सडकका अर्बौंका योजना अझै अधुरा

इटहरी । विराटनगरको रानीदेखि धरानसम्म बन्ने ६ लेन सडक योजना अर्बौं रुपैयाँ खर्चिसक्दा पनि अझै अधुरो छ । ठेकेदार कम्पनीहरूको निष्क्रियता, गुणस्तरहीन निर्माण र सरकारी निकायको उदासीनताका कारण सडकका कतिपय खण्ड अलपत्र छन् भने कतिपयमा अझै ठेक्का नै लाग्न बाँकी छ । यात्रु र स्थानीय बासिन्दा वर्षौंदेखि धुलो, खाल्डाखुल्डी र जोखिमपूर्ण आवागमनको पीडामा छन् ।

अधिकांश अलपत्र, धेरैका लागेनन् ठेक्का

६ लेनको चौडा सडकमा यात्रा गर्ने सपना देखेका पूर्वका बासिन्दा अहिले खाल्डाखुल्डी र धुलोमैलोबीच यात्रा गर्न विवश हुनुपरेको बताउँछन् । खासगरी अर्बौं रुपैयाँको लगानी र पटक–पटक म्याद थपिए पनि सडकखण्ड अलपत्र बनेको हो । ठेकेदारको लापरबाही र सरकारी निगरानीको कमजोरीले ‘गौरव परियोजना’लाई लज्जाको विषय बनाइदिएको छ ।

इटहरी–धरान सडक खण्डअन्तर्गत चारकोसे क्षेत्रमा सडकमा ठूला–ठूला खाल्डाखुल्डी भएपछि दुर्घटनाको जोखिमसँगै यात्रा गर्नु जोखिमपूर्ण बनेको छ । २०७७ असारमा ठेक्का पाएको हिमडुङ प्यासिफिक ज्वाइन्ट भेन्चर (जेभी) कम्पनीले पटकपटक म्याद थप्दै आए पनि काम अझै अधुरो छ । ५ दशमलव ३८ किलोमिटर भागका ठाउँठाउँमा खाल्डाखुल्डीले हैरानी व्यहोर्नुपरेको स्थानीय बताउँछन् ।

खासगरी तरहरादेखि धरान जाने सडकखण्डमा सेउती पुलदेखि उत्तरतर्फ सडक निर्माण भइसकेको छ । तर, दक्षिणतर्फ भने ५ दशमलव ३८ किलोमिटर सडकका दर्जनौं ठाउँमा खाल्डाखुल्डी हुँदा समस्या उत्पन्न भएको छ । सडक निर्माणमा कमसल सामग्री प्रयोग, अधुरो मेडियन र अपूर्ण अस्फाल्ट लेयरका कारण निर्माणको गुणस्तरप्रति प्रश्न उठेको छ । सडक योजना कार्यालयले पाँचपटक ताकेता गरे पनि कम्पनीले ‘बर्खा, चाडपर्व र श्रमिक अभाव’को कारण दिँदै काम टारेको छ ।

रानी–विराटनगर–इटहरी–धरान सडक योजना कार्यालय इटहरीका इन्जिनियर शम्भुकुमार मोचीका अनुसार काम चाँडै सक्नका लागि पटकपटक पत्राचार गरे पनि ठेक्का लिएको कम्पनीले काम गरिरहेको छैन । ‘हामीले बारम्बार पत्र काटेका छौं, अघिल्लो असारमै काम सक्ने भनिएको थियो तर यो असारमा मात्रै थोरै काम भयो, असारयता काम रोकिएको छ,’ इन्जिनियर मोचीले भने, ‘खाल्डाखुल्डी मर्मत गर्न बारम्बार पत्र काटेपछि दुई चरणमा खाल्डाखुल्डी पुरिए पनि नयाँ खाल्डा भएको भनेर निर्माण कम्पनीले भनेको छ ।’ उनका अनुसार सो सडकमा भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशतमा अड्किएको छ ।

हिमडुङ प्यासिफिक जेभी काठमाडौंले ५ असार २०७७ मा ठेक्का सम्झौता गरेको हो । सम्झौताअनुसार २५ असार २०८० मा सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर, हालसम्म काम सम्पन्न भएको छैन । पछिल्लोपटक म्याद थप गर्दा ३० असोज २०८२ मा सडक निर्माण गरिसक्नुपर्ने भए पनि निर्माण अलपत्र त छँदै छ, जोखिम पनि उत्तिकै छ ।

सो सडक कुल ४३ करोड ८६ लाख ४७ हजार १ सय ४० रुपैयाँमा ठेक्का लागेको थियो । हालसम्म कम्पनीले २७ करोड ६५ लाख ६ हजार रुपैयाँ भुक्तानी पाइसकेको छ ।

‘सार्वजनिक खरिद नियमावली टेकेर म्याद थप भइरहेको हो, अब कालोपत्रेको काम बाँकी छ,’ इन्जिनियर मोचीले भने । ठेक्का लिएको हिमडुङ कम्पनीले पुनः म्याद थपका लागि निवेदन दिएको छ । वर्षाको समयमा काम नसकिने भएको हुँदा म्याद थपका लागि निवेदन पेस गरेको उल्लेख गरेको छ ।

मुख्य सडक निर्माण मात्रै अपूरो होइन मेडिएनको भाग पनि अपूरो रहेको छ । बीचको भागमा माटो हालेर पुर्न बाँकी हुँदा दुर्घटनाको जोखिम भएको यात्रुहरू बताउँछन् ।

सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएको यात्रुहरूको भनाइ छ । इन्जिनियर मोचीले भने, ‘सडक निर्माण भइसके पनि डीभीएम र आसफाल्टले सडक छोप्नुपर्छ, सडकको माथि स्ट्रङ बनाउन अझै बाँकी छ, यसका लागि निर्माण कम्पनीले चाँडै काम गर्नुपर्छ ।’

सडक निर्माणको पहिलो चरणमा माटो लगाइने, त्यसपछि ग्राभेल बनाइने र माथिबाट तलतिर कमसल सामग्री प्रयोग गरिने भए पनि अस्फाल्टको लेयर लगाउन बाँकी रहेको उनले बताए । ‘मेडियनको भागमा पनि पुर्न बाँकी रहेको र केही खण्ड बिग्रिएकाले पनि भुक्तानी होल्ड गरिएको हो,’ उनले थपे ।

असारयता निर्माणको काम ठप्प रहेपछि सडक कार्यालय इटहरीले पाँचपटक ताकेता गरेको छ । कार्यालय प्रमुख सीडीई नारायणप्रसाद निहुरेले यथाशीघ्र काम सुरु गर्न ताकेता गरिएको बताए ।

‘कार्यालयबाट विभिन्न मितिमा भएका मौखिक तथा लिखित निर्देशनहरू भए पनि कार्यान्वयन भएन,’ उनले भने, ‘ठेक्का सम्झौताबमोजिमको समयभित्र निर्माण कार्य सम्पन्न नगरेको, योजना कार्यालयले दिएको निर्देशन पालना नगरेको, निर्माण भएको कार्यमा भएको त्रुटी सच्याउन दिइएको निर्देशनबमोजिम त्रुटी सच्याउन पहल नगरेको पाइएको छ ।’

पछिल्लोपटक कार्यालयले सात दिनभित्र लिखित जवाफसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको उनले जनाए । अब पनि निर्माणको काम सुरु नगरे सम्झौताका सर्तहरू तथा सार्वजनिक खरिद ऐन÷नियमावली (संशोधनसमेत)का आधारमा थप कारबाहीको प्रक्रिया अगाडि बढाइने उनको जिकिर छ । सो सडकतर्फ पूर्वी लेनमा अत्यधिक खाल्डाखुल्डी भई सवारीसाधनहरूको आवागमन जोखिमपूर्ण रहेको उनले स्विकारे ।

यता, निर्माणको जिम्मा लिएको हिमडुङ प्यासिफिक ज्वाइन्ट भेन्चर (जेभी)का प्रतिनिधि प्रेमकुमार मल्लले चाडपर्व र पानी परेका कारण समस्या भएको प्रतिक्रिया दिए । ‘बर्खाको समयमा पानीले गर्दा काम हुन सकेन, लगत्तै जेनजी आन्दोलन र चाडपर्वले समस्या भयो,’ प्रतिनिधि मल्लले भने, ‘अब खाल्डाखुल्डीको टाल्ने काम सुरु हुन्छ ।’

उनले कात्तिक अन्तिम सातादेखि सडक निर्माणको कामसमेत थाल्ने बताए । अहिले म्याद थपकै चरणमा रहेको र म्याद थप नभए पनि काम नरोकिने मल्लको जिकिर छ । ‘निर्माणको १५ दिनजतिमा सकिन्छ, हामी अर्को सातादेखि काम सुरु गर्छौं,’ प्रतिनिधि मल्लले भने, ‘निर्माणका लागि भारतबाट श्रमिक आउनुपर्ने अवस्था छ, छठपर्व मानेर मात्रै आउने भनिएका कारण काम गर्न सकिएन ।’

मेसिन चालू गरिने र अस्फाल्टको काम बाँकी रहेको उनले जनाए । पटकपटक म्याद थप गरिरहने, निर्माणको कामचाहिँ रोकिरहने ? भन्ने प्रश्नमा उनले भने, ‘मेडियनको भागमा माटो पुर्ने काम पनि हुन्छ, धेरैमा अर्को साताबाट काम सुरु गर्छौं काम सुरु गरेपछि पुरै सम्पन्न हुन्छ ।’

चारकोसे जंगलको सडकको दायाँ–बायाँतर्फ मुख्य सडक ७–५–७–५ मिटरको बन्नेछ । बीचमा ३ मिटर मेडिएन, दुवै साइडमा २ दशमलव ५ मिटर खण्ड सोल्जर बन्नेछ । जंगल क्षेत्रमा चार लेन र सहरी क्षेत्रमा ६ लेनको सडक निर्माण हुनेछ ।

कतै अलपत्र, कतै ठेक्का लाग्न बाँकी
६ लेन सडक खण्डअन्तर्गत कतै काम अलपत्र छ भने कतै ठेक्का लाग्न बाँकी छ । ठेकेदार कम्पनीको मनोमानी र सडक विभागको उदासीनताका कारण सडक अलपत्र बनेको हो । इटहरी चोकदेखि उत्तरतर्फ धरान जाने सडकखण्डस्थित आँपगाछी क्षेत्रसम्म सडक निर्माण सम्पन्न भए पनि हस्तान्तरण हुन बाँकी छ ।

२ दशमलव ५ किलोमिटर सो सडकको साइडमा जाने एप्रोचमा कालोपत्रे गर्नुपर्ने काम बाँकी छ । सो सडकको काम स्वीकार भए पनि कार्य सम्पन्न हुन बाँकी रहेको हो । खासगरी मेडियनको भागमा स्ट्रिट लाइट लगाउन बाँकी रहेको छ ।

स्वच्छन्द–कान्छाराम–शैलुङ जेभी कम्पनीले २० असोज २०७४ मा ठेक्का सम्झौता गरेको हो । सम्झौताअनुसार २६ असोज २०७९ मा काम सम्पन्न हुनुपर्ने भए पनि ३ वर्ष बितिसक्दासमेत काम सम्पन्न भइसकेको छैन । सो सडकखण्डमा ८७ करोड १ लाख ९८ हजार २० रुपैयाँमा ठेक्का लागेको हो ।

उता, विराटनगरमा १२ दशमलव २ किलोमिटर सडकमध्ये १ दशमलव ५ किलोमिटर सम्पन्न भए पनि हस्तान्तरण हुन बाँकी छ । यसैगरी, सुनसरीस्थित दुहबी क्षेत्रमा सडक ठेक्का लाग्न बाँकी छ । स्रोत सुनिश्चितताको टुंगो नलाग्दा काम रोकिएको हो । यसअघि स्थानीयवासीले मुआब्जालगायतका माग राख्दै अदालतमा रिट दायर गरेका थिए । रिट दायर गरे पनि अदालतले सडक विभागकै पक्षमा फैसला गरेपछि साइड क्लियर गरिए पनि ठेक्का लाग्न बाँकी रहेको हो ।

दुहबी बजारको २ किलोमिटर सडकमध्ये १ दशमलव ३५० मिटर निर्माणाधीन छ । बाँकी सडक बजारको विवादित भागमा ठेक्काका लागि बहुवर्षीय स्रोत सुनिश्चितताका लागि फाइल उठाएर सडक विभागमा पठाइएको छ । ‘अब भौतिक मन्त्रालयबाट अर्थ मन्त्रालय जान्छ, अर्थ मन्त्रालयबाट स्रोत शुनिश्चितताको टुंगो लागेपछि मात्रै ठेक्का प्रक्रिया अगाडि बढ्छ,’ योजना कार्यालयका इन्जियिनर मोचीले भने, ‘बजारको भागमा काम हुन बाँकी छ, बजारको वारिपारि क्षेत्रमा निर्माण कार्य भइरहेको छ ।’

कार्यालयले काम भइरहेको आश्वासन बाँडे पनि ठूला खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको स्थानीवासी बताउँछन् । सबै बजार क्षेत्रमा फुटपाथबाहेक ३६ दशमलव २ मिटरको सडक निर्माण भइरहेको छ । सर्भिस लेन दुवैतर्फ ७–७ मिटर, मुख्य सडक ९–९ मिटर, बीचको मेडिएनको भाग ३ मिटर र डिभाइडर शून्य दशमलव ६१ मिटरको रहनेगरी डीपीआर तयार भएको थियो ।

एउटै खण्डमा नाली निर्माण, कुनै सडक निर्माणको काम भएका कारण भिन्नाभिन्नै कम्पनीले ठेक्कासमेत लिएका थिए । तर, ठेकेदारको लापरबाहीका कारण वर्षौंदेखि योजना अलपत्र बन्न पुगेको हो । कतिपय खण्डको डीएलपी पूरा भई सडक डिभिजन विराटनगरलाई हस्तान्तरण गरिएको छ । बाँकी खण्ड कहिले निर्माण हुने हो भन्ने निश्चित भइसकेको छैन ।

धरान क्षेत्रमा बन्ने योजना छैन
मुआब्जाको कुरा र साइड क्लियरिन्सको समस्याका कारण धरानमा ६ लेन सडकको काम अगाडि बढ्न सकेको छैन । विराटनगरको रानीदेखि धरानको जिरो प्वाइन्टसम्मको ४९ किलोमिटर सडकमध्ये हालसम्म ४४ दशमलव २७ किलोमिटर सडकमा ठेक्का लागेर निर्माण भइरहेमध्ये ३२ दशमलव ८४ किलोमिटर सडकखण्ड सम्पन्न भइसकेर सडक डिभिजन विराटनगरलाई हस्तान्तरण गरिएको छ ।

तर, धरानको तीनकुनेखि उत्तरतर्फ बजार क्षेत्रमा भने निर्माण हुनु त परको कुरा कुनै संवाद नै भएको छैन । धरानको जिरो प्वाइन्टसम्म बन्नेगरी काम थालिए पनि तीनकुने क्षेत्रबाट धरान बजार क्षेत्रमा भने काम अगाडि बढाइएको छैन ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बजार क्षेत्रमा सडक निर्माण नबढाउने जिकिर गरेसँगै प्रक्रिया नै अगाडि नबढेको हो । ‘धरानको बजार क्षेत्रमा सडक निर्माण हुने कुनै योजना छैन,’ इन्जिनियर मोचीले भने, ‘अहिले बजेट पनि छैन, यसअघि निर्माणका लागि ठेक्का व्यवस्थापन भएको भए हुन्थ्यो, अब सम्भावना न्यून छ ।’

आर्थिक वर्ष २०६९–७० बाट सुरु गरिएको सो योजनामा कुल १० अर्ब १७ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । ६ लेन सडक राष्ट्रिय गौरवको परियोजनाका रूपमा सुरू भएको थियो । तर, प्रणालीगत कमजोरी, ठेकेदारको निष्क्रियता र सरकारी निगरानी र समन्वयको अभावले पटपकटक विवादास्पद बनाएको छ ।

ठेक्का तोड्दै भौतिक मन्त्रालय
सडक निर्माणको जिम्मा लिएर कामै नगर्ने निर्माण कम्पनीसँग सरकारले ठेक्का तोड्न थालेको छ । खासगरी भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय मातहत एक वर्षको अवधिमा १ सय २० भन्दा बढी ठेक्का तोडिएको छ ।

भौतिक मन्त्रालयले रुग्ण ठेक्का अध्ययनबाट ५ सय ८६ ठेक्कालाई रुग्ण पहिचान गरेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु