गुल्मीमा मतदाता नामावली दर्ता उत्साहजनक

गुल्मी । सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेसँगै गुल्मीमा मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य उत्साहजन रुपमा अगाडी बढेको छ । निर्वाचन आयोगको असौज ९ गतको निर्णयअनुसार असौज १० गतेबाट मतदाता नामावली दर्ता कार्य सुरु भएको थियो ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार हालसम्म एक हजार ६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमा महिला चार सय ५३ र पुरुष पाँच सय ९३ रहेका छन् । नाम दर्ता गराएकामध्ये एक हजार ४६ जना जिल्लामै भोट हाल्नेछन् भने २० जनाले जिल्लाबाहिर भोट हाल्ने कार्यालय प्रमुख ऋषि घिमिरेले जानकारी दिए ।

‘दसैँपछिबाट गुल्मीमा तिब्र रुपमा मतदाता नामावली कार्य भयो ।’ कार्यालय प्रमुख घिमिरेले भने, ‘अहिले दैनिक सय जनाको नाम दर्ता भइरहेको छ ।’ निर्वाचन कार्यालयको एउटा स्टेशन जिल्ला प्रशासन कार्यालयमा पनि भएकोले धेरै नागरिक लाभाम्बित भएको कार्यालयले जनाएको छ ।

नागरिकता र परिचय पत्र बनाएसँगै प्रशासनबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने घिमिरेले बताए । अधिकांश मतदाताले आफै मोबाइल वा कम्युटरबाट फारम भरेर कार्यालयमा बायोमेट्रिक गर्न आउने कार्यालयले जनाएको छ । यसो हुँदा एकैदिनमा धेरै जनाको नाम दर्ता भएको छ ।

जेन्जी पुस्ताका युवा प्रदिप भुसालले आफुले पहिलो पटक मतदान गर्न लागेको बताए । निर्वाचन कार्यालयमा बायोमेट्रिक गर्न आएका भुसालले यसपटक राम्रो उम्मेदवारलाई मतदान गर्ने बताए । निर्वाचन कार्यालयका अनुसार एक जिल्लाको मतदाताले जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमार्फत पनि मतदाता नामावली दर्ता गराउन सक्नेछन् ।

०७९ को तथ्याकंअनुसार जिल्लामा दुई लाख ४१ हजार ३७ मतदाता रहेका छन् । त्यसैगरी एक सय ४२ मतदान स्थल र दुई सय ८१ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की