काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै नेताहरुसँग भेटघाटमा सक्रिय भएका छन् । आफ्ना समूहका नेतालाई सभापति देउवाले निवास चुनदेवीमा बोलाएर भेटघाट गरेका हुन् । शुक्रबार राति सिंगापुरबाट फर्केका देउवाले शनिबार संस्थापन पक्षका चार नेतासँग सामूहिक छलफल गरेका हुन् ।
देउवालाई भेट्न चार नेता शनिबार साँझ उनको भाडाको निवासमा पुगेका थिए । जेन जेड आन्दोलनमा घाइते भएका देउवा उपचारपछि चुनदेवीमा बस्दै आएका छन् । शनिबार साँझ भएको छलफलमा प्रवक्ता डा. प्रकाश शरण महत, नेताहरू एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । देउवाले नेताहरूलाई डाकेर पार्टीको विवाद’bout छलफल गरेका हुन् ।
भेटमा सहभागी महतले भने, ‘चुनावको तयारी गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीको विवाद तपाईँहरू मिलाउनुस् भन्ने आशय थियो । उहाँको कुरा सुन्दा चुनावपछि नै महाधिवेशन गर्दा उपयुक्त हुने जस्तो लाग्यो ।’
काँग्रेसमा चुनाव अघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने दुई प्रकारका धारणाहरू आएका छन् । संस्थापन पक्षका शीर्ष नेताहरू चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने अडान राखिरहेका छन् ।






