काठमाडौं । घर परिवारलाई सुख सुविधामा राख्ने सपना बोकेर साउदी अरब पुगेका पाँच नेपाली अलपत्र परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी ले उद्धार गरेको छ। रोजगारदाता कम्पनीले सम्झौता गरे अनुसारको तलव नदिएपछि अलपत्र परेका सिन्धुलीका टोकोलमान स्याङ्तान, खोटाङका विष्णु के राई, सुनिल राई,नरहरि घिमिरे तनहुँका शुक्र जन कुमाल, र नुवाकोट निवासी मङ्सिङ्घिलाई उद्धार गरी एनआरएनएले नेपाल फर्काएको छ।
काठमाडौँमा रहेको गल्फ म्यानेजमेन्ट प्रालि नामक मेनपावरलाई प्रतिव्यक्ति १ लाख पचास हजार देखि २ लाख सम्म बुझाएर साउदी अरबमा साउदी अरब पुगेका उनीहरु कम्पनीले सम्झौतामा उल्लेख गरिए अनुसार तलब तथा सेवा सुबिधा कम्पनीले नदिएपछि अलपत्र परेका थिए।
एनआरएनएले कम्पनीको जिम्मेवार व्यक्तिसँग कुरा गर्दा एक्कासी त्यहाँको उन्नैजा भन्ने ठाउँमा पुर्याएर बिचल्ली अवस्थामा छोडी दिएको थियो। बिचल्ली अवस्थामा रहेका उनीहरुलाई एनआरएनएका पदाअधिकारीहरु उनीहरु बसेको लेवर क्याम्पमा नै पुगेका थिए। लेवरकोर्टमा आवश्य कागजात तथा दस्तावेज जम्मा गरी साउदी श्रम अदालतमा नेपाल फर्काउनका लागि कारवाईको लागि निवेदन पेश गरेका थिए।
त्यसपछि एक्जिट भिसा प्राप्त गरी उनीहरुलाई नेपाल फर्काउन सफल भएको एनआरएन अल्कासिमका प्रवक्ता धनकुमार आचार्यले जानकारी दिए। साउदीमा रोजगारदाता कम्पनीहरूले इकामा नबनाइदिने करारबमोजिम तलब सुविधा नदिने प्रवृत्ति बढ्दै गएको छ । जसले गर्दा विदेशमा श्रम गर्न पुगेका नेपाली दाजुभाइलाई बाहिर हिँडडुल गर्न समस्या हुने गरेको छ ।
यस्ता घटनालाई कम गर्न नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाति आफ्नो अधिकार लिन अनुरोध गरेको छ । पछिल्लो समय साउदी पुगेर हजारौं नेपाली कामदारले नेपालमा गरिएको सम्झौतानुसारको तलब नपाउने र पाए पनि समयमा नपाउदा कम्पनी छाडेर गैरकानुनी तरिकाले काम गर्ने क्रम बढेको छ ।
यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउनेछन् । दूतावासको समन्वयमा त्यहाँको अध्यागमन कार्यालयले हुरुब (कम्पनी छोडेर भागेका) लागेका र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका एक्जिट भिसा दिने गर्छ।
अकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेका वा साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा प्राप्त नगरेका वा हुरुब लागेका व्यक्तिको मात्र एक्जिट भिसा प्रोसेसिङ गरिदिने दूतावासले प्रस्ट पारेको छ । साथै भिसा दिने सम्पूर्ण अधिकार साउदी अध्यागमन कार्यालयसँग मात्रै हुने जनाएको छ।












