मुस्ताङको बदलिँदो नियति : जलवायु संकट

हिमालपारिको जिल्ला मुस्ताङ सदियौंदेखि शुष्क अर्थात् सुक्खा भूभाग, स्वच्छ हावापानी र विशिष्ट हिमाली पहिचानका रूपमा प्रसिद्ध छ । तर, पछिल्ला केही वर्षयता यहाँका प्राकृतिक संकेत ह्वात्तै बदलिएका छन् । जलवायु परिवर्तनको प्रत्यक्ष असर, अनियन्त्रित पर्यटकीय दबाब र अव्यवस्थित पूर्वाधार विकासका कारण मुस्ताङको अस्तित्व संकटमा पर्दै गएको देखिन्छ । असामान्य वर्षा, बाढीपहिरो र सबैभन्दा अनपेक्षित रूपमा यस वर्ष कात्तिकमै भएको भारी हिमपात र झरीले यस क्षेत्रको नाजुक भूगोलमाथि ठूलो खतरा निम्त्याएको छ ।

तथ्यले देखाएको बढ्दो जोखिम
अब भने मुस्ताङमा ‘शुष्क मौसम’को परिभाषा बदलिएको छ । सन् २०२४ मा मुस्ताङमा एकै दिन ५१ दशमलव २ मिलिमिटर र मनाङमा ६४ दशमलव ४ मिलिमिटर वर्षा रेकर्ड भयो । यो सामान्य औसतभन्दा धेरै गुणाबढी हो, जसले बाढीको जोखिमलाई निरन्तर बढाएको छ । यस वर्ष कात्तिक दोस्रो सतामै मुक्तिनाथलगायत मुस्ताङका उच्च भू–भागमा भारी हिमपात भयो । सामान्यतया हिउँदको मध्यमा मात्र हुने यो मौसमी विचलनले मुस्ताङमा ‘जलवायु प्रणाली कति अस्थिर बनेको छ ?’ भन्ने देखाउँछ ।

उपल्लो मुस्ताङमा सन् २०२४ मा ४ हजार ६१ विदेशी पर्यटक पुगे । यस वृद्धिले अर्थतन्त्रलाई टेवा दिए पनि यसले पर्यावरणमाथि नियन्त्रणबाहिरको दबाब ल्यायो । यी परिवर्तनले स्थानीय बस्ती, खेतीपाती, जैविक विविधता र पुरानो सांस्कृतिक जीवनशैलीका लागि नयाँ खतरा निम्त्याइरहेका छन् ।

हिमपात र वर्षा : पूर्वाधारमाथि संकट
पछिल्लो दुई–तीन दिनको मौसमी गतिविधि मुस्ताङका लागि ठूलो चेतावनी बनेको छ । असामान्य समयमा भएको निरन्तर वर्षा र हिमपातले मुस्ताङका पुरानो शैलीका र ऐतिहासिक महŒवका माटोका घर कमजोर बनाएको छ । पानी सोसिएर संरचना भत्किने र पहिरो जाने जोखिम बढेको छ ।

मुक्तिनाथ क्षेत्र, कोरोला नाका र उपल्लो मुस्ताङका उच्च लेकमा ५ देखि ८ इन्चसम्म हिउँ जमेको छ । यसले जोमसोम–कोरोला सडकखण्डलगायत मुख्य मार्ग अवरुद्ध बनेका छन् । बाटोमा हिउँ जमेकाले यात्रु र दर्शनार्थीलाई ठूलो सास्ती भएको छ र आवश्यक उद्धारकार्यका लागि धौलागिरि सर्किटमा फसेका पर्यटकको उद्धारसमेत जटिल बनेको छ । प्रशासनले कागबेनीदेखि मुक्तिनाथसम्मको र अन्य उच्च हिमाली क्षेत्र यात्रा नगर्न चेतावनी दिनुपरेको अवस्था छ । यसले मुस्ताङको पर्यटन कति असुरक्षित बन्दै गएको छ ? भन्ने स्पष्ट पार्छ ।

संकटका मुख्य कारण
मुस्ताङको बढ्दो जोखिम यी तीन कारण अन्तरसम्बन्धबाट उत्पन्न भएको हो ः

१. जलवायु परिवर्तनको तीव्र असर
विश्व तापक्रम वृद्धिले हावामा पानी समावेश गर्ने क्षमता बढेकाले सामान्यतया सुक्खा रहने मुस्ताङमा पनि एकै दिन अत्यधिक वर्षा हुने र हिमपातका घटना बढाएको हो । यसमा अरब सागरबाट आएको असामान्य जलवायु प्रणालीको पनि भूमिका देखिएको छ ।

२. अनियन्त्रित विकास र प्राकृतिक निकासमा अवरोध
नदीनालामा जथाभावी हस्तक्षेप, अव्यवस्थित सडक निर्माण र भौतिक पूर्वाधार विकासले प्राकृतिक जल निकासप्रणालीलाई अवरुद्ध गरेका छन् । यसबाट सानो वर्षाको पानीले पनि अकस्मात बाढीको रूप लिई ठूलो क्षति पु¥याइरहेको छ ।

३. अति–पर्यटन र कमजोर नीतिगत कार्यान्वयन
पर्यटनको संख्यामा वैज्ञानिक आधारमा नियन्त्रण अभाव र ठूला परियोजनाको वातावरणीय अध्ययनको कडाइपूर्वक पालन नगर्दा मुस्ताङको नाजुक भूगोलमा अतिरिक्त दबाब परेको छ ।

समाधान र नवीन दिशा
मुस्ताङजस्तो नाजुक भूगोलमा कुनै पनि वातावरणीय वा प्राविधिक गल्तीको मूल्य अत्यधिक ठूलो पर्नसक्छ । अब हामीले केवल ‘हानी कम गर्ने’ होइन, ‘थप सुधार गर्ने’बाटो पहिल्याउनैपर्छ ।

पुनरुत्थानशील पर्यटन
पर्यटन शुल्कलाई विशुद्ध नाफाका लागि होइन, जलस्रोत संरक्षण, जोखिम न्यूनीकरण र स्थानीय पूर्वाधार सुधारमा लगानी गरिनुपर्छ । स्थानीय समुदायको नेतृत्वमा होमस्टे, सांस्कृतिक पर्यटन र पर्यावरणअनुकूल पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनुपर्छ । पर्यटक संख्या र गन्तव्यमा वैज्ञानिक आधारमा नियन्त्रण गर्ने नीति अब कडाइसाथ लागू गर्नुपर्छ ।

जोखिम मानचित्रण र प्रारम्भिक सूचना प्रणाली
सटीक मौसम पूर्वानुमान, आपत्कालीन अलर्ट र उद्धार योजना स्थानीय समुदायसम्म सहज पहुँचयोग्य बनाउनुपर्छ । बाढीपहिरोका हिसाबले संवेदनशील क्षेत्रमा निर्माण निषेध र आवश्यक देखिएमा मानव बस्ती स्थानान्तरण योजना ल्याउनुपर्ने देखिन्छ ।

पानीको दिगो व्यवस्थापन र भू–संरक्षण
नदीकिनार संरक्षण, परम्परागत जलस्रोत पुनर्भरण संरचना निर्माण र पहिरो रोकथामका कार्यलाई एकीकृत ढंगले अघि बढाइनुपर्छ ।

परम्परागत नहर र कुलो
प्रणाली सुधार गरी पानीको दिगो उपभोग सुनिश्चितता आवश्यक छ ।

निष्कर्ष
मुस्ताङ जलवायु परिवर्तनमा अग्रपंक्तिमा उभिएको छ । हामीले आज निर्णय ग¥यौं भने भावी पुस्ताको जीविकोपार्जन सुरक्षित हुनेछ, पर्यावरण बलियो हुनेछ र पर्यटन दिगो तथा समुदायमैत्री हुनेछ ।
पुनरुत्थानशील पर्यटन, जलवायु सहनशील विकास र वैज्ञानिक पूर्वतयारी, यी नै मुस्ताङको भविष्यका तीन आधारस्तम्भ हुन् । मुस्ताङलाई बचाउनु भनेको हाम्रो विशिष्ट पहिचान, हाम्रो भविष्य र हाम्रो हिमाली धरोहरलाई बचाउनु हो ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी