वाम दल जुट्दा–फुट्दा कांग्रेस कार्यतालिकामै फनफनी

आन्तरिक विवादमा दलहरू

काठमाडौं । जेनजी आन्दोलनपछि मूलधारका र साना भनिएका वामपन्थीसहितका राजनीतिक दलहरू फुट्ने र जुट्नेक्रम तीव्र छ ।

वाम दलबीच टुटफुटको क्रम जारी रहँदा नेपाली कांग्रेसभित्र भने महाधिवेशन कार्यतालिकाको विषयलाई लिएर विवाद बढ्दो छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीसहितका नौ दलबीच एकीकरणको सहमति जुटाएलगत्तै उनका पार्टीका उपमहासचिव जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीलगायतका नेता एकता प्रक्रियामा सहभागी नहुने भएका छन् ।

उता, कांग्रेसमा कार्यवाहक सभापति पूर्णबहाुदर खड्काले राखेको महाधिवेशन प्रस्तावमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका संस्थापनइतर पक्षका नेताहरूले असहमति जनाइरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल त औपचारिक रूपमै विभाजन भएर एकता र ध्रुवीकरणको प्रक्रियामा गइसकेको घोषणा गरिरहेका छन् ।

नेपाली कांग्रेसमा १५औं महाधिवेशको मिति विषयलाई लिएर विवाद चर्किंदै गएको छ । तीन साता अघिदेखि जारी केन्द्रीय समितिको बैठक विवादकै कारण स्थगित हुँदै आएको छ । बैठक मंगलबार बस्ने भनिएको छ । तर, नेताहरूका बीचमा सहमति हुन नसक्दा बैठक लम्बिँदै गएको छ ।

संस्थापन पक्षले २१ फागुनको निर्वाचनपछि १५औं महाधिवेशन गर्ने पक्षमा छन् भने संस्थापनइतरका नेताले निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार कार्यतालिका केन्द्रीय समिति बैठकबाट ल्याउनुपर्ने अडानमा छन् ।

सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि सहमति जुटन सकेन । नियमित महाधिवेशन २१ फागुनको निर्वाचनअघि नै गर्नुपर्ने र यदि नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा नेताहरू डा. शेखर कोइराला, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरू छन् ।

तर, कार्यबाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्कासहित संस्थापन पक्षका नेताहरूले निर्वाचनअघि नै नियमित महाधिवेशन सम्भव नभएकाले निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने पक्षमा अडिग छन् । नियमित महाधिवेशनको तालिकामा संस्थापन र इतर पक्षबीच टसमस नभएपछि सहमति हुन नसकेको हो ।

सहमति भए वा नभए पनि मंगलबारको केन्द्रीय समिति बैठक बस्ने र छलफल गर्दै निष्कर्षमा पुग्ने महामन्त्री शर्माले जनाएका छन् । नियमित महाधिवेशनको कार्यतालिका नल्याएपछि यसअघि बैठक बहिष्कार गरेका महामन्त्री थापा पनि बैठकमा सहभागी हुने बताइन्छ ।

यसअघि गत बिहीबारको बैठकमा कार्यतालिका प्रस्तुत गर्न नपाएपछि थापा बैठकमा अनुपस्थित भएका थिए । उनको अनुपस्थितिपछि सहमतिका लागि चार दिन बैठक रोकेर सहमतिको प्रयास गरिए पनि कुनै सहमति हुन सकेको छैन ।

ललितपुरको धोबीघाटमा सोमबार बिहानदेखि बसेको बैठकमा साझा कार्यतालिका तय गर्न सहमति जुटाउन नेताहरूबीच ‘वान टु वान’ र दुई पक्षीय छलफल भयो । तर, सहमति जुटाउन सकस भयो ।

कोइराला, थापा, शर्मा समूहले अगामी १६ देखि १९ पुसमा १५औं महाधिवेशन गर्नुपर्ने अडानमा छ । उनीहरूले यही मितिमा सहमति गरेर नियमित महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएका छन् । तर, संस्थापन पक्षले मिति नतोके पनि २१ फागुनको निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छ । संस्थापन पक्षले २०८३ वैशाख–जेठमा महाधिवेशन गर्नुपर्ने अडान लिँदैआएको छ ।

संस्थापनइतर समूहले पुसको मितिसहित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरिए संस्थापन पक्षबाट सहमहामन्त्री महेन्द्रराय यादवले वैशाखको कार्यतालिकासहित कान्टर प्रस्ताव राख्ने तयारी भएको छ ।

सहमति जुटाउन धोबीघाटमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार चल्दैगर्दा दुवै समूहका गुटगत भेला, भेटघाट पनि चलिरहेको छ । संस्थापन पक्षको केन्द्रीय सदस्यहरूको भेला बानेश्वरस्थित आनन्दभूमिमा भयो ।

कोइराला समूहको भेलाले नियमित महाधिवेशनको मितिमा सहमति नजुटे विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्षमा पुगेको छ । कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेलाले नियमित महाधिवेशनको विषयमा सहमति नभए वैधानिक रूपमै विशेष महाधिवेशन जानुपर्ने जनाएको छ ।

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन गरी बुझाएका नेताहरूले सोमबार कोइरालालाई भेटेर विशेष महाधिवेशनको पक्षमा उभिन दबाब दिएका थिए । कोइरालालाई विशेष महाधिवेशनको पक्षमा उभिन दबाब दिन गुरुराज घिमिरे, देवराज चालिसे, मनोजमणि आचार्यलगायतका नेताहरू उनको सम्पर्क कार्यालय पुगेका थिए ।

यसैबीच, कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले दुई महामन्त्री थापा र शर्माले पार्टीलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएका छन् । दुई महामन्त्रीको पार्टी कब्जा गर्ने रणनीति सफल हुन नदिने निधिले जनाएका छन् ।

निर्वाचनमा भाग लिने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै निधिले निर्वाचन सम्बन्धमा पार्टीमा विवाद नभएको दाबी गरे । जनता र देशसँगको सरोकारको विषय भएकाले पहिला निर्वाचनको विषयमै निर्णय गरौं भन्दा पनि नमानेपछि केही पदाधिकारीमाथि आफूहरूको शंका लागेको उनले टिप्पणी गरे ।

पूर्वपदाधिकारीहरू निधिलगायत गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, प्रकाशरण महत शशांक कोइरालासहितका नेताहरूले महाधिवेशन टार्ने प्रयास गरिररहेको आरोप कोइराला–थापा समूहका नेताहरूले लगाउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 125 times, 1 visits today)

epaper

ताजा समाचार

प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी, उजुरीकर्तासँग भोलिदेखि छलफल