काठमाडौं । सरकारसँगको वार्तामा सहमति जुटेसँगै दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान नेपालले आइतबार गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ ।
शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा सरकारसँग भएको वार्तापछि प्रसाईं नेतृत्वको समूहले आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको हो । सरकारसँगको वार्ताका लागि सो समुहका सदस्तहरू शनिबार साँझ बालुवाटार पुगेका थिए ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्द नारायण तिमिल्सिना लगायत सहभागी थिए ।
सोही वार्ताको क्रममा सहमति जुटेपछि आइतबार गर्ने भनिएको आन्दोलन फिर्ता लिने र अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वार्ताको क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको प्रधानमन्त्री शुशिला कार्कीको सचिवालयले जनाएको छ ।
यसअघि प्रसाईं नेतृत्वको महाभियानले आइतबारबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम घोषणा गरेको थियो । सरकारसँगको वार्तामा यस महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो । साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाईं थिए ।
दुर्गा प्रसाईं भने हाल जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा छन् ।
सरकार र महाभियान नेपालका प्रतिनिधिबीच बालुवाटारमा लामो वार्ता भएको थियो । सो वार्तामा महाअभियानले उठाएका विभिन्न २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको थियो । छलफलका क्रममा नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको छ ।
सोही सहमती बमोजिम महाअभियानले अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिन सहमति जनाएको हो ।
सम्बन्धित समाचार
प्रतिनिधिसभा ब्युँताउन जुटे कांग्रेस–एमाले
जेन जेड आन्दोलनमा विध्वंस मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ
सामाजिक सञ्जाल नियमनमा गृहमन्त्रीले थाले छलफल
प्रधानमन्त्री निरन्तर निर्वाचनलक्षित संवादमा
महाधिवेशन मिति तयवारे देउवा समूह विभाजित, दुवै पक्ष आन्तरिक छलफलमा
राप्रपा महाधिवेशन निर्वाचन समिति विवादको घेरामा
‘प्रतिशोध र प्रतिकार’ राजनीतिको खतरा






