प्रजातन्त्र पुनर्स्थापना २०४६ साल पछाडिको नेपाली समाजमा उत्पन्न समस्या नियाल्दा देश बनाउनेभन्दा बिगार्ने धेरै देखिए । अहिले समाजमा एउटा भाष्य निर्माण भएको छ । मानौं, देश बिगार्ने राजनीतिक दलहरू हुन् । अझै राजनीतिलाई सूक्ष्म विश्लेषण गर्नेले ‘देशलाई बर्बाद पार्नेहरू दलका शीर्ष नेतृत्व हुन्’ भन्ने गरेको सुनिन्छ । यस भनाइमा केही सत्यता भए पनि देशलाई आजको अवस्थामा पु¥याउने शीर्ष नेता मात्र जिम्मेवार छैनन् । उनीहरूका मतियार पनि त्यतिकै दोषी छन् । भ्रष्ट आचरण भएका नेतागण, शासक, प्रशासक, ठेकेदार, बिचौलियाका कारण देश आजको अवस्थामा आएको हो ।
देशको अवस्था एकै रात यस अवस्थामा आएको भने होइन । तीन दशकदेखिको असक्षम नेतृत्व र बारम्बार उही पात्र र प्रवृत्तिलाई मतदान गर्ने जनचेतना अनि अभ्यास पनि जिम्मेवार छ । ‘नयाँ नेपाल’ बनाउने नाममा माओवादीले चलाएको १० वर्षे युद्धले देश बनाउनेभन्दा बिगार्ने काम ग¥यो । माओवादी युद्धले समाजमा भौतिक क्षति मात्र गरेन, देशको धार्मिक तथा सांस्कृतिक अभ्यासमा मात्र प्रहार गरेन, सदियौंदेखि झाँगिँदै आएको सामाजिक मेलमिलाप, सद्भावलगायत क्षेत्रमा प्रभाव पा¥यो । समाजमा ‘नश्ल चेतना’को मन्दविष फैलाउने माओका चेला हुन् । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि पनि सकारात्मकभन्दा नकरात्मक कुरा धेरै भए ।
गणतन्त्र आएपछि राजनीतिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमिता व्याप्त भयो । देशमा अनावश्यक राजनीतिक संरचना खडा गरेर प्रशासनिक खर्च बढाउने काममा माओवादीको भूमिका देखियो । माओवादीकै कारण ठूलो संख्यामा सांसद संख्या, समानुपातिक निर्वाचन प्रणाली, प्रदेश सरकार, सुरक्षाकर्मी वृद्धिलगायत अदूरदर्शी कार्यले देशलाई आर्थिक रूपमा टाट पल्टाउने काम भयो । अहिले देश वैदेशिक ऋणमा चुर्लुम्म डुबेको छ ।
त्यसो त, देशका ठूला दल कांग्रेस र एमालेको प्रशंसा गर्ने कुनै ठाउँ देखि“दैन । माओवादीको राजनीतिक लाइनमा कांगे्रस र एमाले हि“ड्दा देशमा बेथिति र विसंगति चुलि“दै गएको हो । दलहरूको आपसी खिचातानीकै कारण २०६४ देखि २०७२ सालसम्म विकास निर्माणका कामलाई ओझेलमा पारेर संविधान बनाउने नाममा ८ वर्ष समय र अर्बांै रुपैयाँ खर्च गरियो । यति धेरै लगानी गरेर बनेको नेपालको संविधान, २०७२ ले पनि राजनीतिक, सामाजिक तथा आर्थिक न्याय गर्न नसकेको संविधानविद्को कथन छ । दलकै कारण देशका हरेक क्षेत्रमा राजनीतीकरण व्याप्त भयो । फलतः देशका संघ, संस्था, संस्थान, निगम, नियोग, आयोग, विद्यालय, विश्वविद्यालयलगायत क्षेत्र सुशासित, गुणस्तरीय तथा सेवामैत्री बन्न सकेनन् । ‘मेरिटोक्रेसी’ले काम गर्न सकेन । यस्तो राजनीतिक कार्य देश बिगार्ने मेसो हो । अक्षम्य कर्म हो ।
राजनीतिक कुकर्मका कारण भ्रष्टाचार तथा कुशासनले तहल्का मच्चाएपछि गत २३ र २४ भदौमा युवापुस्ताले आन्दोलन सुुरु गरे । आन्दोलनको पहिलो दिनमै विद्यालय पोसाकमा जेनजी उमेर समूहलाई गोली हानेर हत्या गर्ने काम भयो र २४ भदौमा जेनजीका नाममा ठूलो विध्वंश भयो । यो विध्वंश जसले जुन कारणका लागि गरे पनि अक्षम्य छ । दोषीलाई अझै पनि कारबाही भएको छैन । नेपाली समाजले परिवर्तन चाहेको छ । तर, परिवर्तनका नाममा हुने गरेका कार्य लोकतान्त्रिक छैनन् । देश र जनहितमा छैनन् ।
अहिले नेपाली समाज राजनीतिका नाममा टुक्राटुक्रा भएका छन् । पुराना दलका अग्रपंक्तिका नेतागण पुरानै सोचाइमा रुमलिइरहेका छन् । पुराना दलमा रहेका अनुभवी, जुझारु तथा देश, काल, परिस्थिति बुझेका युवा नेताले पुराना नेतालाई विस्थापन गर्न ठूलो कोसिस गरिरहेको देखिन्छ । यो कसरत कांग्रेस, एमाले र माओवादीमा प्रखर रूपमा रहेको छ । नयाँ नेतृत्वले गरेको यो पहल नेपाली समाजको पनि चाहना हो । तथापि, शीर्ष नेतृत्वले सत्ता हस्तान्तरण गर्ने कार्य ‘फलामको चिउरा’जस्तै भएको छ ।
जेनजी आन्दोलन र त्यसको परिणामले पनि चेत नखुलेका नेता दलगत सत्ता हस्तान्तरण गर्न आनाकानी गरिरहेका छन् । नेपालका ठूला राजनीतिक दलका शीर्ष नेतामा सत्ताका लागि जस्तोसुकै काम गर्न पनि पछाडि नपर्ने प्रवृत्ति देखिएको छ । उनीहरू पद र पैसाका लागि आपसी खिचातानी, गालीगलौज, टुटफुट र जुट जस्तोसुकै कार्य पनि गर्न अग्रसर रहे ।
जेनजी आन्दोलन र त्यसको परिणामले पनि चेत नखुलेका नेता दलगत सत्ता हस्तान्तरण गर्न आनाकानी गरिरहेका छन् । नेपालका ठूला राजनीतिक दलका शीर्ष नेतामा सत्ताका लागि जस्तोसुकै काम गर्न पनि पछाडि नपर्ने प्रवृत्ति देखिएको छ । उनीहरू पद र पैसाका लागि आपसी खिचातानी, गालीगलौज, टुटफुट र जुट जस्तोसुकै कार्य पनि गर्न अग्रसर रहे । नेताबाट गरिने यस्तो कार्य मुलुक र जनहितमा छैन । शीर्ष नेतृत्वले अझै पनि दल र सत्ता कब्जा गरेर बस्ने तर देश र जनताका पक्षमा काम नगर्ने हो भने समाजलाई क्षम्य हुन सक्दैन ।
जेनजी आन्दोलनको भरमा ‘केपी शर्मा ओली सरकार’लाई अपदस्त गरेर बनेको अहिलेको गैरराजनीतिक दलको सरकारले पनि देशका समस्या समाधान गर्नसक्ने संकेत देखाएको छैन । भ्रष्टाचार अहिले पनि उस्तै छ । सहकारीपीडितका समस्या ज्यूँका त्यूँ छन् । समस्याग्रस्त सहकारी विभागले प्रभावकारी काम गरेको छैन । यस विभागमा पनि राजनीतिक दलका मान्छे नियुक्त भएकाले काम हुन नसकेका आवाज आउने गरेका छन् । यदि, यसो हो भने ‘सुशीला कार्कीले किन काम गर्नसक्ने निष्पक्ष व्यक्तिलाई नियुक्त गरी पीडितको रकम फिर्ता गर्ने कार्य गर्दिनन् ?’ यस सरकारले अध्यादेश ल्याएर भए पनि सहकारीपीडितका समस्या समाधान गर्नुपर्छ ।
नेपाली समाजको पहिचान विविधतामा एकता हो । तर, अहिले समाज राजनीतिक दलको कित्तामा विभाजित छन् । एकले अर्कोलाई समर्थन नगर्ने विभिन्न दल खोल्ने र जनता विभाजन गर्ने काम तीव्र गतिमा भइरहेको छ । समाजमा चिनिएका सामाजिक अभियन्ताले नयाँ दल खोलेका छन् । हरेक दलबाट एकअर्कोलाई ‘कसरी बहिष्करण गर्न सकिन्छ ?’ भन्ने अभ्यास भइरहेका छन् । सामाजिक सञ्जाल दुरुपयोग गरी समाजलाई भ्रमित बनाउने काम पनि भइरहेका छन् । राजनीतिक दलको यस्तो क्रियाकलापले देश बनाउनेभन्दा बिगार्ने काम हुनेछ । देश हामी सबैको हो । सबै नागरिक नमिली देश निर्माण हुन सक्दैन । नेपालमा बसोबास गर्ने सम्पूर्ण जातजाति, भाषाभाषीको साझा थलो हो, देश । समाजको यही आयामबाट नागरिक विभिन्न क्षेत्रमा संलग्न छन् । शासक, प्रशासक, सैनिक, प्रहरी, शिक्षक, प्राध्यापक, पत्रकार, लेखक, विश्लेषक, उद्योगी, व्यापारी आदि ठाउँमा जो जहाँ भए पनि आ–आप्mना काम, कर्तव्य र अधिकार ख्याल गरी इमानदारीतासाथ काम गर्नुपर्ने बेला आएको छ । नेपाली समाजले ‘देश कुनै पनि राजनीतिक विचारभन्दा माथि हुन्छ’ भन्ने वास्तविकता बेवास्ता गरेको देखिन्छ ।
देशमा सामाजिक सद्भाव र आपसी भाइचारा सम्बन्ध बलियो बनाउने काममा पुर्खाको ठूलो योगदान छ । हाम्रा पुर्खा अपठित थिए होला, तर उनीहरू व्यावहारिक ज्ञानका धनी थिए । सामाजिक सद्भाव र आपसी मेलमिलापमा उदार थिए । उनीहरूको सामाजिक तथा सांस्कारिक ज्ञान समाजमा पुस्तान्तरण हुन सकेको देखि“दैन । अहिले समाजमा मानवता, नैतिकता, इमानदारिता हराउँदै गएको छ । नेपाली समाज राजनीतिलाई सेवाभन्दा बढी पेसा बनाउने कार्यले समाज र राजनीतिक कर्मीको सम्बन्ध सुमधुर हुन सकेको छैन ।
देशलाई शान्त, सुरक्षित, सुशासित, विकसित बनाउनका लागि हरेक नागरिकले आ–आप्mना ठाउँबाट इमानदारीसाथ काम गर्न जरुरी छ । शिक्षकले राम्रोस“ग पढाएमा शैक्षिक गुणस्तरमा बढोत्तरी हुन्छ । कर्मचारीले आप्mनो काम छिटोछरितो तथा सेवामैत्री बनाउन सकेमा सेवाग्राहीले समयमै सरकारी सेवा लिन सक्छन् । नेतृत्वले देश र जनताका पक्षमा काम गरेमा देश सुशासन र विकास मार्गमा अगाडि बढ्न सक्छ । यसर्थ, देशका हरेक तहतप्कामा संलग्न व्यक्ति तथा व्यक्तित्व व्यक्तिगत वा समूहगत फाइदाका लागि देश बिगार्ने काममा नलागौं । फुटेर होइन, जुटेर देश निर्माण गरौं ।






