसमेत भएको छैन । अन्य पुलहरूको काम ४५ प्रतिशतकको हाराहारीमा पुगेका छन् । चौकीगडा खोलामा पुल निर्माण गर्न मित्र बिल्डर्स र आयोजना कार्यालयबीच ४ करोड १६ लाख २२ हजार रुपैयाँमा सम्झौता भएको थियो । तीन वटा पुलको ठेक्का र दुई पुलको पेटी ठेक्का लिएको मित्र बिल्डर्सले मटेलीखोली पुल, हाटखोली पुलमा, चेप्टे खोला पुल निर्माण गर्दै छ ।
मटेली खोला पुल निर्माण गर्न २ करोड ८८ लाख, चेप्टेखोला पुल निर्माण गर्न २ करोड ६२ लाख ९७ हजार रुपैयाँमा मित्र बिल्डर्ससँग सम्झौता भएको थियो । ग्वासी खोलामा ३ करोड ९८ लाख ७७ हजार ५ सय ५८ र हाटखोली खोलामा ४ करोड ५९ लाख ९८ हजार रुपैयाँमा पुल निर्माण गर्न गुल्लीभर–कुटुम्बा–भुवनेश्वरी जेभीसँग सम्झौतामा भएकामा मित्र बिल्डर्सले नै काम गरिरहेको छ ।
यस्तै, जमुनाबासस्थित कालागाडमा पुल निर्माण गर्न टीडीआर कन्स्ट्रक्सन प्रालिसँग ३ करोड ५८ लाख ४२ हजार रुपैयाँमा सम्झौता भएको थियो । गडशेरास्थित नकसराडी गाडमा पुल निर्माण गर्न मालिका–सनीदेव–जेबी जेभीसँग ३ करोड ३८ लाख ७१ हजार रुपैयाँमा सम्झौता भएको हो । धनगढीदेखि थलारासम्मको १ सय ८६ किलोमिटर सडकमा २३ किलोमिटर सडक कालोपत्रे भएको छ भने ३६ किलोमिटर सडक कालोपत्रे गर्न तीन खण्डमा ठेक्का लगाइएको छ ।






