राजविराज । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टोली आगामी संस्करणका लागि तीन जना उत्कृष्ट युवा खेलाडी छनोट गर्न प्रतिभा छनोट कार्यक्रम आयोजना गरेको छ ।
मंगलवार सप्तरी क्रिकेट संघको सहकार्य तथा जनकपुर वोल्टसको आयोजनामा राजबिराज स्थित पविमाबि क्रिकेट खेलमैदानमा एक दिने ट्यालेन्ट हन्ट खेलाडी छनोट कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रमबाट तीन जना उत्कृष्ट युवा खेलाडीहरू छनोट गरिने जनकपुर बोल्ट्सका सहायक प्रशिक्षक मनोज कटुवालले जानकारी दिए । यसरी छनौट गरिएका मध्ये एक जना खेलाडीलाई मुख्य टोलीमा स्थान दिइनेछ भने दुई जना खेलाडीहरूलाई विकास टोली (वैकल्पिक) मा राखिने उनको भनाई छ ।

छनौट भएका खेलाडीहरू आगामी मंसिर १ देखि सुरू हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुने अवसर पाउने छन् । जनकपुर बोल्ट्सले यस अघि नै एनपीएलको दोस्रो संस्करणका लागि ६ जना प्रमुख खेलाडीहरूको छनौट गरिसकेको छ ।
यस ट्यालेन्ट हन्ट कार्यक्रमले नेपाली क्रिकेटमा नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने र देशको क्रिकेटको स्तरलाई अझ उचाइमा पु-याउने अपेक्षा गरिएको छ ।
उक्त प्रतिभा छनोट अभ्यास खेलमा मधेश प्रदेश का ८ वटै जिल्लाका ८७ जना खेलाडीहरूले सहभागिता रहेको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
उक्त अवसरमा क्रिकेट संघ सप्तरीका उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादब, कोषाध्यक्ष तुलानाथ माझी, जनकपुर बोल्ट्सका म्यानेजर अनुुज जैयशवाल, पिच क्युरेटर धर्मेन्द्र चौधरी लगायतको समेत उपस्थिति रहेको थियो ।






