कांग्रेसमा महाधिवेशन अन्योल यथावत्, केन्द्रीय समिति बैठक फेरि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः सरेको छ। आज (बिहीबार) का लागि तय भएको बैठक यही शनिबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यो सँगै कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा देखिएको अन्योल कायमै रहेको हो ।

पटकपटक सर्दै आएको कांग्रेस केन्द्रीय समितिको बैठक अब शनिबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ । यसअघि कात्तिक ३० गतेको सूचनाअनुसार मंसिर १ गतेका लागि निर्धारित बैठक पनि स्थगित गरी आजका लागि तोकिएको थियो ।

बैठकको मुख्य एजेन्डा पार्टीको १५ औं महाधिवेशन र आगामी प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा निर्णय लिनु रहे पनि विशेष महाधिवेशनको बहसले प्राथमिकता पाइरहेको छ । पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलनसमेत भइसकेको अवस्थामा संस्थापन पक्षका नेताहरू भने चुनावपछि नै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

गत असोज २८ गतेबाट सुरु भएको यस बैठकमा कात्तिक २७ गतेसम्म केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा राख्ने क्रम सकिएको थियो । त्यसपछि कात्तिक २९ र मंसिर १ गतेका लागि तय गरिएका बैठकहरू पनि स्थगित भई आजका लागि निर्धारण गरिएको थियो, जुन अब शनिबारका लागि सरेको छ ।

विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले पार्टीलाई नयाँ ऊर्जा दिनुपर्ने तर्क गरिरहेका छन् भने संस्थापन पक्षले संसदीय निर्वाचनको तयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । नेपाली कांग्रेसको यो केन्द्रीय समिति बैठकले पार्टीको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार