स्याङ्जा । अर्जुनचौपारी गाउँपालिका स्याङ्जाले पालिका भित्र रहेका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । आर्थिक बर्ष २०८१-०८२ मा विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत छुट्टिएको बजेट मार्फत स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
पालिकाले एक कार्यक्रमको आयोजना गरी पालिका भित्रका ३० ओटा सामुदायिक विद्यालयलाई उक्त सामाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य क्षेत्रमा पालिकावासीमा कुनै असहज नहोस भन्ने उदेश्य राखेर गाउँपालिकाले स्वास्थ्य सम्वन्धी विभिन्न कार्यक्रम गर्दै आएको छ ।
नागरिक स्वास्थ रहे पालिका स्वास्थ हुन्छ भन्ने ध्येय राखेर गाउँपालिकाले आर्थिक बर्ष २०८१–०८२ देखी स्वास्थ्य परीक्षण र स्वास्थ्य शिक्षा कार्यक्रम अगाडी बढाउदै आएको अध्यक्ष प्रकाश तिवारीले बताए ।
पालिकाले वितरण गरेको प्रथामिक उपचार बाकस (सामाग्री) मा स्टेजर, तौल नाप्ने यन्त्र, ज्वरो नाप्ने थर्मोमिटर, अक्सिजन नाप्ने मेसिन र कैची रहेका छन् । औषधीजन्य बस्तु भने सम्वन्धित स्वास्थ्य चौकीबाट लिन विद्यालयलाई सुझाएको अर्जुनचौपारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्रबहादुर नेपालीले बताए । विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत ३ लाख बजेटमा पालिका भित्रका सबै सामुदायिक विद्यालयमा यो समाग्री वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख नेपालीले बताए । विद्यार्थीलाई सामान्य उपचारमा सहज हुने विश्वासले विद्यालयलाई स्वास्थ्य बाकस प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले प्रत्येक महिना पालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयमा मासिक रुपमा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण र स्वास्थ्य शिक्षा दिदै आएको छ । विद्यार्थीलाई विद्यालयमै देखिने सामान्य रोगका लागि त्यही निदान गर्न सहज होस भनेर विद्यालयलाई प्रथामिक उपचार बाकस प्रदान गरेको अध्यक्ष तिवारीको भनाई छ ।
नागरिकका आधारभुत आवश्यकता स्वास्थ्य, शिक्षा र खानेपानीलाई पालिकाले जोड दिएको छ उनले भने,‘पालिकाको साधनश्रोतले भ्याएसम्म नागरिकको आवश्यकता परिपुर्ति गर्नेमा लाग्छौं ।’ पालिकाको समस्यालाई बुझेर सिमित साधानश्रोतलाई सहि सदुपयोग गरी फाईदा उठाउनु होला उनले भने । विद्यालयको आवश्यकता र विद्यार्थीको रुचीका आधारमा गाउँपालिकाले प्रत्येक विद्यालयमा स्वास्थ्य शिक्षा सामाग्री प्रस्तुत गर्दै आएको छ ।
पालिकाले विद्यार्थी मात्रै नभएर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सगै घरमै औषधीको व्यवस्था समेत गरिदिएको छ । सुगर, प्रेसर लगायतका रोगहरुका बिषयमा समय—समयमा परीक्षण गरी घरमै औषधीको व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष तिवारीले बताए ।
पालिकाका घरधुरीमा स्वास्थ्यकर्मी पुगेर उनीहरुको समस्या र स्वास्थ्य अवस्था बुझेर आउने वातावरणले पालिकावासीहरु खुशी भएका छन् । उनीहरुले ल्याएको तथ्याङककै आधारमा पालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्यका बिषय समेट्ने गरेको जनाएको छ ।
सम्बन्धित समाचार





