पूर्वसभामुख महरा थुनामा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई थुनामा पठाउने आदेश जारी भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई गत आइतबार सुन तस्करी अभियोगमा पक्राउ गरेको थियो । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा महरालाई पक्राउ गरी मुद्दा चलाइएको हो ।

१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानीवाहक ली हानसोङले ल्याएका दुईवटा सुटकेस शंकास्पद देखिएपछि चेकजाँच गर्दा भेपमा सुन भेटिएको थियो । लामो समयसम्म भन्सारमै थन्किएको भेप छुटाउन महराको भूमिका भएको आरोपमा सीआईबीले अनुसन्धान गरेको थियो ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै थुनामा पठाउन आदेश दिएको हो । महरालाई सुन्धाराको जगननाथ देवलमा पठाउने आदेश भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 370 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल