गुवाहाटी । भारतका बलिउड गायक जुबीन गर्गको गत १९ सेप्टेम्बरमा सिंगापुरमा भएको रहस्यमय मृत्युले अर्को नयाँ ठुलो मोड लिएको छ । असम प्रहरीको विशेष अनुसन्धान टोली (एसआईटी) ले जुबीनको भाई (काकाको छोरा) एवम् डिएसपी दर्जाका प्रहरी अधिकारी सन्दीपन गर्गलाई बुधवार पक्राउ गरेको छ ।
डिएसपी सन्दीपन सेप्टेम्बर १९ मा जुबीनको मृत्यु हुँदा सिंगापुरमा सँगै थिए। जुबीनको मृत्यु पछि छानविनको लागि परिवारबाट निवेदन दिएपछि नै प्रहरीले उनलाई शंकाको नजरले हेरेको थियो । प्रहरीले उनको गिरफ्तारीको आधिकारिक कारण अझै सार्वजनिक गरेको छैन, तर प्रहरी स्रोतका अनुसार सन्दीप विगत केही दिनदेखि निरन्तर जुबीन प्रकरणमा सोधपुछमा थिए । जुबीनको हत्या अनुसन्धान मुद्दामा पक्राउ परेको उनी पाँचौँ व्यक्ति हुन् ।
यसअघि आसाम प्रहरीले कार्यक्रम आयोजक श्याम कानु महन्त, आसामी अभिनेत्री निशिता गोस्वामी, उनको प्रबन्धक सिद्धार्थ शर्मा, ब्यान्ड सदस्य अमृत प्रभालाई पक्राउ गरेको थियो । प्रहरीको बयानमा जुबीनका ब्यान्ड सदस्य शेखर ज्योति गोस्वामीले गायक जुबीनलाई विष दिइएको र उनको मृत्युलाई स्कुबा डाइभिङ दुर्घटना जस्तो देखाउन षड्यन्त्र रचिएको दाबी गरेका थिए ।
गोस्वामीका अनुसार जुबीन एक प्रशिक्षित पौडीबाज थिए र उनी डुब्नु असम्भव जस्तै थियो । उनले भने कि प्रबन्धक सिद्धार्थ शर्माले जानाजानी पेय पदार्थ खुवाए र सास फेर्न गाह्रो हुँदा जुबीनलाई मद्दत गरेनन् ।
स्रोतका अनुसार, एसआईटीले दुर्घटना हुनुभन्दा ठिक अगाडि खिचिएको भिडियो प्राप्त गरेको छ । जसमा शेखरले जुबीन नजिकै पौडी खेलिरहेको र अर्की ब्यान्ड सदस्य अमृत प्रभाले उनको मोबाइल फोनमा रेकर्ड गरिरहेको देखाइएको छ । यो भिडियोलाई अनुसन्धानमा महत्त्वपूर्ण प्रमाण मानिन्छ ।
जुबीन गर्गको मृत्युपछि दुई वटा पोस्टमार्टम गरिएको थियो । एउटा पोस्टमार्टम सिंगापुरमा र अर्को गुवाहाटीमा गरिएको थियो । उनको भिसेराको नमुना दिल्लीको केन्द्रीय फोरेन्सिक प्रयोगशालामा पठाइएको छ । अन्तिम पोस्टमार्टम रिपोर्ट भिसेरा विश्लेषण पछि मात्र जारी गरिने प्रहरीले जनाएको छ । प्रारम्भिक पोस्टमार्टम अनुसार जुबीनलाई विष खुवाइएको अनुमान गरिएको छ ।
नोभेम्बर १८, सन १९७२ मा आसामको तिन सुकियामा जन्मिएका जुबीन गर्ग एक गायक मात्र नभई एक सामाजिक कार्यकर्ता पनि थिए । उनले ४० भन्दा बढी भाषाहरूमा स्टेज र रेकर्ड गरेर ३८,००० भन्दा बढी गीतहरू गाएका थिए । उनी बलिउडसँगै आसामी गीतकार पनि त्यत्तिकै लोकप्रिय गायक थिए । उनले बलिउड, आसामी, बंगला गरेर १५० भन्दा बढी चलचित्रमा गीत गाएका थिए । कतीपय चलचित्रको सबै गीत उनकै स्वरमा समेत थिए ।
संगीतकार जोय चक्रवर्तीका अनुसार, जुबीनले आफ्नो कमाइको ७० प्रतिसत परोपकारमा दान गर्थे । उनले आफ्नो घर क्यान्सरका बिरामीहरूलाई पनि समर्पित गरेका थिए । यी परोपकारी गायकको निधन नभएर हत्या भएको भन्दै उनका परिवारले अनुसन्धानको लागि प्रहरी सामु आवदेव दिएपछि यो अनुसन्धान सुरु भएको हो ।
अनुसन्धानको क्रममा जुबीनका आफन्त र सहयोगीहरूलाई अहिले प्रहरीले बयान लिइरहेको छ । पटक पटकको बयान पछि बुधवार जुबीनका भाइलाई प्रहरी अधिकारीलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको हो ।