‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ संस्कृत श्लोकको अर्थ ‘जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ’ भन्ने हुन्छ । अहिले समाजमा आप्mना सन्तान बिदेसिएर बुबाआमाले एक्लो जीवन जिउनुपरेको कथा व्यथा बग्रेल्ती छन् । युवापुस्ता घरपरिवार तथा स्वर्गसमान जन्मभूमि छाडेर अरूको देशमा ‘माहुरी पुतलीमा झुम्मिए’झंै होमिएका छन् ।
युवापुस्तालाई किन विदेश मोहले तान्यो ? किन उनीहरूले स्वदेशमै श्रमको मूल्य खोजी गरेनन् ? घरपरिवार, गाउँ, देश छाडेर बिदेसिनुको पछाडि रहर हो कि बाध्यता ? के देशभित्र श्रम गर्ने कुनै अवसर नभएर नै युवा परदेसिएका हुन् त ? अथवा देशभित्र श्रम गर्ने अवसर खोजी नै नगरी विकसित देशमा पलायन भएका हुन् ?
युवा विदेश जाने अभ्यास प्रजातन्त्र पुनस्र्थापनापछाडि सुरु भएको हो । गणतन्त्र स्थापना भएपछि विदेश जाने युवा संख्या ह्वात्तै बढ्यो । पछिल्लो तथ्यांकअनुसार अहिले लाखौंको संख्यामा युवा विदेशमा छन् । नेपालको नागरिकता नै त्यागी अमेरिका, अस्टे«लिया, युरोपलगायत देशमा स्थायी बसोबास गर्ने नेपालीको संख्या पनि ठूलो छ ।
पुर्खाले आर्जेको सम्पत्ति, खेतबारी, घरघडेरीसमेत बेवास्ता गरी अर्काको देशको नागरिकता लिएर बस्ने युवा श्रमका लागि गएका हुन् कि ‘श्री’को खातिर ? जवाफ सहज छ, ‘श्री’भन्दा जीवन जुगारा गर्ने सवाल ठूलो भएकाले रोजगारीका लागि युवापुस्ता बिदेसिएको हो । साथै, ‘देशमा केही पनि गर्न सकि“दैन’ भन्ने दृष्टिकोण विकास हुँदा युवाले स्वदेशमा आयआर्जनका बाटा पहिचान गर्ने कोसिससम्म नगरेको देखिन्छ ।
नाट्यसम्राट बालकृष्ण समद्वारा रचित कवितामा ‘देश भक्ति त मर्दैन, चुत्थै देश भए पनि’ भनिएको छ । उनको कवितामा भनिएजस्तो युवापुस्तामा देशभक्तिको भावनाले व्यावहारिक जीवनमा काम नगरेको देखिन्छ । हो, देश सम्पन्न हुन सकेको छैन । रोजगारीका अवसर अभाव छ । राजनीतिक विसंगति र कुशासनले देश थलापरेको छ । कृषि प्रणाली परम्परागत शैलीमा छ । एक शब्दमा भन्दा नेपाली समाज गरिबी र अभावको चपेटामा छ । तर, देश निर्माण गर्ने काम हरेक नेपालीको हो । देश विकास नभई सबैलाई आर्थिक आयआर्जनको अवसर हुन सक्दैन ।
त्यसो त, देशभित्रै अवसर खोजी गरी स्वरोजगार बनेर आयआर्जन गर्ने नागरिक पनि नभएका होइनन् । कतिपय युवाले आधुनिक कृषि उत्पादन क्षेत्रमा लागेर आयआर्जन गरेका छन् । आधुनिक पशुपालन, पुष्पखेती, कुखुरापालन, च्याउखेती, माहुरीपालनलगायत आयआर्जनका क्षेत्रमा संलग्न छन् ।
नेपाललाई दक्षिण एसियाकै धेरै युवा जनशक्ति भएको देश भनिए पनि अहिले गाउँघरमा युवा न्यून मात्रामा छन् । दैनिक ३ हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । स्वदेशमै श्रम गरी आयआर्जन गर्ने, सामाजलाई योगदान दिने र इज्जत–प्रतिष्ठा कमाउने मेसोमा युवा छैनन् । युवामा ‘१० जोड २’ सकेपछि विदेश जाने मनोविज्ञान विकास भएको पाइन्छ । वास्तवमा घरपरिवार, समाज र देश छाडेर श्रम गर्नकै लागि बिदेसिनुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य नभएसम्म देश तीव्र विकासको गतिमा अगाडि बढ्न सक्दैन ।
नेपाललाई दक्षिण एसियाकै धेरै युवा जनशक्ति भएको देश भनिए पनि अहिले गाउँघरमा युवा न्यून मात्रामा छन् । दैनिक ३ हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । स्वदेशमै श्रम गरी आयआर्जन गर्ने, सामाजलाई योगदान दिने र इज्जत–प्रतिष्ठा कमाउने मेसोमा युवा छैनन्
जसरी युवाको त्याग, तपस्या र बलिदानका कारण इतिहासका विभिन्न कालखण्डमा राजनीतिक व्यवस्था परिवर्तन भए, त्यसरी नै युवाको जोस, जाँगर, ज्ञान, सीप र हिम्मत उपयोग नगरेसम्म देशले विकासको काँचुली फेर्न सक्दैन । विश्वका भौतिक विकास भएका राष्ट्र अमेरिका, युरोपेली देशलगायत भारत, चीन, जापान, मलेसिया, सिंगापुरलगायत देशले विकासको गति बढाउनमा युवाश्रमले अग्रगामी भूमिका खेलेको छ ।
युवापुस्ता पलायन हुनुको पछाडि एकातिर राजनीतिक अस्थिरता, भ्रष्टाचार र युवामैत्री ठोस योजना अभाव हो भने अर्कोतिर देशको शैक्षिक प्रणालीले शिक्षित जनशक्तिमा व्यावसायिक सीप, सिर्जनात्मक ज्ञान तथा स्वदेशीपन प्रदान गर्न नसक्नु हो । राजनीतिक दल र सत्तामा पुग्न सफल नेतृत्वमा ‘भिजन, मिसन र एक्सन’ अभाव रहेकाले शिक्षामा राष्ट्रियता, व्यावसायीकरण हुन सकिरहेको छैन । अनुसन्धानमैत्री, रोजगारमूलक तथा जीवनोपयोगी शिक्षा अभावले बेरोजगार बढाएको छ । विश्वविद्यालय बेरोजगार युवा जनशक्ति उत्पादन गर्ने थलोका रूपमा सञ्चालन भएका छन् । यसर्थ, शिक्षित जनशक्ति विश्व श्रमबजारमा जान बाध्य भइरहेका छन् ।
विकासवादी भन्छन्, ‘हाम्रा राजनीतिक दलका नेतामा देश विकास गर्ने प्रस्ट मार्गचित्र अभाव छ । साम, दाम, दण्ड, भेद गरी सत्तामा जाने र बेथितिमा रमाउने नेतृत्वका कारण देशले विकासको गति लिन सकेन । उद्योगधन्दा स्थापना हुन सकेनन् । रोजगारी सिर्जना हुन सकेन । स्वदेशमै काम गर्न चाहने नागरिकले पनि श्रम गर्न पाएनन् । आर्थिक आयआर्जनका बाटा र पाटा नपाएपछि युवा श्रमका लागि बिदेसिन बाध्य छन् ।’
खेतबारी बा“झै राखेर, घरपरिवार छाडेर विश्वबजारमा श्रम गर्न जाने रहर युवाको होइन । तर, गास, बास र कपास जोहो गर्ने कहर उनीहरूको काँधमा आइपरेपछि परिवारको चुलोचौका चलाउन र छोराछोरी पालनपोषण तथा शिक्षादीक्षा प्रबन्ध गर्नका लागि विदेशमा श्रम र ‘श्री’बेच्न बाध्य भएका हुन् । देश विकास गर्ने युवाको श्रम र पसिनाले हो । राज्यले युवाश्रमको मूल्य बुभ्mन सकेको छैन । युवालाई इज्जत दिन सकेको छैन । राजनीतिक परिवर्तनका लागि युवालाई सडकमा प्रयोग गर्ने तर सत्तामा पुगेपछि शब्दजालको व्यापार गरेर देश र जनतालाई ठग्ने काम भइ नै रहेको छ । युवा पलायन हुनाले देशका राष्ट्रिय परियोजना तोकिएको समयमा सम्पन्न हुन सक्दैनन् । ठेकेदार श्रम गर्ने कामदार पाउन छाडेको गुनासो गर्छन् ।
प्रजातन्त्र पुनस्र्थापनापछाडि देशलाई औद्यगीकरण गरी युवाश्रम विकास निर्माणमा लगाउनुपर्नेमा राज्यले विभिन्न देशस“ग श्रम सम्झौता गरेर युवा निर्यात गर्ने नीति लिएको छ । राज्यले युवालाई स्वदेशमै श्रम गर्ने ठाउँ सिर्जना गर्नुपथ्र्याे । यसो हुन सकिरहेको छैन । ‘देश युवाविहीन बनाएर विकासले कसरी गति लिन सक्छ ? आर्थिक समृद्घि कसरी हुन सक्छ ?’ राज्यस“ग कुनै जवाफ छैन ।
नेपाल कृषिप्रधान देश हो । तर, कृषिप्रधान देशमै खाद्यान्न अभाव छ । खाद्यान्नमा दिन प्रतिदिन परनिर्भरता बढ्दै छ । हाम्रा युवा अरूको देशमा गएर कृषि क्षेत्रमा श्रम गरिरहेका छन् । न्यून ज्यालामा श्रम बेचिरहेका छन् । अहिले खद्यान्न आयात नगर्ने हो भने नेपालीको चुलो नबल्ने अवस्था छ । चामल, दाल, गेडागुडी, तरकारी, प्याज, लसुन, धनियाँ, फलपूmल, माछामासुलगायत आयात हुने गरेका छन् ।
हाम्रो देशको सन्दर्भमा विकास र आर्थिक समृद्घिको पहिलो आधार समग्र कृषि क्षेत्रको आधुनिकीकरण हो । पशुपालन क्षेत्रको व्यवसायीकरण हो । आर्थिक समृद्घिका लागि युवालाई स्वदेशमै आधुनिक तरिकाको कृषि, पशुपालन, मत्स्यपालन, माहुरीपालन, रेशम खेती, फलफूल खेती, तरकारी खेती, पुष्प खेती, पर्यटन, घरेलु उद्योगलगायत क्षेत्र आयआर्जनको स्रोत बनाउनुपर्छ । यसका लागि देशका युवालाई व्यावसायिक तालिमसहित दक्ष बनाएर उत्पादनशील कार्यमा लगाउनुपर्छ ।
अहिले ‘गाउँगाउँमा सिंहदरबार’ भनिएको छ । यस सन्दर्भमा हरेक स्थानीय तहमा युवा स्वरोजगार आयोजना स्थापना गरी उनीहरूलाई योग्यता, रुचि र चाहनाका आधारमा व्यावसायिक तालिम दिएर आयआर्जनमा आत्मनिर्भर बनाउने काम गर्नुपर्छ । स्थानीय सरकारले केन्द्र तथा प्रदेश सरकारस“ग समन्वय गरी आप्mना पालिकामा हावापानी, माटो अनुसन्धान गरी पशुपालन र कृषिजन्य उत्पादनको सम्भावनाका आधारमा युवालाई कृषि शिक्षाका तालिम व्यवस्था गर्नुपर्छ ।
आफ्नै गाउँघरमा आयआर्जन क्षेत्र पहिचान गर्ने, व्यवसाय खोज्ने, रोज्ने र टिकाउने कार्यमा युवालाई प्रशिक्षित तथा प्रेरित गर्नुपर्छ । यसो हुनसके बाँझिएका खेतबारी उर्वर हुन थाल्छन् । भत्किएका गोठ पुनर्निर्माण भई आधुनिक पशुपालन फर्मका रूपमा विकसित हुन्छन् । युवा रोजगारीका लागि विदेश जानेक्रम रोकिन्छ । विदेशमा भएका युवा विस्तारै घर फर्केर कृषि उत्पादन क्षेत्रमा संलग्न हुन थाल्छन् । युवापुस्तामा श्रम र श्रीको मूल्य ‘स्वदेशमा जति सम्मानित छ, त्यति परदेशमा हुन सक्दैन’ भन्ने आत्मबोध हुन थाल्छ ।






