उदयपुर । बैंकमा पैसा छ झिक्न सकिएन, ‘भकारीमा धान छ कुट्न पाएनौं, कसरी गुजारा चलाउनु ? उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका स्थानीयबासीको गुनासो यस्तो छ । नोबेल कोरोना भाइरसको हटस्पट बनेको भुल्के क्षेत्र अहिले बैशाख ५ गतेदेखि सिल गरिएको छ । सिल गरिएको क्षेत्रका ३ सय १५ घर परिवार सबैको यस्तै छ गुनासो । त्यहाँ पुग्ने जो कोहीलाई यस्तै गुनासो सुनाउँछन् तर, कहीँ कतैबाट समस्या सम्बोधन हुन सकेको छैन । न स्थानीय प्रशासन न त स्थानीय सरकारले नै उनीहरुको समस्यालाई आत्मसाथ गर्न सकेको छ ।
त्रियुगा नगरपालिकाले सिल गरिएको क्षेत्रका सबैलाई समान रुपमा राहत उपलब्ध गराएको छ । तर उनीहरुले हामीलाई दिएको राहतले मात्र नपुग्ने भन्दै हामीसँगै भएको धान तथा बैंकमा भएको पैसा र बारीमा लगाएको तरकारी तथा गोठमा भएको गाईको दुग्ध बिक्रि गर्नु पाउनु पर्ने माग राखेको छ ।
आर्थिकस्तर भएकाहरु पनि भकारीमा भएको धान कुटन पाएका छैनन् । उनीहरुको भाँडोमा राहतको चामल मात्र छ । ‘तर के गर्नु भकारीमा भएको धान खान मिल्दैन, कुटान बन्दछ’, के गरी परिवार धान्नु स्थानीय यदु ढकालको भनाई रहेको छ । संक्रमित क्षेत्र भुल्केमा तीन सय १५ परिवारका एक हजार पाँच सय जना बस्दै आएका छन् । पछिल्लो ३२ दिनदेखि स्थानीय प्रशासनले बस्ती सिलगरेसँगै स्थानीय समस्यामा छन् । भएको पैसा, दुध, तरकारी केही नै नचलेपछि स्थानीय थप पीडामा छन् । आधुनिक युगमा पनि उहिलेको जस्तो पानी, खानपिन, मठमन्दिर, धारा नचल्ने जस्ता कुसंस्कार हुनु शोभनिय नभएको भुल्केकी पवित्रा गिरी बताउँछिन् । उनले भन्छिन्, ‘कुन डाक्टरले भन्यो पैसाबाट कोरोना सर्छ भनेर ? उल्टै प्रति प्रश्न गर्छिन् ।
अहिलेको बैज्ञानिक युगमा पनि यस्तो हावादारी कुरा गर्ने ? निकै आक्रोसित मुद्रामा देखिएकी उनले भनिन्, ‘हामी संक्रमित क्षेत्रका बासी हाँैँ, त्यही कारण बाहिर निस्किएका छैनौं, त्यो स्वीकार्छौ यसको मतलब हाम्रो पैसा, पानी, दुध, तरकारी भने नचल्ने हैन । यदि हाम्रा यी चिज नचल्ने हो भने हामीलाई राज्यले आधारभूत सेवा घरघरमै ल्याई दियोस्’, गिरीले भनिन्, ‘पैसा नचल्ने, सामान नल्याई दिने र निस्कन पनि नपाउने हो भने हामी कसरी बाँच्नु ?
भुल्के क्षेत्रमा २ सय ५९ परिवार मिश्रित छ भने ५६ परिवार मुस्लिम समुदायको छ । त्यहाँका मिल सञ्चालकले कोरोना सर्ने भन्दै धान कुटनका लागि मिल नचलाएपछि दुई छाक टार्न समेत धौधौ परेको स्थानीयबासी राजन राउतले गुनासो पोखे । ‘भएको चामल सकियो, कुटाउनका लागि मिल चल्दैन, पैसा बैंकमा छ, झिक्न जान प्रहरीले रोक्छ । घरमा भएको पैसा व्यापारीले लिन मान्दैन, उधारो पनि दिन मान्दैन् । कसरी गुजारा टार्ने’, राउतले भने । पैसाबाट संक्रमण सर्ने डरले स्थानीय व्यापारीले पसल र मिल बन्द गरेको उनको भनाइ छ ।
आफुहरुमा संक्रमण नदेखिए पनि सर्ने डरले व्यापारीहरु घरभित्रै लुकेर बसेका स्थानीय अनिश मियाँले बताए । पसल खोल्नका लागि पटक–पटक स्थानीय प्रशासनलाई अनुरोध गरेपनि खासै चासो नदिएको उनले सुनाए । नगरपालिकाले राहत बाँडेपनि पर्याप्त नभएको उनीहरुको गुनासो छ । दश जनाको परिवार छ, २० केजी चामल र एक पोका तेल दिएको छ,’ मियाँले भने, ‘त्यसले कति दिन टार्ने, एक पोका तेल तीन दिन पुक्दैन । मुस्लीम धर्मालम्बीहरुको महत्वपूर्ण पर्व रमजान व्रत चलि रहेकाले तेल, चिनी जस्ता सामग्री अभाव भएको उनले बताए ।
केहि पनि नचल्ने र बाहिन पनि जान नमिल्ने भएपछि स्थानीयबासीले खान, लगाउन, औषधी उपचारको ग्यारेण्टी राज्यबाट हुनुपर्ने माग गरेका छन् । स्थानीयले संक्रमित क्षेत्रमा स्वाब परीक्षणलाई तिव्रता दिएर छिटै सहज वातावरण बनाई दिन समेत माग गरेका छन् । एक हजार पाँच सय परिवारकै स्वाब परीक्षण गरी ढुक्क हुन खोजेका छौ, स्थानीय राउतले भने, ‘चाँडो भन्दा चाँडो शंका मेटिदिन आग्रह गरेका छौं, तर विविध समस्याले हुन सकेका छैन, यसले कति दिनसम्म नजरबन्द भएर बस्ने । दैनिक रुपमा १ सय २० लिटर दुग्ध उत्पादन हुन्छ, त्यो समेत खेर गइरहेको छ’, उनले भने ।






