खोटाङको बुँवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा

मोटरेबल पक्की पुलको रिवन काटेर उद्धघाटन गर्नुहदै कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईलगायत ।

खोटाङ । खोटाङको जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुँवाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल शनिबार कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिक उद्घाटन गरेका छन् ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको १७ करोड ५८ लाख ६९ हजार ७२९ लागतमा बनेको उक्त पुल १४८ मिटर लामो मोटरेबल पक्की पुल हालसम्म खोटाङमा बनाइएका पक्की पुलमध्ये सबैभन्दा लामो पुल हो । उक्त पुल तोकिएको समयभन्दा वर्षदिन अघि नै निर्माण सम्पन्न भएको छ ।

जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान र बराहपोखरी गाउँपालिका–५ को पौवासेराको बीचमा रहेको बुँवाखोलामा निर्मित उक्त पुल सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगरलगायत पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयसँग विसं २०८१ वैशाख ३० गते भएको सम्झौतामा बुँवाखोला मोटरेबल पक्की पुल निर्माण सम्पन्न गर्ने अन्तिम मिति विसं २०८३ कातिक २१ गतेसम्म तोकिएको थियो तर निर्माण कम्पनी जय बागेश्वरी–रेग्मी–चुलिया जेभीले यसअघि नै निर्माणको काम पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिए ।

खोटाङको जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुँवाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल ।

मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएपछि खोटाङका दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनजीवनमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । बुँवाखोलाको मोटरेबल पुल सञ्चालनमा आएपछि खोटाङका बासिन्दालाई पूर्वी तराईका जिल्ला आवतजात गर्न लामो बाटो र जोखिमपूर्ण नदी पार गर्नुपर्ने बाध्यतासमेत अन्त्य भएको भएको छ । उक्त पुल बनेपछि स्थानीयहरू उदयपुरको बेलटार हुँदै धरान, विराटनगर, इटहरी, सुनसरी, मोरङ र झापा छोटो दूरीमै पुग्न सकिने छ ।

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको बङ्शिलाघाट–देविस्थान–चिसापानी सडकखण्डमा पर्ने बुँवाखोलामा मोटरेबल पक्की पुल बनेपछि साना–ठूला सवारी सहजै गुड्न थालेका छन् । दैनिक जीवन, बजार आपूर्ति र सेवासुविधामा ठूलो सहजता भएको छ । बुँवाखोला मोटरेबल पक्की पुलमार्फत पालिकालाई प्रदेश राजधानी विराटनगरसँगको आर्थिक तथा प्रशासनिक केन्द्रहरूसँग जोड्ने योजना पूरा भएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले बताइन् ।

नेपालमा निर्माण व्यवसायीका विरुद्ध जिम्मा लिएको काममा ढिलाइ गर्ने, काम अलपत्र पार्ने भन्ने आलोचना सामान्य छ तर बुँवाखोला मोटरेबल पुल निर्माण कम्पनीका प्रतिनिधि महेश रेग्मीको टिमले तोकिएको अवधिभन्दा वर्षदिन अघि नै सम्पन्न गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

कैलालीको वन क्षेत्रमा करिब तीन लाख क्युफिट काठ कुहिँदै