काठमाडौं । जेनजी आन्दोलनका क्रममा घरमै कुटिएपछि उपचारपछि आराम गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि २८ असोजका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सार्वजनिक हुने बताइन्छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवा केन्द्रीय समिति बैठकमा सहभागी हुने जानकारी दिएका हुन् ।
जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा बूढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएपछि सार्वजनिक रूपमा नदेखिएका देउवा बैठकमा सहभागी हुने नहुने निश्चित भएको थिएन ।
बैठकले महाधिवेशन सम्बन्धमा एजेन्डा लैजाने भने पनि कहिले महाधिवेशन गर्ने भन्ने विषयमा सहमति जुटाउन सकेन । केन्द्रीय समितिले मिति तय गर्नेगरी नियमित महाधिवेशन गर्ने एजेन्डा केन्द्रीय समिति बैठकमा लैजाने र मिति केन्द्रीय समितिबाट तय गर्ने समझदारी बैठकमा बनेको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जनाएकी छन् ।
यसैबीच, कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेताहरूलाई बिदाइ गर्न आह्वान गरेका छन् । उनले संवादको नयाँ वातावरण बनाउनसमेत अपिल गरेका छन् ।
आइतबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् । नेपालमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच १० वर्षयता म्युजिकल चेयर घुमिरहेको प्रसंग पनि उनले उल्लेख गरेका छन् ।
थापाले २५ भदौ २०८२ पछि र २२ भदौअघिको नेपाल एउटै नरहेको टिप्पणीसमेत गरेका छन् । सभापति शेरबहादुर देउवालाई यत्रो पर्दाखेरि सिम्पेथी नराखेको भनेर पार्टीका साथीहरूले कुरा उठाएकामा उनले सिम्पेथी राखेको जिकिर गरे । आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माले २५ भदौमा सभापति देउवामाथि भएको आक्रमणको भत्र्सना गर्दै वक्तव्य निकालेको पनि थापाले स्मरण गराए । उनले आफूहरू कसैमाथि पनि हुने भौतिक आक्रमणको कुरा अस्वीकार्य हुन्छ भनेर मान्ने व्यक्ति भएको उल्लेख गरे ।
सम्बन्धित समाचार






