काठमाडौं । अभिनेत्री रिमा विश्वकर्मा गत २३ र २४ भदौको ‘जेनजी’ पुस्ताको आन्दोलनमा पुगेकी थिइन् । सो आन्दोलनसंग उनको नाम जोडिएर मिडियामा आयो । यसरी आन्दोलनमा नाम जोडिएपछि अभिनेत्री रिमा यति बेला प्रत्यक्ष रूपमा राजनीतिमा जोडिएकी छिन् । उनी यति बेला उर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा खुलेका नयाँ पार्टी ‘उज्यालो नेपाल पार्टी’मा अबद्ध भएकी छिन् । यो पार्टीको उनी संस्थापकमा ९ नं.को केन्द्रीय सदस्यमा रहेकी छिन् ।

अहिलेको सरकारले आगामी २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन तय गरेको छ । जसको लागि नयाँ पार्टी खोल्न तथा दल दर्ता गर्न निर्वाचन आयोगले ३० कात्तिकसम्मको समय तोकेको थियो । ३० कात्तिकसम्म खुलेका नयाँ राजनीतिक पार्टीहरूमा नेपाली चलचित्रका कलाकारहरू पनि सहभागी भएका छन् । यसै क्रममा निर्वाचन आयोगमा दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’मा अभिनेत्री रिमा विश्वकर्मा जोडिएकी हुन् । अब आफू सक्रिय राजनीतिमा लाग्ने उनले राजधानीलाई बताएकी छिन् ।
यस्तै नारीहरूको अधिकारका लागि आवाज उठाउँदै आएकी अभिनेत्री निशा अधिकारी पनि राजनीतिक पार्टीमा अबद्ध भएकी छिन् । वीरेन्द्रबहादुर बस्नेत संरक्षक तथा दिनेश प्रसाईँ अध्यक्षको रूपमा रहेको नयाँ दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी केन्द्रीय सदस्यको रूपमा जोडिएकी हुन् । २३ कात्तिकमा काठमाडौँमा स्वतन्त्र नागरिक मञ्च नेपालले आयोजना गरेको ‘संविधान, शासन प्रणाली र जन अपेक्षा’ शीर्षकमा आफ्नो भनाई राख्ने क्रममा अभिनेत्री निशाले आफू राजनीतिमा अब सक्रिय रहने घोषणा गरेकी थिइन् । यो घोषणासँगै उनी अहिले ‘गतिशील लोकतान्त्रिक पार्टी’ जोडिएर राजनीतिमा लागेकी छिन् ।

२०७९ माघमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर राजनीतिमा लागेकी अभिनेत्री एवम् मोडल एलिजा गौतम सो पार्टी छाडेर यसै साता खुलेको नयाँ राजनीतिक पार्टी ‘जनादेश पार्टी नेपाल’मा जोडिएकी छिन् । अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा स्थापना भएको यो पार्टी मंगलबार दर्ता भएको थियो । यो पार्टीमा अभिनेत्री एवम् मोडल एलिजा संस्थापक उपाध्यक्ष रहेकी छिन् । आफ्नो श्रीमान् ऋषि धमलाको प्रेरणाले राजनीतिमा आएकी उनले यो पार्टीमा उपाध्यक्ष भएसँगै अब राजनीति यात्रामा सक्रियताका साथ अघि बढ्ने बताएकी छिन् । पुराना पार्टीहरूमाथि नयाँ पुस्ताको विश्वास टुटेको बेला नयाँ पुस्तालाई समेत समेटेर आफूहरूले यो नयाँ पार्टीको स्थापना गरेको पनि उनले बताएकी छिन् ।
यसरी यति बेला खुलेका नयाँ तीन राजनीतिक पार्टीसँग तीन अभिनेत्री रिमा विश्वकर्मा, निशा अधिकारी र एलिजा गौतम जोडिएका छन् । एक थरी चलचित्रकर्मीहरूले कलाकार स्वतन्त्र हुनुपछि भनिरहेको बेला केही कलाकार भने खुलेर राजनीतिमा आएका छन् । सदस्यता नलिए पनि यस अघि राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहसँग नजिक रहेका निर्माता एवम् अभिनेता रवीन्द्र सिंह बानियाँ र निर्देशक प्रदीप भट्टराई कलाकारहरू राजनीतिमा आउनुलाई स्वाभाविक मान्छन् । ‘हिजो पञ्चायतमा कलाकारहरू राजासँग नजिक थिए भने देशमा प्रजातन्त्र र गणतन्त्र आएपछि विभिन्न कलाकारहरू राजनीतिक पार्टीसँग यस अघि पनि जोडिएकै हुन नि । पुरानो राजनीतिक पार्टीहरूले जनहितमा राम्रो काम नगरेपछि कलाकारहरू नयाँ पार्टीमा जोडिएकी हुन्,’ अभिनेता रवीन्द्रले राजधानीसँग भने । आफू राजनीतिक पार्टीहरूलाई मिलाउने पक्षमा भए पनि हाललाई कुनै पनि पार्टीको सदस्यता नलिने उनले बताए ।

चलचित्र निर्देशक प्रदीप भट्टराईले भारत लगायत विभिन्न देशमा कलाकारहरू राजनीतिमा आएर सांसद देखि मन्त्रीसम्म भएको उदाहरण दिँदै नेपाली कलाकार राजनीतिमा आउनु सकारात्मक भएको बताए । यसो भन्दै गर्दा आफू हाललाई कुनै पनि पार्टीको सदस्यता नलिने र राम्रो नेतालाई समर्थनसँगै मतदान गर्ने उनले बताए ।
मुलुकमा नयाँ राजनीतिक पार्टी खुल्दा त्यसमा कलाकारहरू जोडिनु स्वाभाविक जस्तै भएको छ । २०६८ सालमा तत्कालीन नेकपा माओवादीले कलाकारलाई पार्टीमा जोडिन आह्वान गर्दा अध्यक्ष प्रचण्डसँग टिका लगाएर ६ दर्जन भन्दा बढी कलाकार सो पार्टीमा जोडिएका थिए । अभिनेत्री रेखा थापा पनि त्यति बेला प्रचण्डको हातबाट टिका लगाएर माओवादीमा जोडिएकी थिइन् । तर प्रतिनिधि सभाको निर्वाचनमा उपयुक्त ठाउँबाट टिकट नपाएपछि २७ मंसिर २०७३ मा माओवादी छाडेर उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थिइन् । अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेकी रेखा जुनसुकै पार्टीमा जोडिए पनि कलाकारहरू राजनीतिमा आउनु स्वागत योग्य कुरा हो भन्छिन् ।

रेडियो नेपालको जागिर छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिएकी गायिका कोमल ओलीले रेखालाई राप्रपामा भित्राएका थिइन् । त्यसको केही समयपछि उनी आफैँ नेपका एमालेमा प्रवेश गरिन र राष्ट्रिय सभाको सांसद समेत भइन् । जेनजी पुस्तका आन्दोलनकारीले गत २४ भदौमा उनको घर र होटेलमा समेत आगो लगाएर ध्वस्त बनाए । सो घटनापछि आफू एमाले राजनीतिमा अझ कटिबद्ध भएर लाग्ने उनले बताएकी छिन् । कलाकारहरू राजनीतिमा आउनु पर्छ भन्ने मान्यता कोमल ओलीको पनि छ ।
रेखा थापासँगै पार्टी अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर नेकपा माओवादीमा प्रवेश गरेका राजेन्द्र खड्गी, युवराज लामा, मौसमी मल्ल, चेतन सापकोटा, उदय कुमार सुब्बा, विमला केसी, छबिराज ओझा, राजु केसीसहित थुप्रै कलाकारहरू अहिले प्रचण्डको संयोजनमा हालै खुलेको ‘नेपाल कम्युनिस्ट पार्टी’सँग आबद्ध छन् । यही पार्टीको भातृ संस्था ‘अखिल नेपाल चलचित्रकर्मी संघ’का अध्यक्ष रहेका चलचित्र निर्देशक उदय कुमार सुब्बा सबै चलचित्रकर्मीहरू राजनीतिमा जोडिनु पर्छ भन्छन् । राजनीतिले कलाकारहरूलाई अझ चेतनशील बनाउने भएकाले कलाकार राजनीतिमा जोडिनु राम्रो कुरा भएको उनको कथन छ ।

यस्तै नेपाली कांग्रेससँग अबद्ध रहेर पनि धेरै कलाकारहरू राजनीतिमा छन् । सो पार्टीको भातृसंस्था ‘नेपाल सांस्कृतिक संघ’मा रहेका कलाकार रवीन्द्र खड्का, तीर्थ थापा, सम्झना रौनियार, मनोज केसी, राशनी केसीसहित धेरै कलाकार राजनीतिमा छन् । अग्रज कलाकार नीर शाह पनि नेपाली कांग्रससँग आबद्ध छन् ।
यस्तै नेकपा एमालेसँग आबद्ध रहेका दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि सो पार्टीको सबै भातृ संस्थाबाट राजीनामा दिए । अहिले एमालेसँग आबद्ध चलचित्रकर्मीहरूको संस्था ‘जनपक्षीय चलचित्रकर्मी संघ’मा रहेर कलाकारहरू उत्तम केसी, सुशील पोखरेल, वसन्त राज रिजाल, रिमेश अधिकारी, सवनम मुखिया, भिमा मैनाली, प्रदर्शक नरेन्द्र महर्जन, सुनिल मानन्धरले राजनीति गर्दै आएका छन् ।







